
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट बिहीबारदेखि यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
यो कार्यक्रम पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः सञ्चालन गरिने चुमानको भनाइ छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलोपटक छात्रा बचत कार्यक्रम सुरु गरिएको चुमानले बताए ।
रामशाह माविमा एक हजार आठ सय विद्यार्थी अध्ययनरन छन् । त्यसमध्ये एक हजार एक सय छात्रा छन् ।
पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रालाई रु एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने चुमानले बताए। शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुर्याउने रहेको चुमानले उल्लेख गरे ।




