
सिसी क्यामेरा राख्न स्थानीयबाटै चारलाख !
सदरमुकामको मुख्य बजारमा सिसी टिभी जडान गर्न स्थानीयबासी उत्साहित भएका छन् । बजारको सुरक्षाका लागि सिसी टिभी जडान गर्न स्थानीयबासी आ—आफै अर्थ सङ्कलन गरेका छन् । सोमबार गोरखा नगरपालिका र सामुदायिक सेवा केन्द्रको आयोजनामा नगरपालिकाको हलमा आयोजित बैठकमा स्थानीयबासीले चारलाख रुपियाँ दिने घोषणा गरे ।
सदरमुकाम बजारमा सिसी टिभी राख्न गोरखा नगरपालिकाले बिभिन्न टोल विकास संस्थासंग प्रतिवद्धता माग गरेको थियो । जसमध्य कालीमाटी टोल विकास संस्थाले ३० हजार रुपियाँ दिने घोषणा ग¥यो । बसपार्क टोल विकास संस्थाले १५ हजार, गणेशपाटन टोल विकास संस्थाले २० हजार, नयाँ बसपार्क टोल विकास संस्थाले २० हजार, अस्पताल टोल विकास संस्थाले २५ हजार, सदरहरमटारी टोल विकास संस्थाले १५ हजार दिने घोषणा गरे । त्यस्तै चालिसे टोल विकास संस्थाले २५ हजार, तीनधारे टोल विकास संस्थाले २० हजार, कालिका टोल विकास संस्था र नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले २० हजार, धारापानी टोल विकास संस्थाले १० हजार, शक्तिचोक टोल विकास संस्थाले २५ हजार रुपियाँ दिने घोषणा गरे । त्यस्तै गोरखा उद्योग वाणिज्य संघले ५० हजार, गोरखा च्याम्बर अफ कमर्श १० हजार, सुनचाँदी व्यबसायी संघले २५ हजार, होण्डा हाउस प्रालिले २० हजार पाँचसय, लायन्स क्लव अफ गोरखाले २५ हजार, हेभी इक्युपमेन्ट व्यबसायी समितिले २५ हजार रुपियाँ दिने घोषणा गरेका थिए ।
रकम घोषणा गर्न बाँकी रहेका व्याङ्कर्स र अन्य दातृ निकायको रकम जोड्दा पाँच लाख पुग्ने नगरपालिकाले अनुमान गरेको छ । ‘सदरमुकाम बजारको बिभिन्न ठाउँमा गरी ४० वटा सिसी क्यामरा राख्ने योजना रहेको छ’, मेयर राजनराज पन्तले भने, ‘करिब २० लाख रुपियाँ लाग्ने हाम्रो अनुमान हो । दातृ निकायबाट जुटेकोमा अपुग रकम नगरपालिकाले थप गर्नेछ ।’दशै अघिसम्म सिसी टिभी जडान गरिसक्ने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठले जानकारी दिए ।




