
भीमसेन थापा र शहिद लखनले ग¥यो प्रअहरुसँग कार्यसम्पादन करार सम्झौता
शैक्षिक गुणस्तर वृद्धिका लागि भन्दै भीमसेन थापा गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक बिद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । मंगलवार पालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र ३४ वटा सामुदायिक विद्यालयका प्रअबीच सम्झौता भएको हो ।
पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रअले गर्नुपर्ने काम र कर्तव्यबारे सम्झौतामा उल्लेख गरिएको शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले बताए । ‘शैक्षिक सत्रको बर्षभरि प्रअले के के भूमिका निर्वाह गर्ने भनेर ४२ वुदाँको सम्झौता पत्रमा हस्ताक्षर भएको छ,’ उनले भने, ‘त्यही अनुसार प्रअले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ सम्झौता अनुसार विद्यालयले लक्षित उद्देश्य हासिल गरे नगरेको बारे शैक्षिक सत्रको अन्तममा मूल्याकंन गरिने उनले जानकारी दिए ।
‘मूल्याकंनका लागि हामीले २० वटा सूचक पनि तयार गरेका छौँ, त्यही सूचक अनुसार प्रअहरुले गरेको कामको मूल्याकंन हुन्छ,’ नेपालीले भने । पालिकाभित्र रहेका कुल ३४ वटा सामुदायिक विद्यालयहरु छन् ।
यो बर्षबाट सम्झौता थालिएको बताउँदै उनले थपे, ‘गत बर्षको एसईई परीक्षाको नतिजा कमजोर भयो, त्यसलाई मध्यनजर गर्दै यो बर्षबाट कार्यसम्पादन करार सम्झौता गर्न सुरु गरेका हौ ।’ शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न शैक्षिक संघसंस्थाहरुसँग पनि समन्वय भइरहेको उनले जानकारी गराए ।
शहिद लखन गाउँपालिकाले पनि यसअघि नै विद्यालयका प्रअहरुसँग कार्यसम्पादन करार सम्झौता गरिसकेको छ । ‘हामीले गत बर्षबाटै सुरु गरेका थियौ,’ शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले भने, ‘यो बर्ष पनि प्रअहरुसँग सम्झौता गरिसक्यौ ।’ पालिकाभित्र रहेका कुल ४६ वटा सामुदायिक बिद्यालयका प्रअहरुसँग केही दिन अघि सम्झौता भएको उनले बताए । उक्त सम्झौताले प्रअलाई आफ्नो काम र कर्तव्यप्रति बोध गराउने र बिद्यालय प्रशासनलाई चुस्त बनाउन सहयोग पुग्ने उनको भनाइ छ । प्रअहरुले कक्षा ३, ५, ८, १० र १२ को बिद्यार्थी संख्या र औसत सिकाई उपलब्धीको लक्ष्यसहित प्रतिवद्धता समेत गरेको बताइएको छ । यसले बिद्यालयको शैक्षिक कार्यक्रम तयार गर्न दिशानिर्देश मिल्ने अपेक्षा गरिएको छ । शिक्षा शाखा र प्रअबीच सम्झौता भएसँगै प्रअले आफ्नो बिद्यालयका शिक्षकहरुसँग पनि सिकाइ सम्बन्धी अपेक्षा सहित कार्यसम्पादन करार सम्झौता गर्ने शिक्षा शाखा प्रमुख खनालले बताए ।




