
महत्वपूर्ण जिम्मेवारी भएका वडासचिव काम चलाउले गर्दै
लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै हो तर ओंमकारको बिन्दु झैं परमानन्द घनीभूत छ’ (निवन्ध : के नेपाल सानो छ ?) सानो भए पनि तिनीहरुको महत्व अपार हुन्छ भन्ने उनको सन्देश हो ।
वर्तमान राज्य व्यवस्थामा नेपालको सबैभन्दा सानो एकाइ वडा हो । निवन्धमा भने झैँ ‘वडा’ पनि हाम्रो शरीरको न्यूक्लियस झैँ सबैभन्दा महत्वपूर्ण छ । वडाले नै हर घर, हर नर चिन्छ, चिन्नुपर्छ । हर समस्या र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारे जान्दछ, जान्नुपर्छ ।
गाउँका मुख्य जनप्रतिनिधि भनेका वडाअध्यक्ष हुन् र मुख्य कार्यकारी कर्मचारी भनेका वडा सचिव हुन् । गाउँघरको सबैभन्दा सानो इकाइसम्म प्रत्यक्ष सेवामा उनीहरु तल्लीन हुन्छन् । तर दुख साथ भन्नुपर्छ, राज्य संरचनाको सबैभन्दा महत्वपूर्ण भए पनि गोरखाका गाउँहरुले वडा सचिव पाएका छैनन् ।
११ वटा पालिका र ९४ वटा वडा रहेको यहाँका झण्डै ५० वटा वडामा वडा सचिव छैनन् । वडा सचिवको काम कतै अमिनले, कतै अहेब, कतै एचए, कतै सब ओभरसियर, कतै जेटिए, भिजेटिएले गरिरहेका छन् । घरको अभिभावकत्व आमा र बुबाले गर्दा बालबालिकामा जति आनन्दको महशुस हुन्छ, कुनै तलबमा काम गर्ने हेरालुले हेरचाह गर्दा उनीहरुको मनमा त्यो अनुभूति हुदैन ।
त्यस्तै वडामा वडा सचिव नभएर त्यो काम अनमि, अहेब, एचए, जेटिए, भीजेटिए, ओभरसियर, सबओभरसियर, कम्प्यूटर अपरेटर, सरसफाइ कर्मचारीले गर्दा सेवाग्राहीमा सुखानुभूति हुदैन । पञ्जिकरणको काम ज्यादै महत्वपूर्ण र जवाफदेही काम भएकाले स्थायी कर्मचारीले मात्र गर्नुपर्ने प्रावधान छ तर यहाँ करारका कर्मचारीले सो काम गरिरहेका छन् । यो लापार्बाही हो ।
पालिकाहरुले पनि वडा सचिवको पदमा स्थायी पदपूर्तिका लागि जोडदार पहल गर्नुपर्छ ।




