| बुधबार, अशोज १३, २०८३

गोरखा नगरपालिकाभित्रका सबै विद्यार्थीले एकै प्रकारका पोशाक लगाउनु पर्ने

गोरखा नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै प्रकारको पोशाक लगाउने नगरपालिकाले नीति लिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाको गत बाह्रौँ नगरसभाले यस्तो नीति पारित गरेको हो । साथै नगरसभाले निजी तथा सामुदायिक विद्यालयमा टाइ प्रयोग नगर्ने नीति पनि पारित गरेको छ ।

गोरखा नगरपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयमा पढाउने शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको बालबच्चाहरुलाई सामुदायिक विद्यालयहरुमा पढाउनु पर्ने नीति लिएको छ । अबको एक महिनामा सामुदायिक विद्यालयहरुमा भर्ना अभियान सुरु हुँदैछ । यसअघि अजीरकोट र भीमसेन थापा गाउँपालिकाले पनि सार्वजनिक सूचना जारी गरी शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको बालबच्चाहरुलाई सामुदायिक विद्यालयहरुमा पढाउनु पर्ने जानकारी गराइसकेका छन् । गोरखा नगरपालिकाले पनि यस्तै निर्णय गरेको हो ।

साथै गोरखा नगरपालिकाले आफ्नो नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न १० वर्षे शैक्षिक सुधार गुरुयोजना निर्माण गर्ने जनाएको छ । शिक्षकको कार्य सम्पादन विद्यार्थीले प्राप्त गरेको नतिजा प्रतिशत समेतको आधारमा उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गर्ने गोरखा नगरपालिकाको योजना छ । गणित, विज्ञान, अंग्रेजी जस्ता विषयमा कम्तीमा २० जना विद्यार्थी भएको विद्यालयमा कम्तिमा १० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक–एक वटा ल्यापटप उपलब्ध गराई प्रोत्साहन गर्ने नीति पनि गोरखा नगरपालिकाले लिएको छ ।

माध्यमिक विद्यालयहरुमा अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्ने र सबै प्रधानाध्यापकहरुको व्यवस्थापकीय एवं नेतृत्व क्षमता वढाउन विभिन्न कार्यक्रम गर्ने पनि नगरपालिकाले जनाएको छ । विद्यार्थी सङख्याको आधारमा समय सापेक्ष रुपमा विद्यालय गाभ्ने एवं शिक्षक दरवन्दी मिलान गर्दै लाने पनि नगरपालिकाको योजना छ । गोरखा नगरपालिकाले उच्चशिक्षा अध्ययन तथा अनुसन्धानका लागि विद्यार्थी साहायता कार्यक्रम गर्ने लक्ष्य राखेको जनाएको छ ।

स्थानीय पाठ्क्रमलाई उत्पादनसंग(मातृभाषासंग) जोड्ने नीति लिएकोछ । दलित जनजाति एवं विपन्न जेहेन्दार बिद्यार्थीहरुका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम लागू गर्ने योजना बनाएको छ । एसईई रिजल्टको गुणात्मक र परिमाणत्मक आधारमा नगरपालिका भित्रका प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई उचित पुरस्कारको व्यवस्था गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाभित्र रहेका मदरसा शिक्षालयमा सरकारी पाठ्यपुस्तक समेत पढ्ने व्यवस्था मिलाउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्