| आइतवार, कार्तिक २९, २०८३

अमेरिकामा गोली लागेकी रचनालाई भेट्न जान नपाएकोमा परिबारको चिन्ता

अमेरिकामा गोली लागेकी रचनालाई भेट्न जान नपाएकोमा परिबारको चिन्ता

गोरखा पालुङ्टार १ खोप्लाङका भाइ रविन श्रेष्ठ र अमेरिका ओक्लोहाममा बस्ने दिदी रचना श्रेष्ठको साउन ६ गते साँझ अनलाइनमा गफगाफ भयो । दिनहूँ हुने जस्तै सामान्य कुराकानीमा उनीहरुको संवाद टुंगियो । सात गते बिहान अचानक दिदीमाथि अन्धधुन्ध गोली प्रहार भयो भन्ने खबर सुन्दा रविन स्तब्ध भए ।
‘दिनहूँ कुराकानी भइरहन्थ्यो । सामान्य कुराकानीमै अघिल्लो रातको संवाद सकियो । भोलिपल्ट भिनाजुको साथीले दिदीमाथि गोली प्रहार भयो भनेर भिनाजुको भाइलाई खबर गरेछन् । खबर सुनेपछि घरतिर, माइततिर रुवाबासी छ’, रचनाका भाइ रविन भन्छन्, ‘खबर सुनेपछि आमा काठमाडौं आइपुग्नु भयो । म र आमा जतिसक्दो चाँडो अमेरिका पुग्ने तयारी ग¥यौं तर आमाको पासपोर्ट बनाउन सकिएन ।’ वडा अध्यक्षले छाप पनि नलगाई, सही पनि नगरी खालि लेटरप्याड पठाएकाले कुनै पनि कागजात बनाउन नसकिएकोमा उनले दुख ब्यक्त गरे । ‘दुख पर्दा छार्न नसक्ने हाम्रो देशको र स्थानीय तहको अबस्था देख्दा साह्रै मन रोयो’, श्रेष्ठले भने, ‘अहिले आमा छोरी भेट्न नपाएर छटपटाइरहनु भएको छ । म आफै पिडामा छु, आमालाई सम्हाल्नु उस्तै कठिन छ ।’ वडा अध्यक्ष कृष्णबहादुर परियारले भने राहदानी सिफारिसका लागि प्रशासन कार्यालयमा पठाएको र नाता प्रमाणितका लागि अङ्ग्रेजीमा लेखिएको कागजात बनाउन पठाएको तर परिबारका कोही पनि फर्किएर नआएको बताए ।
‘आठ वटा गोली लागेको छ । तीनचारदिनदेखि दिदी इन्तु न चिन्तु हुनुहुन्छ’, उनी भन्छन्, ‘तर चाहेर पनि भेट्न जान नपाउने कस्तो व्यबस्था हो ? सामान्य ब्यहोराको सिफारिस पनि गर्न नसक्ने जनप्रतिनिधि पनि कस्ता हुन् ?’ रचनाका बुबा खोप्लाङमै छन् भने छोरी भेट्न नपाएर आमा काठमाडौंमा छटपटाइरहेकी रविनले बताए ।
२८ बर्षीया रचना डिभी चिठ्ठा परेर गतबर्षको भदौमा अमेरिका गएकी थिइन् । उनका तीनबर्षका एक छोरा र श्रीमान कपिल श्रेष्ठ पनि उनीसंगै अमेरिकामै छन् । अमेरिका जानुअघि उनी होटल याक एण्ड यतिको रोयल क्यासिनो मा काम गर्थिन् । घरमा सरसफाइ गरिरहेको अबस्थामा अपरिचित व्यक्तिले चलाएको आठ वटा गोली लागेपछि उनी गम्भीर घाइते छिन् । उनको गाला, पिठ्यु, कम्मर, पेट, पाखुरा, मुटुको तल्लोभागमा गोली लागेको परिवार श्रोतले बताएको छ । उनको सेन्ट फ्रान्सिस् अस्पतालमा उपचार भइरहेको छ । चारदिनदेखि उनको अबस्था स्थिर रहेको रविन श्रेष्ठले जान कारी दिए ।

प्रतिक्रिया दिनुहोस्