
शहिदलखन गाउँपालिकाको प्रशासकीय भवनको ७५ प्रतिशत काम सम्पन्न
शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । चारतल्ले भवनको बाहिरी काम सबै सम्पन्न भइसकेको र अव भित्री काम मात्र बाँकी रहेको गाउँपालिका पूर्वाधार विकास शाखाका प्रमुख राजन रानाभाटले बताए ।
‘बाहिरी स्टक्चरको काम सबै सकियो, प्लास्टरको काम भयो, अव भित्री भागमा रङ्गरोगन, झयाल, ढोका हाल्ने काम मात्र बाँकी छ’, उनले भने ।
उक्त भवन निर्माण कार्य २०७७ सा चैत्र २ गतेबाट सुरु भएको थियो । तर कोभिड र लकडाउनका कारण सुरुको ६ महिना काम गर्न नपाएको उनले बताए । रविना÷अविसा÷विकोन जेभीले सात करोड ७८ लाख लागतमा भवन निर्माण कार्यको सम्झौता भएको हो । सम्झौता गरेअनुसार २०८० असार मसान्त सम्ममा काम सक्नुपर्ने छ । तर भित्री काम गर्न धेरै समय लाग्ने भएकाले म्याद थप गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय तहको प्रशासकीय भवन पुर्वाधार विकास कार्यक्रम अन्तर निर्माण भएको पालिकाको प्रशासकीय भवन संघीय सरकारबाट पर्याप्त मात्रमा बजेट नआएकाले काम द्रुत गतिमा अघि बढ्न नसकेको उनले बताए । प्रशासकीय भवनका लागि संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समितिको ६० प्रतिशत र बाँकी ४० प्रतिशत लागत रकम पालिकाले बेहोर्नुपर्ने उनले बताए ।
संघीय सरकारबाट हाल सम्म दुई करोड ६० लाख ५३ हजार र पालिकाको दुई करोड ९२ लाख ७२ हजार गरी कुल पाँच करोड ५३ लाख २५ रुपैया खर्च भइसकेको छ । संघ सरकारबाट बजेट प्राप्त भएमा भवनको बाँकी काम छिट्टै सकिने उनले बताए ।
संघीय सरकारबाट छिट्टै बजेट आएमा यहि आर्थिक वर्षमा सकिने उनले जानकारी दिए । उनका अनुसार चार तल्ले भवनमा करिब ५१ कोठा हुनेछन् । भवन भित्र गाउँसभा हल, न्यायिक समितिको हल र कार्यापालिका हल गरी तीन वटा ठूला हल हुनेछन् ।




