| आइतवार, कार्तिक २९, २०८३

गोरखामा ५० प्रतिशत मात्र घर पुनर्निर्माण

गोरखामा ५० प्रतिशत मात्र घर पुनर्निर्माण

भूकम्पको केन्द्रविन्दू गोरखामा अहिलेसम्म ५० प्रतिशत घरको मात्र पुनर्निर्माण हुन सकेको छ । २०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्र बनाई गएको महाभूकम्पका कारण यहाँ ६१ हजार तीन सय ९३ घर भत्किएका थिए ।
भत्किएका घरमध्ये जम्मा ३० हजार दुई सय ३० वटा घरमात्र बनेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । ‘५८ हजार पाँच सय १७ जना लाभग्राहीले पहिलो किस्ता रकम लगेका थिए’ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गोरखाका प्रमुख रामकुमार श्रेष्ठले भने, ‘अहिलेसम्म ३० हजार दुई सय ३० जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लगेका छन् ।’ २८ हजार २८७ लाभग्राहीले अझै तेस्रो किस्ता अनुदान पाउन बाँकी छ । ४८ हजार ८५० जनाले दोस्रो किस्ता लगेका उनले बताए ।
पुनर्निर्माणको कामले गति लिन नसकेपछि गत पुस महिनाभित्र दोस्रो किस्ता र चैत मसान्तभित्र तेस्रो किस्ता लिइसक्न सरकारले आग्रह गरेको थियो । निर्धारित समयभित्र एकतिहाइ मात्र प्रगति भएपछि प्राधिकरणले फेरि असारभित्र दोस्रो किस्ता र आउँदो पुसभित्र तेस्रो किस्ता लिइसक्न आग्रह गरेको थियो । दोस्रो पटकको समयसीमाभित्र ५० प्रतिशत घर पुनर्निर्माण भएको हो । प्रारम्भिक सर्वेक्षणअनुसार भूकम्पले गोरखामा ७४ हजार तीनसय ८९ घरधुरी भत्किएका थिए । उनीहरुलाई सरकारले टहरो बनाउन १५ हजार रुपियाँ अनुदान दिएको थियो । पुनःसर्वेक्षणमा ६१ हजार तीनयस ९३ घरधुरी मात्रै अनुदान पाउने सूचीमा परेका पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइका शिवप्रसाद पौडेल बताउँछन् । ‘पहिलो चरणको तथ्याङ्कको आधारमा दोस्रो चरणमा विस्तृत अध्ययन गर्दा केही घर अनुदान नपाउनेमा परे’, पौडेलले भने, ‘दुई ठाउँमा घर हुनेहरुको नाम काटिए । प्रबलीकरण गरे हुने खालका घरधनीको नाम पनि काटियो ।’ ६१ हजारमध्ये पनि जम्मा ५८ हजार पाँच सय १७ जनाले मात्र पहिलो किस्ताको रकम लिएका छन् । गुठीको जग्गामा परेका, बुढीगण्डकी डुबान क्षेत्रमा परेका तथा अन्यत्रै पुनस्थापित गराउनुपर्ने घरधनीलाई पहिलो किस्ता नदिइएको कार्यालयले जनाएको छ । बारपाकमा भत्किएका एक हजार तीनसय घरधुरीमध्य भूकम्प गएको ४१ महिना बितिसक्दा करिब आठसय पाँच घर मात्र पुन र्निर्माण भएका पुनर्निर्माण प्राधिकरणका त्यहाँ खटिएका इञ्जिनियर डिकेन्द्र आइत्यूले जानकारी दिए ।
पुनर्निर्माणको सबैभन्दा कम प्रगति हिमालपारिको चुमनुब्री गाउँ पालिकामा भएको छ । भत्किएका एकहजार सातसय ७१ घरमध्य जम्मा एकसय ९६ घरको मात्र पुनर्निर्माण भएको अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।
साबिक सिर्दिबास गाविसभरि भत्किएका पाँचसय एक घरधुरी मध्य जम्मा ८२ घरले मात्र तेस्रो किस्ता लगेका छन् । त्यस्तै सामागाउँ गाविसका २०७ घरधुरीमध्ये ११ जना लाभग्राहीले मात्र तेस्रो किस्ता लगेका छन् । ‘प्रोकको १८४ घरधुरीमध्ये १८ घरमात्रै निर्माण सम्पन्न भएको तथ्यांक छ’ अनुदान वितरण तर्फका कर्मचारी अर्यालले भने, ‘ल्हो गाविसको २१४ लाभग्राहीमध्ये ५ जनाले मात्रै तेस्रो किस्ता लगेका छन् । बिहीको १७१ मध्ये ४३ जनाले, छेकम्पारको २५८ मध्ये १० जनाले मात्रै र चुम्चेतको २३६ जनामध्ये २७ जनाले मात्रै तेस्रो किस्ता लगेका छन् ।’ दुर्गममा रहेको धार्चे गाउँपालिकाको पुनर्निर्माण प्रगति पनि न्यून छ । धार्चेको दुईहजार ८९८ जना लाभग्राहीमध्य नौसय ७६ जनाले मात्रै तेस्रो किस्ता लगेका कार्यालयले जनाएको छ ।
सबैभन्दा जोखिमको बस्ती भनेर चिनिने केरौंजाको ८८८ घरधुरी मध्ये १३३ घर मात्रै पुनर्निर्माण भएका छन् । त्यस्तै लापुका ५२५ मध्ये १४२ जना, उहियाको ३४४ घरधुरीमध्ये १६८ घरधनी, काशिगाउँको ४६३ लाभग्राहीमध्य २०६ ले र गुम्दाको ६७८ घरधुरीमध्य ३२७ घरधुरीले मात्रै अन्तिम किस्ताको रकम लगेका कार्यालयले जनाएको छ ।
बारपाक सुलीकोट गाउँपालिकाका छहजार २६५ जना लाभग्राहीमध्य असार मसान्तसम्म चारहजार ११४ जनाले मात्रै घर निर्माण सम्पन्न गरी अन्तिम किस्ता लगेका छन् । साविकका गाविसहरु बारपाकको १२८७ मध्य ८०५ जनाले, सौरपानीको १५५२ मध्य १०५३ जनाले, स्वाँराका ९१२ जनामध्य ५१७ जनाले, ताकुकोटका ९०८ मध्य ६२२ जनाले, ताकुमाझ लाँकुरीबोटका ६४९ मध्य ४९२ जनाले, पन्द्रुङको ४१८ मध्य २५९ जनाले र पाँचखुवा देउरालीका ५३९ मध्य ३६६ जना लाभग्राहीले अन्तिम किस्ता लगेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भूकम्पले धेरै क्षति भएको अजीरकोट गाउँपालिकाका तीनहजार सातसय ४४ घरधुरीमध्य जम्मा दुईहजार ४१ घर मात्र निर्माण सम्पन्न भएका छन् । कार्यालयको अभिलेख अनुसार साबिकका गाविसहरु घ्याच्चोकको चारसय ५१ घरधुरीमध्य दुईसय ८१ घर, हंशपुरको नौसय ४७ घरधुरीमध्य पाँचसय ९१ घरमात्रै बनेका छन् । त्यस्तै मुच्चोकको नौसय ३७ घरमध्य तीनसय ८३, सिम्जुङको आठसय ८४ मध्य चारसय ७५ र खरिबोट गाविसमा भत्किएका पाँचसय २५ घरधुरीमध्य तीनसय ११ घरधनीले मात्रै अन्तिम किस्ता लिएका छन् । सिरानचोक गाउँपालिकामा भूकम्पले भत्किएका पाँचहजार दुईसय ३८ घरधुरीमध्य निर्धारित समयभित्र जम्मा दुईहजार आठसय ९६ घर निर्माण सम्पन्न भएको कार्यालयका दीपेन्द्र अर्याल बताउँछन् ।
आरुघाट गाउँपालिका भित्रका साबिकका पाँच गाविसमा भत्किएका छ हजार एकसय १७ घरधुरीमध्य अहिलेसम्म तीनहजार तीनसय ९२ घरधुरी मात्रै पुनर्निर्माण भएका छन् । भीमसेन गाउँपालिकाका साबिक छ गाविसका पाँचहजार आठसय ९६ जना लाभग्राहीमध्य असार मसान्तभित्र जम्मा तीनहजार पाँचसय ४६ घरधुरीले मात्रै घर पुनर्निर्माण गरी अन्तिम किस्ता लगेको कार्यालयले जनाएको छ ।
त्यस्तै सहिद लखन गाउँपालिकाका साबिकका पाँच हजार पाँचसय ५५ जना लाभग्राहीमध्य तीनहजार २२ जनाले मात्र अन्तिम किस्ता वापतको रकम लगेका छन् । गण्डकी गाउँपालिकाका चारहजार चारसय १३ घरधुरीमध्य दोस्रो पटक थप भएको समय सीमाभित्र जम्मा एकहजार छसय ४ घरधुरी मात्र निर्माण सम्पन्न भएको छ ।
गोरखा नगरपालिकाभित्र भत्किएका आठहजार एकसय आठघरधुरीमध्य अहिलेसम्म चारहजार नौसय ९९ र पालुङ्टार नगरपालिकाभित्र भत्किएका सातहजार सातसय ७० घरधुरीमध्य दुईहजार नौसय ७९ घरधुरीमात्रै पुनर्निर्माण भएका छन् ।
नीजि आवास पुनर्निर्माणका लागि विदेशी दातृ निकायले पनि आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए । बिभिन्न दातृ निकायले सातसय छ घर पुनर्निर्माणका लागि पहिलो किस्ता दिएका थिए । त्यस्तै छसय आठ घरलाई दोस्रो किस्ता र चारसय ५६ घरलाई दातृ संस्थाले तेस्रो किस्ता दिएका कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै भारत सरकारले युएनडिपी मार्फत जिल्लाका साबिकका २६ गाविसमा अनुदान वितरण गरेको छ । त्यस्तै जापानी सहयोग नियोग (जाइका)ले बगुवा, बारपाक, हंशपुर जौबारी, केराबारी, मसेल, मुच्चोक, पाँचखुवा देउराली, पन्द्रुङ, सौरपानी, श्रीनाथकोट, सिम्जुङ, स्वाँरा, ताकुकोट, ताकुमाझ लाँकुरीबोट, ताप्ले गाविसमा अनुदान वितरण गरेको छ । वितरण शाखाका जाइकाका कर्मचारी अम्बिका पौडेलका अनुसार सरकारले निजीआवास पुनर्निर्माणका लागि गोरखामा मात्रै अहिलेसम्म १३ अर्ब १० करोड, ४२ लाख ५० हजार रुपियाँ बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्