| बुधबार, अशोज १३, २०८३

एसईईपछि ५२ प्रतिशत विद्यार्थी जिल्लाबाट बाहिरिन्छन्

आउँदो चैत १५ गतेबाट विद्यालय शिक्षा परीक्षा(एसईई) सुरु हुँदैछ । अबको केही दिनपछि विद्यार्थीहरुले स्कुले जीवन पार गरेर कलेज जीवन सुरु गर्दैछन् । स्कूल जीवन पार गर्दै गरेका विद्यार्थी भेट्न यतिबेला राजधानीका कलेजका शिक्षक कर्मचारीहरु विद्यालयहरुमा आउने क्रम बढेको छ । ११, १२ पढ्न आफ्नो कलेजमा आइदिनका लागि भन्दै अनुरोध गर्दै उनीहरु विभिन्न आकर्षणका प्याकेजहरु लिएर विद्यार्थीहरुलाई फकाउन व्यस्त छन् । तर जिल्लाभित्रका ११ र १२ कक्षा सञ्चालन गरेका विद्यालय तथा कलेजहरु भने प्रचारप्रसारमा हिँडेका छैनन् ।

जिल्लाबाहिरका कलेजहरुको प्रचार प्रसारका कारण एसईईपछि ५२.६२ प्रतिशत विद्यार्थी कक्षा ११, १२ अध्ययनका लागि जिल्ला बाहिर जाने गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइले तयार गरेको तथ्यांकअनुसार एसईई दिएपछि ४७.३८ प्रतिशत विद्यार्थी मात्र जिल्लाभित्र पढ्ने गरेको पाइएको छ । गतबर्षको एसईईमा तीनहजार आठसय ५० जना सहभागी थिए । उनीहरुमध्य करिब एक हजार आठसय २४ जना मात्र जिल्लाभित्रका कलेजमा अध्ययन गरेका थिए भने दुईहजार २५ जनाभन्दा धेरै जिल्लाबाट बाहिरिएका थिए ।

यसबर्षको एसईई परीक्षामा गोरखाबाट तीनहजार छसय २८ जना परीक्षार्थी सहभागी हुदैछन् । बिगत बर्षको परम्परा हेर्दा यसबर्ष पनि एकहजार नौसय विद्यार्थी बाहिरिने अनुमान गरिएको छ । एकहजार सातसय १८ जना मात्र जिल्लाभित्र पढ्ने अनुमान छ । यसबर्ष गोरखामा कक्षा ११ र १२ पढ्ने विद्यार्थी संख्या जम्मा दुईहजार १६८ जना मात्र छ । जसमध्य गोरखा नगरपालिकामा सबैभन्दा धेरै ८६३ जना छन् भने पालुङटार नगरपालिकामा २४२ जना छन् । कक्षा ११ र १२ पढ्ने विद्यार्थी संख्या चुमनुब्री र अजीरकोट गाउँपालिकामा सुन्य छ ।

एसईई दिएकामध्य धार्चेमा २६ जना मात्र छन् भने बारपाक सुलीकोटमा ९६ जना मात्र पढ्छन् । गण्डकी गाउँपालिकामा पनि कक्षा ११ र १२ मा जम्मा १११ जना विद्यार्थी मात्र पढ्छन् भने सहिद लखन गाउँपालिकामा पनि दुईवटा कक्षामा गरी जम्मा ११२ जना मात्र विद्यार्थी छन् । सिरानचोकमा १४७ जना, भीमसेन थापा गाउँपालिकामा ३५१ जना र आरुघाट गाउँपालिकामा जम्मा २२० जना विद्यार्थीहरु पढ्छन् ।

प्राविधिक शिक्षाले विद्यार्थीलाई आकर्षण गर्ने उद्देश्यले सञ्चालन गरिएका प्राविधिक शिक्षालयहरुमा पनि विद्यार्थी संख्या ज्यादै न्यून छन् । ४८ जनाको कोटा रहेको भवानी मावि मान्बु तथा ज्ञानमार्ग मावि घ्याल्चोकको बाली विज्ञान प्राविधिक शिक्षालयको दुईवटा कक्षामा जम्मा १२, १२ जना पढिरहेका छन् । त्रिवेणी मावि मिरकोटको प्राविधिक धारतर्फ पनि जम्मा ११ जना विद्यार्थी पढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्