| आइतवार, कार्तिक २९, २०८३

भूकम्प एक, कथा अनेक

दरौँदी समाचारदाता ः सिरानचोक गाउँपालिका ६ गाँखुको खैरेनीवन टोलका शुकबहादुर विकको चारबर्षदेखि टहरोमा बास छ । २०७२ सालको भुकम्पले घर भत्किएपछि उनको सातजनाको परिवार टहरोमा ओत लाग्दै आएका हुन् ।
बन्दै गरेको २ कोठे घर छाउन नसक्दा अझै कहिलेसम्म टहरोमा बस्ने भन्ने टुंगो छैन । पैसा नसकिएपछि जेठ २६ गतेदेखि थप काम हुन नसकेको शुकबहादुरले बताए । ‘अहिलेसम्म दुईलाख रुपैया ऋण लागिसक्यो’, उनले भने ‘गाउँमै सयकडा दुईरुपैयाको ब्याजमा ऋण लिएर काम थालेको हो । त्यतिले पुगेन । लिएको रिन तिर्न पनि सकिएन । साहुले नपत्याएपछि काम पनि रोकियो ।’ भुकम्प पिडीतलाई सरकारले घर बनाउन दिने अनुदानको पहिरो र दोस्रो किस्ता गरी उनले २ लाख रुपैया लिईसकेका छन् । तर २ कोठे घर बनाउन नै अहिलेसम्म ४ लाख खर्च लागिसकेको शुकबहादुरले बताए । ‘घर बनाउने सामान देखि ज्यालासम्म महंगो’ उनले भने ‘यो घर बनाउँदा एक बोरा सिमेन्टको नै हजार ५० लाग्यो । गिटी, बालुवा उस्तै महंगो, ज्याला मात्रै दिनको १२ सय दिएँ ।’ हलोे जोतेर परिवार पाल्दै आएका ५४ बर्षिय शुकबहादुरलाई अब घर तुर्ने र ऋण तिर्ने चिन्ता छ । घर बनाएको ऋण तिर्ने पिरलो सोही गाउँकी बिमला विकलाई पनि छ । ६ लाख रुपैयाको लागतमा उनले २ कोठे घर बनाएकी छिन् । २ लाख २० हजार रुपैयाँ ऋण रहेको बिमलाले बताईन् । ‘दुईवटा लघुवित्त सँस्थाबाट ऋण लिएको किस्तामात्रै महिनामा २२ हजार तिर्नुपर्छ’ उनले भनिन् ‘नेष्डो नेपालबाट एकलाख २० हजार लिएको महिनामा १२ हजार तिर्छु । सिर्जना बैंकबाट १ लाख लिएको छु । महिनामा १० हजार तिर्नुपर्छ । एकबर्षमा तिर्ने भाका छ ।’ अरुसँग ऋण माग्दै किस्ता तिर्दै आएकी उनले भनिन् ‘बुढा पुलिसमा हुनुहुन्छ । पैसा पठाएपछि तिर्छु भन्दै साहुसँग माग्ने, तिरनतारन गरेर किस्ता बुझाईरहेको छु ।’ भुकम्पले घर भत्किए पनि लाभग्राही सूचीमा नाम नपरेपछि सोही गाउँकी सम्झना विकले पनि ऋण खोजेर तीनलाख रुपैयामा घर बनाएकी छिन् । गाउँमा ब्यक्तिसँग २ लाख र मेरो लघुवित्तबाट एकलाख १० हजार रुपैया ऋण लिएको उनले बताईन् । ‘अनुदान पाउनेमा नाम आएन । टहरोमा बालबच्चा राख्न गाह्रो भयो । त्यही भएर ऋण गरेर भएपनि घर बनाईयो’ उनले भनिन् ‘बुढा मिस्त्री काम गर्नुहुन्छ । उहाँले साथीहरुसँग सरसापट गर्नुभयो, अनि बाँकी लघुवित्तबाट ऋण लिएर बनाएको । माइक्रोफाइनान्समा एक बर्षको भाकामा महिनामा १२ हजार रुपैया किस्ता बुझाउनुपर्छ ।’ अधियाँ गरेर पेट पाल्नेले ऋण गरेर घर बनाउनु परेको उनको गुनासो छ । ‘अधियाँ गरेर जेनतेन घरधन्दा धानेका छौँ । ज्याला मजदुरीको पैसाले ऋण तिर्ने हो’ उनले भनिन् ‘काम नपाएको बेला, बिरामी परेको बेला कसो गर्ने थाहा छैन ।’
खैरेनीवन टोलको ३४ घरमध्ये २९ घर दलित समुदायको छ । उनीहरुमध्ये अधिकांशले भुकम्पले भत्किएको घर बनाउन ऋण लिएका छन् । आफ्नै जग्गाजमिन थोरै भएकाले सबैजसो बालुवाफाँटमा अधियाँ गर्छन् । ज्यालामजदुरीबाट गुजारा चलाउछन् । गाउँलेलाई ऋणमुक्त बनाउन सिपमुलक र आयआर्जनमा सघाउने कार्यक्रम ल्याउन स्थानीय रोशन विकले माग गरे । ‘यहाँ स्वरोजगारका कार्यक्रम गरिदिए हामीलाई सजिलो हुन्थ्यो’ उनले भने ‘हामी केटाहरु मजदुरीमा हिड्छौ । महिलाहरु घरब्यबहार बच्चा सबै सम्हानुपर्छ । उनीहरुलाई संघसँस्था र सरकारले घरमै गर्न सक्ने र पैसा आउने खालका कार्यक्रमहरु ल्याईदिए ब्यबहार गर्न सजिलो हुन्थ्यो होला ।’

प्रतिक्रिया दिनुहोस्