| सोमवार, साउन १०, २०८३

मिडियामा मेरो एक वर्ष

प्रतिक्षा आले मगर ।
४ कक्षामा पढ्दा नेपाली गुरुले कक्षाका सबैलाई ‘ठूलो भएपछि के बन्छौँ ?’ भनेर सोध्नु भएको थियो । अधिकांश साथीहरुको उत्तर डाक्टर, नर्स र इन्जिनियर थियो । कोहीले त वैज्ञानिक बन्छु पनि भनेका थिए । मैलेचाँहि त्यो उमेरमा पनि सोसियल वोर्कर बन्छु भनेकी थिएँ ।
मेरो जवाफ सुनेर सबैजना हाँसेका थिए । अरु साथीहरु लक्ष्य पूरा गर्ने बाटोमा हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन, मैले भने १० बर्षकी त्यही प्रतिक्षाको सपनालाई पूरा गरिरहेकी छु । सानैदेखि साइन्स, म्याथसँगै सोसियल स्टडिजमा पनि रुचि राख्ने विद्यार्थी म अहिले विएसडब्लु मेजर स्टुडेन्ड हुँ । सँगै जेएमसी (पत्रकारिता र जनसञ्चार) पनि अध्ययन गरिरहेकी छु ।
म आफूलाई इन्ट्रोभट टाइपको मान्छे हुँ भन्ने लाग्छ । धेरै बोल्न नचाहने, सजिलै कसैसँग घुलमिल हुन नसक्ने । घरमा कोही गेस्टहरु आउनु भयो भने पनि रुमबाट ननिस्कने । म मेरो घर, परिवार र केही सीमित साथीहरुसंग मात्र कम्फटेबल थिएँ ।
म मिडियाकर्मी बन्छु होला भनेर त कहिल्यै सोचेकै थिइन । तर, जीवनमा कतिपय कुरा अप्रत्याशित हुने रहेछ ।
पढाइकै माध्यमबाट म मिडिया क्षेत्रमा आएकी हुँ । मेरो पत्रकारिताको सुरुवात रेडियोबाट भएको थियो । धेरै नबोल्ने मान्छे आरजे बन्ने भयो भनेर मेरो फ्रेन्ड्स गु्रपमा पनि धेरै चर्चा भएको थियो । धेरै नबोल्ने मान्छेलाई रेडियोमा काम गर्नु त्यति सहज भने थिएन । सुरु सुरुमा काम गर्न धेरै गाह्रो भयो । इङ्लिस मिडियममा पढेको भएर पनि मेरो नेपाली धेरै राम्रो थिएन । मैले बिस्तारै काम सिक्दै गएको हुँ ।
मैले गतवर्ष जेठ २ गते रेडियो गोरखा जोइन् गरेकी थिए । दिनभर दरौँदी अफिसमा बसेर बिकास दाई (बिकास मरहट्टा) को कम्प्युटर सिक्थँे, त्यसैबाट बेलुकीको न्युज रेडी गर्थेँ अनि बेलुका मात्र रेडियो स्टेशन गएर न्युज भन्थेँ । असारको बेला, आर्थिक वर्ष सकिने टाइम भएर डेटाबेसका न्युजहरु धेरै हुने गथ्र्यो । मलाई भने अंकहरु नेपालीमा भन्नै नआउने । अहिले सम्झँदा हाँसो लाग्छ….मैले प्रत्येक अंकहरुलाई अक्षरमा लेखेर राख्थे अनि त्यही हेरेर पढ्थेँ (जस्तै, ८५ लाई पचासी) । म अल्मलिएको देखेर रेडियोको प्राविधिक दाईहरु धेरै हाँस्नु हुन्थ्यो ।
आजभोलि रेडियोको मोह घट्दो छ । मेरो ड्याडीले छोरीकै न्युज सुन्नका लागि भनेर किप्याडवाला फोन किन्नुभएको थियो । सबैजनाले आजभोलि पनि रेडियो चल्छ र ? भनेर प्रश्न गर्दा नमज्जा लाग्थ्यो । खासै काम गर्ने उर्जा पनि नआउने त्यस्ता कुरा सुन्दा । मलाई लाग्छ हामीहरुले लोकल मिडियालाई समयअनुसार परिमार्जन गर्न सकेनौँ ।
रेडियोमा काम गर्दा हामीहरुले प्रयास भने नगरेको होइन् । एक्सपोज हुन नचाहने मैले पनि १०–१२ चोटी न्युज लाइभ गरेकी थिए । तर, मैले आफ्नो लाइभ भिडियो भने हेर्न सक्दैन थिएँ । एकदमै अनकम्र्फट फिल हुन्थ्यो मलाई । तर, रेडियोका प्राविधिक बिराज त्रिपाठी (दाई)ले भने मेरो भ्वाइस निकै राम्रो छ भनेर प्रशंसा गर्नु हुन्थ्यो ।
करिब ६–७ महिना रेडियो गोरखामा काम गरेपछि रेडियोको प्राविधिक समस्याका कारण न्युज जान छाड्यो । त्यसैको केही समयपछि मलाई शिव सर (शिव उप्रेती)ले दरौँदीमा काम गर्न प्रस्ताब राख्नु भयो । रेडियोमा काम गर्दै गर्दा पनि कहिलेकाहीँ दरौँदीका लागि न्युज लेख्ने गर्दथेँ । त्येसैले रेडियोबाट पत्रिकामा एड्जस्ट हुन मलाई टाइम नै लागेन । अझै भन्नु पर्दा मलाई बोल्नु भन्दा लेख्दा कम्फर्ट लाग्थ्यो । त्यसैले मैले केही नसोची शिव सरको रिक्वेइस्ट एक्सेप्ट गरे ।
अहिला म दरौँदीको समाचारदाताको रुपमा कार्यरत छु । पहिला गोरखा बजारबाट बाहिर नदेखेको म अहिले चुमनुब्रीको मान्छेहरुसँग कुरा गर्न पाउँदा धेरै खुशी लाग्छ । समस्यामा परेका व्यक्तिहरु आफुसँग आइपुग्दा साँच्चै यो पेशाको इम्र्पोटेन्स फील हुन्छ ।
एकवर्षको अनुभवमा मैले धेरै कुराहरु सिकेको छु । यो एकवर्ष मेरो फेमेलीको साथ र सपोर्टबिना भने सम्भव थिएन । जीवनमा रिस्कचाँहि लिनुपर्ने रहेछ । आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कने हिम्मत राख्नु पर्ने रहेछ ।
सुरुमा यो विषय पढ्दा र यो फिल्डमा काम गर्न आउँदा धेरैले म र मेरो परिवारलाई आलोचना नगरेको भने होइन । साइन्स पढेकी छोरी पत्रकार बन्नु नर्मल पनि थिएन होला । तर, पत्रकारिताबाट समाज नियाल्दा लाग्छ म यो फिल्डमा काम नगरिकन भविष्यमा जुन क्षेत्रमा काम गर्न गएपनि अधुरो, अपुरो हुने रहेछ भन्ने अनुभूति भएको छ ।

प्रतिक्रिया दिनुहोस्