| बुधबार, अशोज १३, २०८३

एसईई मर्यादित रुपमा सञ्चालन होओस्

आज, बिहिबारदेखि देशभर एसईई परीक्षा सुरु हुदैछ । यसबर्षको एसईईमा गोरखाबाट तीनहजार छसय ६२ जना परीक्षार्थी सहभागी हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार उन्नाइस सय १३ जना छात्रा र सत्रसय ४९ जना छात्र बिहिबारदेखिको एसईईमा सहभागी हुदैछन् ।

उनीहरुका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । जसमध्य सबैभन्दा धेरै गोरखा नगरपालिकामा ६ वटा परीक्षा केन्द्र सञ्चालित छन् भने चुमनुब्री गाउँपालिकामा एउटा केन्द्र पनि चलेको छैन । सबैभन्दा धेरै गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविका एकसय २७ जना परीक्षार्थीहरु एसईईमा सहभागी हुँदैछन् भने गोनपा ८ रानीवनको दि ओल्ड क्यापिटल माविबाट ९४ जना विद्यार्थीहरु सहभागी गराएको छ ।

तर सिरानचोक ५ मा रहेको चित्रेपोखरी माध्यमिक विद्यालयबाट जम्मा चारजना परीक्षार्थी यो एसईईमा सहभागी हुदैछन् । त्यस्तै सहिद लखन गाउँपालिका ६ बतासेको भगवती हिमालय मावि घैरुङ र गोरखा नगरपालिका ३ को राष्ट्रिय मावि घलाङबाट छ–छ जना एवं गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी मावि डुम्रीडाँडाबाट सातजना परीक्षार्थीहरु एसईईमा सहभागी भएका छन् ।
त्यस्तै चार वटा बोर्डिङ स्कूलबाट पनि १० भन्दा कम विद्यार्थी एसईईमा सहभागी भएका कार्यालयले जनाएको छ ।

बोर्डिङतर्फ गोरखा नगरपालिकाको मनकामना बोर्डिङ स्कुलबाट छ जना, सूर्यमुखी बोर्डिङ स्कुलबाट आठजना, जेनियस बोर्डिङ स्कुलबाट आठजना र पालुङटार नगरपालिका ठाटीपोखरीको बालज्योती इङ्लिस बोर्डिङ स्कुलबाट नौजना विद्यार्थीहरु एसईईमा सहभागी हुँदै छन् ।

एसईईको लागि आवश्यकता अनुसार सुरक्षाकर्मी सहित तीनसय ९३ जना कर्मचारी परिचालन गरिएको छ । एसईईलाई फलामे ढोका भनेर पनि चिनिन्छ । यो पार गरेपछि बल्ल स्कूले विद्यार्थीको बाह्य दुनियाँका लागि ढोका खुल्छ । त्यसैले यस परीक्षालाई मर्यादित रुपमा सम्पन्न गरेर बालबालिकालाई बाह्य फराकिलो दुनियाँमा सकुशल अवतरण गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्