| आइतवार, कार्तिक २९, २०८३

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी

गोरखा नगरपालिकाले युवालाई स्वरोजगार बनाउने

दरौंदी ः स्वरोजगार बन्न चाहने युवालाई गोरखा नगरपालिकाले सघाउने भएको छ । लगानीको अभावमा बेरोजगार युवालाई स्थानीयस्तरमै रोजगारको ब्यबस्था गर्नका लागि नगरपालिकाले सघाउने भएको हो । युवास्वरोजगार बनाउनका लागि यो आर्थिक बर्ष २९ लाख रुपैयाको कोष स्थापना गरिएको मेयर राजनराज पन्तले बताए ।

व्यबसाय चलाउन चाहने लाई यही कोषबाट सहयोग उपलब्ध गराउने मेयर पन्तले बताए । ‘काम गर्न चाहने युवालाई हामी २५ प्रतिशत अनुदान दिन्छौ’, उनले भने, ‘ब्यक्ति आफैले २५ प्रतिशत लगानी जुटाउनुपर्छ । बाँकी ५० प्रतिशत लगानी हामी बैंक तथा सहकारीसँग समन्वय गरी सुलभ ब्याजदरमा उपलब्ध गराउने ब्यबस्था मिलाउछौ ।’युवालाई स्वरोजगार बन्न सघाउने कार्यविधि अन्तिम चरणमा पुगेको मेयर पन्तले बताए । ‘हामी कार्यविधि निर्माणको चरणमा छौ’, मेयर पन्तले भने, ‘यही भदौ अन्तिम साता युवाहरुसँग हामी कार्ययोजना सहित निवेदन माग गर्छौँ ।’ युवाहरुले आफुले गर्न चाहेको ब्यबसायका बारेमा विस्तृत कार्य योजना बनाएर नगरपालिकामा पेश गर्नुपर्ने प्रावधान बनाइएको छ ।

ब्यक्तिको दक्षता, क्षमता, प्रतिबद्धता लगायतका आधारमा उनीहरुलाई सघाउने मेयर पन्तले बताए । कामको खोजी गर्दै अन्यत्र जानुपर्ने अबस्थाको अन्त्य गर्दै संवृद्ध नगर बनाउनका लागी यो कार्यक्रम लागु गर्ने तयारी गरेको उनको भनाई छ । उनले भने ‘हामीले चालु आर्थिक बर्षमा २९ लाख रुपैयाको कोष बनाएका छौ, यसको प्रभावकारीता कस्तो रहन्छ, त्यसका आधारमा हाम्रो लगानी थपघट हुन्छ ।’ लगानीको अभावमा स्वरोजगार बन्नबाट कसैले बञ्चित हुनु नपरोस भन्ने उद्देश्यले यस्तो नीति लिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्