| सोमवार, अशोज ११, २०८३

गोरखा नगरपालिकामा ‘मेगाविद्यालय’ को पूर्व सम्भाव्यता अध्ययन गरिँदै

गोरखा बजारका चार सामुदायिक विद्यालय समेटेर एउटै मेगा(वृहत) विद्यालय संचालनको गृहकार्य सुरु गरिएको छ । गोरखा नगरपालिकाले शक्ति मावि, महेन्द्रज्योति मावि, बालमन्दिर मावि र रत्नलक्ष्मी माविलाई समेटेर मेगा विद्यालय बनाउने बारे पूर्वअध्ययन सुरु गरेको हो ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्न थालेपछि गोनपाले ती विद्यालयहरुलाई समायोजन गरेर मेगाविद्यालय संचालन गर्ने अवधारण अघि बढाएको हो । गोनपाको चौंधौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा मेगाविद्यालयलाई प्राथमिकताका साथ समावेश गरी यसका लागि नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख छ । नगरपालिकाका मेयर कृष्ण रानाका अनुसार नगरपालिकाले मेगाविद्यालय सञ्चालनका लागि आवश्यक गृहकार्य सुरु गरिसकिएको छ ।

उनी भन्छन्, ‘मेगाविद्यालयको आफ्नै थुप्रै कानुनी प्रावधानहरु हुने रहेछन् । सबैखाले विषयबस्तु पठनपाठन् गराउनुका साथै भौतिक रुपमा पनि सुविधा सम्पन्न अनि अलि एड्भान्स विद्यालयलाई मेगाविद्यालय भनिन्छ । हाम्रो लक्ष्य पनि त्यहि हो यद्यपि वर्तमान अवस्थालाई मध्यनजर राखेर कम विद्यार्थी सङख्या भएका तथा विद्यालयहरु भौतिक रुपमा नजिक नजिक भएकाहरुलाई समेटेर बृहत विद्यालय बनाउने उद्देश्यका साथ अघि बढेका छौँ ।’

नगरपालिकाले शिक्षाविद, नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, पुर्वप्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिहरुसँग आवश्यक छलफल गरिसकेको उनले बताएका छन् । ‘विद्यालय नजिक नजिक छन् तर विद्यार्थी सङ्ख्या न्यून छ । राज्यकोचाहिँ त्यहाँ धेरै लगानी खर्च भइरहेको छ’, उनले भने, ‘अहिले नै मेगाविद्यालय संचालन गर्न नसके पनि हाम्रो अवधारण भने त्यही हो, प्रारम्भिक चरणमा केही विद्यालयहरुलाई समायोजन गरेर बृहत विद्यालय बनाउने योजनाका साथ प्रक्रिया अघि बढेको छ ।’

प्रारम्भिक चरणमा गोरखा सदरमुकामस्थित रत्नलक्ष्मी मावि डुम्रिडाँडा, शक्ति मावि पाटेचौर, बालमन्दिर मावि छहरे र महेन्द्रज्योती मावि दरबारमार्गलाई समायोजन गरेर बृहत विद्यालय बनाउने योजना रहेको उनको भनाइ छ । ‘विद्यालयका प्रअहरु, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुसँग अवश्यक छलफल गरेका छौँ’, उनले भने, ‘चारवटै विद्यालय समायोजन गर्ने कतै आधारभूत तह, कतै निमावि त कतै मावि तहको पठनपाठन संचालन गर्ने । भवन प्रसस्त भएपछि एउटा सिङ्गै विद्यालयलाई व्यवस्थित छात्रावासका रुपमा विकास गर्ने अनि कतै भने ११ र १२ को मात्र कक्षा संचालन गर्ने तयारी हाम्रो छ ।’

मेगा/बृहत विद्यालय संचालन भएसँगै शिक्षक क्षेत्रमा सुधार देखिने अपेक्षा मेयर रानाको छ । ‘विद्यार्थी धेरै भएपछि उनीहरुमा पनि उत्साह थपिनेछ, शिक्षकलाई पनि पढाउन उर्जा मिल्छ । हालका लागि मेगाविद्यालयमा हुनुपर्ने सबैखाले शैक्षिक वातावरण नगरपालिकाले दिन नसकेपनि हाम्रो प्रयास भने हुनेछ’, उनले भने ।

यसैगरी आगामी शैक्षिक सत्रबाट लागु हुनेगरी नगरपालिकाभित्र संचालित सबै निजि तथा सामुदायिक विद्यालयहरुले अनिवार्य रुपमा सरकारी पाठ्यपुस्तक लागु गर्नुपर्ने तथा एउटै विद्यालय पोशाक लागु गर्नेपर्ने निर्णय समेत भएको उनले जानकारी दिए । उक्त नियम कडा रुपमा कार्यान्वयन गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्