| सोमवार, साउन १०, २०८३

स्थानीय मिडिया, थपिँदो जिम्मेवारी, घट्दो प्रभाव

विनोद ढकाल
हुुनत गोरखामा पत्रकारिता राम्ररी फस्टाउन पाइसकेकै छैन । केही रेडियो र पत्रपत्रिका नियमित प्रशारण प्रकाशन भइरहेका छन् । उनीहरुले आफ्नो स्रोतसाधन र जनशक्तिको सीमितताका बाबजुद इमान्दार प्रयास गरिरहेका छन् । तर इन्टरनेटको द्रुत विकासका कारण रेडियो र पत्रपत्रिकाजस्ता हाल स्थापित सञ्चार माध्यम भविष्यमा यही रुपमा नरहन सक्छन् । स्थानीय रेडियो र पत्रपत्रिकाले अहिले भन्दा बढी संकटको सामना गर्नुपर्ने हुन सक्छ । के हामीले त्यस्तो संकटको अनुमान गरेका छौं, त्यस्तो संकटको सामना गर्न तयार छौं ? रेडियो र पत्रपत्रिका सञ्चालक र त्यहाँ कार्यरत पत्रकारले यस विषयमा बेलैमा ख्याल गर्न जरुरी छ ।
विश्वभर पत्रपत्रिका, रेडियो र टेभिजिनल च्यानलहरुको भविष्य संकटमा छ भन्ने एकथरि मत छ भने विश्वसनीय र गुणस्तरीय सामग्री पस्किन सके कुनै पनि माध्यमले संकट सामना गर्नु पर्दैन भन्ने अर्कोथरि मत छ । म पनि यो पछिल्लो मतसँग बढी सहमत छु ।
आमसञ्चार माध्यमको काम शिक्षा, सूचना, मनोरञ्जन र अभिप्रेरणा दिनु हो भन्ने विश्वब्यापी मान्यता छ । तर यसमा पनि मुख्य काम सूचना दिनु नै हो । हामीले आमसञ्चार माध्यमका रुपमा कति सूचना दिन सकेका छौं, हामीले पाठक वा स्रोताले खोजेका सूचना दिन सकेका छौं ? यसरी पाठक स्रोताले खोजेको सूचना दिन नसक्नुको हाम्रो बाध्यता के छ यस विषयमा छलफल गर्न जरुरी छ ।
थपिएको जिम्मेवारी
गाउँगाउँमा सिंहदरबार भनेर जसरी अधिकारसम्पन्न स्थानीय तहहरु गाउँ पुगे, त्यसरी नै अधिकारको दुरुपयोग, भ्रष्टाचार घुसखोरी पनि गाउँमा पुगेको छ । एउटै स्थानीय तहमा ४०÷५० करोड रुपैयाँ बजेट पुगेको छ ।
केन्द्रीय सरकार, प्रदेश सरकारका पनि धेरै आयोजना स्थानीय तहको समन्वयमा भइरहेका छन् । ठेक्का पट्टामा मिलेमतो, अनुदानको रकम वितरण गर्दा कमिसनको खेल, काममा ढिलासुस्ती र अरु आर्थिक अनियमितता पनि प्रशस्त छन् ।
राष्ट्रिय स्तरका सञ्चार माध्यमको आँखा स्थानीय तहसम्म पुग्न सकेको छैन । त्यसमाथि धेरै राष्ट्रिय सञ् चार माध्यमले जिल्लामा संवाददाता राखेका छैनन्, राखेकाहरुले पनि नियमित तलब नदिएका कारण ती पत्रकारहरु जोखिमको कामप्रति धेरै चासो दिँदैनन् ।
त्यसैले स्थानीय तहमा भइरहेका राम्रा कामको प्रचार गर्ने र अनियमितताको उजागर गर्ने दायित्व स्थानीय सञ्चार माध्यमकै हो । नजिकको सञ्चार माध्यम र परिवेश सबै बुझेको हुनाले स्थानीय तहका राम्रा कामको प्रचार प्रसार गर्ने र गलत अभ्यासविरुद्ध खबरदारी गर्ने जिम्मेवारी स्थानीय सञ्चार माध्यमको हो । तर दक्ष पत्रकार छैनन्, कतिपय पत्रकार राजनीतिक पक्षधरताबाट प्रभावित हुँदा स्थानीय तहका राम्रा कामको प्रचार हुन सकेको छैन भने अनियमितता पनि ढाकछोप भइरहेको छ ।
साघुरो दायरा
रेडियो र पत्रपत्रिकाबारे कुरा गर्दा गोरखाबाट प्रशारण हुने रेडियोको स्रोताको आफ्ना दायरा छ, पत्रपत्रिकाको पाठकको दायरा पनि निश्चित छ । हामी अहिले त्यो भन्दा फैलिन सक्ने सम्भावना छैन । यही आफ्नो दायराभित्रकै पाठक, स्रोता र बजारसँग नै हाम्रो सम्बन्धको कुरा गर्नुपर्छ ।
गोरखाका आमसञ्चार माध्यमको विज्ञापनदाता यहीँका सरकारी कार्यालय, स्थानीय तह, उद्योग ब्यापार हुन् । लगातार जनसंख्या घटिरहेको गोरखामा निजी क्षेत्र आफैं विस्तार हुन नसक्ने अवस्थामा छ, उसले विज्ञापन दिएर आमसञ्चार माध्यम जोगाउन गाह्रो छ ।
स्थानीय तहमा अहिले ठूलो मात्रामा बजेट छ, प्रचार प्रसारमा पनि ठूलो रकम छ, जसले गोरखाको आमसञ्चार माध्यमलाई गतिलो भरथेग गर्न सक्छ । तर स्थानीय तहका विज्ञापन राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने वा यस्तै कारण देखाएर र कर्मचारीले कमिसनको खेलमा जिल्ला बाहिरका आमसञ्चार माध्यममा पु¥याउँछन् । कतिपय बजेट राजनीतिक प्रेरित मिडियामा जनप्रतिनिधिले पु¥याउँछन् । समानुपातिक ढंगले वितरण हुन सक्ने हो भने स्थानीय तहको विज्ञापनले जिल्लाका सञ्चार माध्यम चल्न सक्छन् ।
जनशक्ति
आर्थिक रुपमा सबल नभएपछि यो क्षेत्र आकर्षणको क्षेत्र बन्न सक्दैन । त्यसैले गोरखामा र गोरखाजस्तो पहाडी जिल्लामा धेरै युवा पत्रकार बन्न चाहँदैनन् । अहिले स्वदेशमा रोजगारी नहुँदा अध्ययन वा रोजगारीकै नाममा विदेश गएर कमाउन सक्ने विकल्प छ । त्यसैले युवाहरु पत्रकारिताजस्तो पैसाको ग्यारेन्टी नभएको, ड्युटी आवरको टुंगो नभएको र बेलाबेलामा डरधम्की र त्रास भोग्नुपर्ने पेशा अपनाउन चाहँदैनन् ।
गोरखामा पछिल्लो ५ वर्षमा कति जना नयाँ पत्रकार थपिए भनेर हेर्ने हो भने स्थिति नयनीय छ । बरु पत्रकारिता गरिरहेकाहरु पनि जीविक चलाउन कठिन भएर विदेश गएका छन् ।
गोरखामा सञ्चार माध्यममा कार्यरत पत्रकार हेर्ने हो भने एक सञ्चार माध्यम एक वा दुई पत्रकार मात्र छन् । अझ कोही पत्रकार आफैं रेडियो र पत्रिका दुबै माध्यममा काम गरिरहेका छन् । यसको कारण एउटा जनशक्ति अभाव हो भने अर्को नयाँ जनशक्तिलाई आकर्षित गर्न नसक्नु पनि हो । किनकी यो भन्दा बढी जनशक्ति धान्न सक्ने स्थिति छैन ।
दृष्टिकोण
गोरखामा आफूले पनि पत्रकारिता गरेको र गोरखामा भइरहेको पत्रकारितालाई नजिकबाट नियालेका कारण भन्न सकिन्छ, गोरखामा पत्रकारितालाई हेर्ने आम दृष्टिकोण संकुचित छ । जिल्लाको शक्तिशाली वर्ग, ती राजनीतिक दलका नेता हुन सक्छन्, उद्योगी–व्यापारी हुन सक्छन्, प्राध्यापक, गैरसरकारी संस्थाका सञ्चालक हुन सक्छन्, उनीहरुमा आलोचना सहन सक्ने सामथ्र्य छैन । सही र तथ्यपरक हिसाबले लेख्दा पनि आरोपित पक्षले पत्रकारसँग व्यक्तिगत रिसइबी लिने, धम्की दिने, विज्ञापन रोक्ने वा रोक्न लगाउने र पत्रकार र सञ्चार माध्यमलाई बहिस्कारसम्म गर्न सक्ने डर पत्रकारहरुमा छ । एक त सानो ठाउँ, सीमित व्यक्तिसँगको सम्बन्धले नै आमसञ्चार माध्यमको आम्दानी र खर्चको हिसाब किताब तलमाथि हुन सक्छ ।
झन् यस्तो साघुरो सोचाइले समाजमा आलोचनात्मक दृष्टिकोण राख्न नै डर हुन्छ, पत्रकारले सेल्फ सेन्सरसिपमा काम गर्नुपर्ने हुन सक्छ । आमसञ्चार माध्यमले पूर्वाग्रह राख्नु हुदैन, सत्य तथ्य निष्पक्ष हुनुपर्ने कुरामा हुनै विमति हुन सक्दैन । तर आमसञ्चार माध्यमले सही विषय उजागर गर्दागर्दै पनि शक्तिको आडमा पत्रकारिता माथि दोहन गर्न खोज्ने प्रवृत्ति समाजका लागि हानिकारक हुन्छ ।
आलोचना गरेका आधारमा पत्रकारसँग सत्रुतापूर्ण व्यवहार गर्ने, विज्ञापन रोक्ने वा अरु कुनै तरिकाले अप्ठेरो पार्ने काम सभ्य समाजका लागि सुहाउने विषय होइन, समाज जति लोकतान्त्रिक हुँदै जान्छ, उसको आलोचना सहने शक्ति पनि बढ्दै जान्छ, आशा गरौं, गोरखामा पनि यस्तो संस्कृति विकास हुँदै जानेछ ।
शहरमा बहस छलफल, संवाद, आलोचना, प्रतिआलोचना भइरहनुपर्छ, यसले शहरलाई जीवन्त बनाउँछ । पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, जिल्लाका महत्वपूर्ण विषयहरुमा छलफल सार्वजनिक मञ्चमा छलफल, बहस गर्ने, साहित्यिक गोष्ठीजस्ता कामले शहरको सार्वजनिक वृत्तलाई फराकिलो बनाउँछ ।
जिल्लाका विकास निर्माणको योजनामाथि बहस गर्ने, कुनै योजना किन संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको छनोटमा प¥यो, त्यो भन्दा महत्वपूर्ण अर्को योजना किन परेन, त्यसमा राजनीतिक स्वार्थ हेरियो कि यस्ता विषयमा छलफल बहस गर्ने हो भने आगामी दिनमा योजना छनोटको निर्णय प्रक्रिया पारदर्शी हुन सक्छ, सञ्चार माध्यमले यस्ता विषयमा पनि ध्यान दिनुपर्छ ।
प्रविधि
प्रविधिको भएको विकासले सबैभन्दा बढी असर स्थानीय सञ्चार माध्यमलाई परिरहेको छ । सर्वसाधारणको पहुँच अहिले फेसबुक र युट्युबमा सजिलो छ । निरक्षर र सामान्य साक्षरले समेत यी माध्यममा सूचना र मनोरञ्जन लिन सक्छन् । हामी रेडियोबाट बोलिरहेका छौं र पत्रिकामा लेखिरहेका छौं, तर स्रोताले सुनिरहेको छैन, पाठकले पढिरहेको छैन ।
हामीले जुन माध्यमबाट सूचना दिइरहेका छौं, त्यो माध्यममा पाठक फर्काउन कति सम्भव छ, बरु हामी नै परिवर्तन भएर पाठक र स्रोतालाई सजिलो हुने माध्यममा जाने हो कि ? युट्युब वा फेसबुकबाट पत्रकारिता गर्न पत्रकारमा थप दक्षता चाहियो, प्रविधिमा लगानी गर्नुप¥यो, यो त्यति सहज छैन, तर अब गोरखाका रेडियो र पत्रिकाले त्यतातिर पनि सोच्नुपर्छ ।
विषयवस्तु
हामीले रेडियोबाट दिने र पत्रिकामा छाप्ने समाचार स्रोताका लागि चासोको विषय हो कि होइन, पाठकले आफ्नो चासोको विषय थाहा पाउन अरु नै माध्यम रोज्नुपर्ने, तर हामी पाठकका लागि भनेर दिनरात मिहिनेत गर्ने गर्दा आपसमा कुरा मिलेन कि ?
आमसञ्चार माध्यमले पाठकको चासो थाहा पाउनुपर्छ, आफ्ना विषयवस्तुमा विविधता पनि दिनुपर्छ । सबै पत्रिकामा उस्तै उस्तै समाचार आउँछन्, रेडियोहरुमा पनि त्यस्तै । ती समाचार पनि राजनीतिक र औपचारिक कार्यक्रमका समाचार मात्र बढी भए कि ?
खोजी समाचार, त्यसमा पनि जिल्लाको भूगोलगत सन्तुलन मिलाउने, कला, साहित्य, खेलकुद अर्थतन्त्रसँग सम्बन्धित समाचारलाई पनि प्राथमिकता दिनुपर्छ । त्यस्तै जिल्लास्तरका विज्ञहरु पहिचान गर्ने, उनीहरुको लेख रचना अन्तर्वार्ताहरु प्रकाशन प्रशारण गर्नतिर पनि ध्यान दिनुपर्छ ।
व्यवस्थापकीय कमजोरी
आमसञ्चार माध्यम पनि एउटा ब्यवसाय हो । यसमा पनि आम्दानी र खर्चको हिसाबकिताब मिल्नुपर्छ । जति धेरै आम्दानी गर्न सक्यो, त्यति सञ्चार माध्यम बलियो हुन सक्छ, दक्ष जनशक्ति राख्न सक्छ, भएका जनशक्तिले पनि असुरक्षित महसुस गर्नुपर्दैन ।
पत्रकारले जिल्लाका अरु पेशाकर्मी, उद्योगी व्यवसायीका अगाडि हिनताबोध गर्नुपर्ने अवस्था आउँदैन र उच्च नैतिकता प्रदर्शन गरेर काम गर्न सक्छ । आमसञ्चार माध्यम सञ्चालकका रुपमा हामीले आम्दानी बढाउनतिर कति चासो दियौं ?
यति कुरा पक्का हो कि आर्थिक रुपमा कमजोर आमसञ्चार माध्यमले राम्रो पत्रकारिता गर्न गाह्रो हुन्छ । आमसञ्चार माध्यमले आफ्नो धर्ममा रहेर आफ्नो उद्देश्यसँग मिल्दोजुल्दो काम गरेर आम्दानी गर्न सक्छ । विज्ञापनका साथसाथै सार्वजनिक छलफल, बहस, गोष्ठी, सम्मेलन आदि आयोजना गरेर पनि आमसञ्चार माध्यमले आम्दानी बढाउन सक्छन् ।
जिल्लामा बलियो सञ्चार माध्यम आवश्यक छ, त्यो नहुँदासम्म जिल्लाका सकारात्मक, नकारात्मक विषयहरु उजागर गर्न कठिन छ, त्यसका लागि पछिल्लो प्रविधिको उपयोगसहित जिम्मेवार पत्रकारिता आवश्यक छ ।
दरौंदी दैनिकका पूर्वकार्यकारी सम्पादक ढकाल हाल अनलाइनखबरको डेस्क सम्पादक छन् ।

प्रतिक्रिया दिनुहोस्