
गोरखामा २५ प्रतिशत भाडा बढाउन व्यबसायीको प्रस्ताब
दरौंदी समाचारदाता
सरकारले सार्वजनिक सवारी साधनको भाडादर १० प्रतिशत बढाएको भन्दै आलोचना भैरहेका बेला गोरखाका यातायात ब्यवसायीहरुले जिल्ला भित्र चल्ने सवारी साधनमा २५ प्रतिशत बढाउन प्रस्ताब गरेका छन् । भाडा समायोजना कार्यदलको बैठकमा यातायात ब्यवसायी समिति गोरखाले अहिले प्रचलित भाडादरमा २५ प्रतिशतले बृद्धि गर्नुपर्ने प्रस्ताव गरेको कार्यदलका सदस्य किरण लोहनीले जानकारी दिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्राभेल भनिएका सडक कच्चीमा परिणत भएको, सवारी साधनको पार्टपूर्जामा भएको मूल्यवृद्धि, बैङ्क तथा वित्तिय संस्थाको ब्याजदरमा बृद्धि लगायतका कारण देखाई समितिले २५ प्रतिशत भाडावृद्धि गर्न प्रस्ताब गरेको हो ।
कार्यदलका अन्य सदस्यले भने सरकारले एकमुष्ठ बृद्धि गरिसकेको अवस्थामा सवारी साधनको भाडादर बृद्धि गर्न नहुने दाबी गरेका छन् ।
सरकारले तोकेको मापदण्ड र सडकको अवस्थाका आधारमा साविकको भाडादर पुनरावलोकन हुने कार्यदलका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । यसअघि पक्की सडकको प्रतिकिलोमिटर दुईरुपैया ९३ पैसा, ग्राभेलको ४ रुपैया ५१ पैसा र कच्ची सडकको प्रति किलोमिटर ५ रुपैया ५ पैसाका दरले विभिन्न रुटको भाडा निर्धारण गरिएको थियो ।
अहिले धेरैजसो सडक ग्राभेल गरिएको र केही सडकको कालोपत्रे भैसकेको र हुने क्रममा रहेकाले सडकको अवस्थाका आधारमा भाडा तोकिनु पर्ने कार्यदलका सदस्यहरु को तर्क रहेको लोहनीले बताए ।
गत वर्ष निर्धारण गरिएका सडक रुटको भाडा पुनरावलोकन सहित नयाँ रुटको भाडादर निर्धारणका लागि सिफारिस गर्न कार्यदल गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला यातायात ब्यवस्थापन समितिले सोही सिफारिसका आधारमा जिल्लाको सार्वजनिक यातायातको भाडादर निर्धारण गर्नेछ । विगतमा भाडादर निर्धारण गरिएका रुटको वर्तमान अवस्थाका आधारमा र नयाँ रुटमा विभिन्न सरकारी मापदण्डका आधारमा भाडादर निर्धारणका लागि सिफारिस गर्ने कार्यदलका संयोजक भण्डारीले बताए । इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य सूचकलाई ६५ प्रतिशत आधार मानेर भाडा तोकिने उनको भनाई छ । यस्तै सडकको अवस्था, यात्रुहरुको चाप, यातायात मजदूरको पारिश्रमिक एवम् भत्ता, सवारी साधनको मर्मतमा लाग्ने सम्भाब्य खर्च लगायतलाई पनि भाडादर निर्धारणको आधार बनाइने भण्डारीले बताए ।




