
धार्चेमा सार्वजनिक पद धारण गरेकाले छोराछोरीलाई सरकारी स्कूल पढाउनुपर्ने
सार्वजनिक पदमा रहेकाहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने धार्चे गाउँपालिकाले निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नति गर्ने उद्देश्यले पालिकाले सार्वजनिक पद धारण गरेकाहरुले आफ्ना स्कूल उमेरका सन्तानलाई सामुदायिक विद्यालय पढाउनु पर्ने निर्णय गरेको हो ।
मंगलबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति सबैले छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ ।
‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालवालिकाहरुलाई सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा भर्ना गराउने निर्णय भएको हुँदा माथि उल्लेख भए बमोजिमका व्यक्ति तथा पदाधिकारीहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई धार्चे गाउँपालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी एवं नतिजामुलक बनाउन सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध छ’, जारी सूचनामा उल्लेख छ ।
सम्बन्धित व्यक्तिहरुले आफ्नो वडाभित्रको सम्पूर्ण विवरणहरु आगमी बैशाख १० गते भित्र शिक्षा, युवा तथा खेलकुद शाखामा पठाईदिन समेत अनुरोध गरिएको छ ।




