
त्रिविको उपकुलपति पदका लागि गोरखाका ४ जनाले दिए आवेदन
त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि गोरखाका ४ जनाले दरखास्त दिएका छन्। खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १७ गते प्रा।डा। शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोकेका थिए ।
त्रिवि ऐन २०४९ को दफा २१ को (ख) अनुसार दैनिक कार्यसञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ । यो तीन महिना माघ १७ गते सकिँदैछ । त्यसअघि नै उपकुलपति नियुक्ति गर्ने तयारी छ। उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो । पुस २० गते उपकुलपति माग गर्दै पहिलो पटक विज्ञापन गरिएको थियो । उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रो पटक विज्ञापन गरिएको थियो ।
उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति पनि बनेको छ। यही समितिले उपकुलपति माग गर्दै आवेदन आह्वान गरेको थियो। आवेदन दिन १५ दिनको समय दिइएको थियो । समयभित्रै गोरखाका चारसहित ४३ जनाले आवेदन दिएका छन् । विभिन्न विश्वविद्यालयका उपकुलपति भइसकेकाहरूले पनि त्रिवि उपकुलपतिका लागि आवेदन दिएका छन् । त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि आवेदन दिएका छन् ।
गोरखा नगरपालिका वडा नं. ७ का नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, सिरानचोक गाँउपालिका छोप्राकका गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले त्रिवि उपकुलपतिका लागि आवेदन दिएको समितिले जनाएको छ। यस्तै बारपाक सुलिकोट ८ का भीमसेन देवकोटा र पालुङटार नगरपालिका २ का प्रकाश घिमिरेले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न राजनीतिक दलका नेता तथा विद्यार्थी संघसंगठनहरूले पनि त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराउँदै आएका छन् ।




