
धार्चेमा ‘धार्चे सेरोफेरो’ पाठ्यपुस्तक तयार, नयाँ शैक्षिक सत्रबाट लागू गरिने
धार्चे गाउँपालिकाले आगामी नयाँ शैक्षिक सत्रबाट कक्षा २ मा स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ । धार्चे सेरोफेरो नामक उक्त पाठ्यपुस्तकको अन्तिम ड्राफ्ट तयार भइसकेको गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक सिर्मलले बताए । ‘मेरो संयोजकत्वमा स्थानीय पाठ्यपुस्तक लेखन समिति गठन गरेर काम अघि बढाएका हौ,’ सिर्मलले भने, ‘अन्तिम ड्राफ्ट तयार भयो, अव प्रकाशनको तयारी गर्दैछौ ।’ समितिमा पालिकाको बिभिन्न वडामा रहेका बिद्यालयका सात जना प्रधानाध्यापकहरु रहेको उनले जानकारी दिए ।
कक्षा १ को स्थानीय पाठ्यपुस्तक कन्सल्ट्यान्टबाट तयार पारिएकाले कम प्रभावकारी देखिएको भन्दै यो पटक पालिका आफैले तयार पारिएको उनको भनाइ छ । उनका अनुसार उक्त पाठ्यपुस्तकमा १२ वटा एकाइ छन् । पाठयपुस्तकमा धार्चेभित्रका बिभिन्न जातजाती, भाषा, संस्कृती, पर्यटकीय स्थल, पुरातात्विक वस्तु र धार्चेका बिशिष्ट व्यक्तिहरुको जीवनी समावेश भएको बताइएको छ । धार्चेमा पाइने बहुमुल्य जडिवुटीहरुको बारेमा पनि पाठ्यपुस्तकमा उल्लेख गरिएको सिर्मलले बताए ।
‘बिद्यार्थीले बुझ्ने गरी सरल भाषा प्रयोग गरिएको छ, समग्र धार्चेका परिवेश त्यस पुस्तकमा पाउन सकिन्छ,’ उनले भने । शैक्षिक सत्र २०७९ बाट पालिकाले प्रत्येक बिद्यालयको कक्षा १ मा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक लागू गरिसकेको छ । पालिकाले २०७८ सालमा कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम तयार गरेको थियो । सोही अन्तरगत गत शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको हो । अबको नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी कक्षा २ को पनि स्थानीय पाठ्यपुस्तक तयार गरिएको पालिका शिक्षा शाखाले जनाएको छ ।




