
२०८० साललाई फर्केर हेर्दा : थोरै आशा, धेरै निराशाका घटनामै बित्यो एकबर्ष
नेपालीहरुले मान्ने विक्रम सम्वत २०८० साल समाप्त भएर शनिबार(आज)देखि नयाँ बर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षले सबमा सुस्वास्थ्य, हर्ष, उमंग थपोस्, सबैको शैक्षिक, आर्थिक, सामाजिक विकास गरोस् शुभकामना । गोरखाको सन्दर्भमा भन्नुपर्दा बर्ष २०८० औसत रह्यो । धेरै ठूलो अप्रिय पनि रहेन, धेरै ठूलो सुखद पनि बन्न सकेन ।
बिगत केहीबर्षदेखि गिरावट हुदै आएको आर्थिक गतिविधि यो वर्ष पनि उस्तै रह्यो । रोजगारीको अभाव, युवा विदेश पलायनका घटना झन बढ्दै गयो । यो बर्षभरि राजनीतिक अस्थिरता कायमै रह्यो, नागरिकमा मुलुकको राजनीतिप्रतिको असन्तुष्टि र वितृष्णाको दर बढ्दै गयो । गरिबी, अभाव, तनाव र त्यसबाट पैदा हुने हिंसाका घटना बढ्दै गयो । विगत बर्ष २०८० लाई फर्केर हेर्दा केही सकारात्मक घटना भए पनि समग्रमा नकारात्मक पक्षकै दबदबा रह्यो ।
प्रधानमन्त्री र मुख्यमन्त्रीमा गोरखाका जनप्रतिनिधिः
गोरखाबाट निर्वाचित भएका पुष्पकमल दाहाल प्रधानमन्त्री र गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्न सफल भए ।
अर्को पनि सकारात्मक पक्षका रुपमा लिने केही घटना पनि छन् । हिमाल पारिको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासलाई बर्ष २०८० मा सडक सञ्जालले जोड्यो । त्यतिमात्र होइन, यही बर्ष पहिलो पटक जगत, नाग्चेत र पाङसिङसम्म सवारी साधन आवतजावत गर्न थाल्यो ।
मनास्लु क्षेत्रमा पर्यटकको नयाँ रेकर्ड:
बर्ष २०८० मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटकले भ्रमण गरे । यसअघिको रेकर्ड तोड्दै मनास्लु क्षेत्रमा यस बर्ष नौ हजार ६० जना पर्यटकले भ्रमण गरे । साथै मनास्लु क्षेत्रमा प्रवेश गरेका पर्यटकका गाइड र भरियाबाट संकलित कुपनबाट पनि अहिलेसम्मकै धेरै रकम संकलन भयो । त्यहाँका होटल व्यवसायीले ६३ लाख भन्दा धेरै आर्थिक आर्जन गरेका छन् ।
गोरखाका हिमाल आरोही चारजना महिलाहरु गण्डकी प्रदेश सरकारबाट सम्मानित भए ।
जग्गाको निस्सा वितरण :
बिगत लामो समयदेखि काम गरिरहेको भूमि आयोगले बर्ष २०८० मा केही जग्गाको निस्सा वितरण भएको छ । धार्चे १ हुलचुक र धार्चे ४ लाप्राकका भूमिहिन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
एमक्यापको म्याद थप :
मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद विगत लामो समयदेखि थप हुन सकेको थिएन । यसबर्ष भने सोको पाँचबर्षका लागि म्याद थप भएको छ । तर गण्डकी प्रदेश सरकारले एमक्याप र एक्याप प्रदेश माताहत हुनुपर्छ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ ।
गोरखा नगरबासीलाई निशुल्क स्वास्थ्य सेवा :
गोरखा नगरपालिकाले नगरबासीका लागि निशुल्क आधारभूत स्वास्थ्य सेवा आरम्भ पनि यही बर्षदेखि सुरु गरेको छ । गोरखा अस्पतालले बनाएको स्वास्थ्य सेवा कार्ड भएकाहरुलाई प्रयोगशाला परीक्षणलगायतका धेरै स्वास्थ्य सेवाहरु पर्दछन् । त्यस्तै नगरपालिकाले कक्षा १ मा सामुदायिक विद्यालयमा भर्ना गर्ने अभिभावकलाई एकलाख रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । त्यस्तै दुर्घटनामा परी मृत्यू भएका नगरबासीलाई ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
नाकाबन्दी कायमै :
कोभिड महामारी २०७६ देखि बन्द रहेको उत्तरी गोरखाको नाका २०८० सालभर पनि बन्द रह्यो । त्यसबाट उत्तरी गोरखाका बासिन्दालाई अत्यावश्यकीय सामानको अभाव खेप्नु प¥यो । चिनियाँ पक्षले पास लिएर आएमा नाका खोल्ने आश्वासन दिए पनि सीमा पास समयमै बनाउन नसक्दा नाका खुल्ला भएन । पछि पास त बन्यो, तर त्यतिबेला चिनियाँ पक्षले फेरि नाका बन्द गरेको थियो ।
देवल र यार्सामा पहिरोले १५ भन्दा धेरै घर विस्थापित :
यसबर्षको बर्खा महिनामा काशिगाउँको यार्सा र सिर्दिबासको देवलमा गरी १५ भन्दा धेरै घर परिबार विस्थापित भए । उनीहरुलाई सुरक्षित स्थलमा स्थानान्तरणको प्रक्रिया यो बर्ष पनि सुरु हुन सकेन ।
पशुचौपायाको मृत्यू, उद्धार तथा भ्याक्सिनेशन :
बर्ष २०८० मा गोरखाका पशुमा फैलिएको लम्पीस्किनबाट पाँचसय भन्दा धेरै पशुचौपायाको मृत्यू भएको छ भने आठ हजारभन्दा धेरै पशुचौपाया संक्रमित भए । बर्ष २०८० मै पशुचौपायामा लम्पीस्किनविरुद्धको निशुल्क भ्याक्सिन लगाइएको थियो । त्यस्तै यही बर्ष चुमनुब्री गाउँपालिकाका कुकुर र विरालोमा बन्ध्याकरण सेवा सुरु गरिएको छ । यही बर्ष गोरखाबाट आठवटा वन्यजन्तुको उद्धार गरियो जसमध्य तीनवटाको मृत्यू भएको थियो ।
डेङ्गी र आँखा पाक्ने रोग :
गोरखामा बर्ष २०८० मा आँखा पाक्ने रोग र डेङ्गी फैलिएको थियो । डेङ्गीबाट १२ सय जना संक्रमित भए भने आँखापाक्ने रोगबाट ३३ सय जना संक्रमित भएका थिए ।
पूर्ण खोप जिल्ला घोषणा :
गोरखालाई बर्ष २०८० मा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरियो ।
लिची र सुन्तलातर्फ सन्तोषजनक उपलब्धी :
लिची पकेट क्षेत्र मानिएको पालुङ्टार ६, ७ र ८ बाट बर्ष २०८० मा १२ करोड रुपैयाँ बराबरको लिची बिक्री गरियो । त्यस्तै सुन्तला जोनलाई प्रवद्र्धन गर्न सहिदलखन २ र ३ मनकामना क्षेत्रमा सुन्तलाको प्रतिमा स्थापना गरियो ।
इ–सिफारिस सेवा सुरु :
बर्ष २०८० मा गोरखा नगरपालिकामा इ–सिफारिस सेवा सुरु भयो । यसले सेवाग्राही लाभान्वित हुने विश्वास छ ।
गोरखा नगरसभा ढिलाइ :
गोरखा नगरपालिकाको नगरसभा सम्पन्न गर्न ढिलाइ भयो । नगरप्रमुख फरक पार्टीका तथा कार्यपालिका बहुमत सदस्यहरु फरक पार्टीका भएका कारण नगरपालिकाको काम तनाव, तनावमै बित्यो । कांग्रेस निकट जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरे ।
रेडक्रसको गतिविधि :
२०८० सालमा नेपाल रेडक्रस गोरखा शाखाको नयाँ नेतृत्व चयन भएको छ । भीमसेनकाजी बानियाँ सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै रेडक्रसको एम्बुलेन्स काटकुट पारेको आरोप लाग्यो । अन्य विभिन्न कार्यमा संलग्न रहेको आरोपमा रेडक्रस कार्यालयका प्रमुख सुवास घिमिरे केही समयका लागि निलम्बित भए ।
१४ किलो सुन ओसार्ने दुईजना पक्राउ :
गोरखा बारपाकका चन्द्र घलेसहित दुईजनालाई प्रहरीले १४ किलो सुन ओसारपोसार गरेको आरोपमा एयरपोर्टबाट पक्राउ ग¥यो ।
बर्ष २०८० मा प्रहरीले सतिपिपल निवासी राममाया शाहीको घरबाट बहुमूल्य क्वार्ज कृष्टल बरामद ग¥यो । नौ महिनापछि सो कृष्टललाई प्रधानमन्त्रीको समुपस्थितिमा गोरखा दरबारमा प्रतिस्ठापन गरियो । यसैबर्ष नवनिर्माण भएको गोरखा दरबारमा पृथ्वीनारायण शाहको राजगद्दी पनि पुनस्थापना गरियो ।
अदालत, प्रशासन, तथा प्रहरी कार्यालयको गतिविधि :
बर्ष २०८० मा पहिलो पटक आमाको नामबाट पनि नागरिकता दिन सुरुवात गरियो । साथै धेरै बर्षअघिदेखि फाराम भरेर राखिएको राष्ट्रिय परिचयपत्र यसबर्षदेखि वितरण सुरु भयो । १८ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको गोरखा जिल्ला अदालतको प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट उद्घाटन पनि यसैबर्ष भयो ।
यसबर्ष जिल्लामा आत्माहत्या र सम्बन्ध विच्छेदका घटना उल्लेखनीय रुपमा वृद्धि भयो । प्रहरीले चोरीको मोटरसाइकलसहित एकैचोटी ११ जना पक्राउ ग¥यो । यही बर्ष पत्रकारिता गर्दै आएका अश्विन दानी पनि पक्राउ परे ।
यस बर्ष गोरखाका ३६ वटा मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भयो ।
पालिकाहरु :
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा २०८० मा बारपाक सुलिकोट उत्कृष्ठ पालिका हुन सफल भयो । साथै कार्यसम्पादन मूल्यांकनमा यसबर्ष आरुघाट गाउँपालिका प्रथम भएको थियो । ६ वटा पालिकाले यसबर्ष पनि प्रशासकीय भवन निर्माण सम्पन्न गर्न सकेनन् । पाँचवटा पालिकाले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गर्न सफल भयो । यही बर्ष गोरखा प्रवेश गर्ने ठाउँ मझुवाको गोरखा गेटमा लखनथापाको सालिक अनावरण गरियो ।
मेला महोत्सव :
यसबर्ष छेकम्पारमा अहिंसा घोषणाको १०० बर्ष पुगेको उपलक्ष्यमा सताव्दी महोत्सव आयोजना भयो भने गोरखा च्याम्बर अफ कमर्शद्वारा कृषि पर्यटन तथा व्यापार मेला आयोजना ग¥यो । त्यस्तै लोकदोहोरी प्रतिष्ठानले दशै रमाइलो मेला आयोजना ग¥यो । त्यस्तै गोरखा होटल संघले पहिलो पटक सडक खाना महोत्सव आयोजना ग¥यो ।
बूढीगण्डकी जलविद्युत आयोजना :
यस बर्ष बूढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय भयो । सो अनुसार घ्याल्चोकमा कम्पनीको फिल्ड कार्यालयको स्थापना भयो । साथै कम्पनीको प्रमुखमा जगतप्रसाद श्रेष्ठ नियुक्त भए ।
खेलकुद :
यसबर्ष पुस ६ देखि ८गतेसम्म राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना भयो । यसबर्षको उपाधि सिरानचोक गाउँपालिकाले जित्यो त्यस्तै यही बर्ष मिस्टर बी आठौं गोर्खाली रनिङ कप पनि आयोजना भयो । उपाधि आयोजक हरमटारी क्लवले जित्न सफल भयो । यही बर्ष गोरखामा पहिलो पल्ट अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भयो । जसको पुरुषतर्फ सहिदलखन र महिलातर्फ बारपाकसुलीकोटले जित्न सफल भयो ।
बर्ष २०८० मा मुग्लिन नजिकै भएको ट्याक्सी दुर्घटनामा एकै परिबारका छ जनाको मृत्यू भयो ।
नेकपा एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र थापा विजयी भए । यसरी विभिन्न सुख र दुखका घटनासहित बर्ष २०८० बित्यो ।




