| आइतवार, कार्तिक २९, २०८३

सचिब

फरार सचिबको जागिर चट् !

जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.( ३ हंसपुर र वडा नं. ५ मुच्चोकको जिम्मा पाएका वडा सचिव दीपकबहादुर दर्जी दुई करोड ९० हजार ३२० रुपैयाँ ३५ पैसा हिनामिना गरेर एक वर्ष देखि फरार छन् ।
२०७४ सालको साउन ३ गते वडा अध्यक्षसँग तीन दिनको बिदा लिएर हिँडेका दर्जी हालसम्म गाउँपालिकाको सम्पर्कमा नरहेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए । ‘एक वर्ष लागिसक्यो सम्पर्कमा आएको छैन’ गाउँपालिका प्रमुख धितालले भने ‘हामीले जिल्ला समन्वय समितिमा पनि सम्पर्कमा नआएको बेहोराको पत्र बुझाईसकेका छौँ ।’
दर्जीको नाममा दुई करोड रुपैयाँभन्दा बढीको बेरुजु देखिएको स्थानीय विकास अधिकारी नारायण आचार्यले पटक पटक बताउँदै आइरहेका छन् । दर्जीले दुई आर्थिक वर्षमा तत्कालीन गाविसको खाताबाट पैसा झिकेको देखिए पनि खर्चको हिसाब नबुझाउँदा उनको नाममा करोडौँ रुपैयाँ बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणका क्रममा खर्चको कुनै पनि कागजात नदेखिएपछि खर्च भएको सबै रकम उनको नाममा बेरुजु राखिएको जिल्ला समन्वय समिति गोरखाले जनाएको थियो ।
दर्जीको नाममा आर्थिक वर्ष २०७२ र ०७३ र २०७३ र ०७४ को दुई करोड ९० हजार ३२० रुपैयाँ ३५ पैसा बेरुजु देखिएको हो । त्यसमा सामाजिक सुरक्षा भत्ता, गाविस अनुदान र अन्य पूँजीगत खर्च बेरुजु देखिएको आचार्यले बताए ।
स्याङ्जाको साविकको रापाकोट गाविस वडा नम्बर( २ घर भएका दर्जीलाई हाजिर हुन आउन पत्र पठाए पनि उनी आएनन् । उनी हुलाकमार्फत वडा सचिवको जिम्मा लिएर अजिरकोट आएका थिए । निजामती सेवा ऐन, २०४९ अनुसार ९० दिनभन्दा लामो समय विना जानकारी कार्यालयमा अनुपस्थित हुने कर्मचारी स्वतः पदमुक्त हुने व्यवस्था रहेको छ ।
‘ऐनको व्यवस्थाअनुसार त्यसरी ९० दिन भन्दा बढी हराएपछि जागिर जान्छ’ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने ।
उनी सम्पर्कमा नआएपछि सरकारी सम्पती असुल उपर गर्ने प्रक्रिया अघि बढेको छ । ‘हामीले यहाँबाट विभिन्न प्रक्रिया अघि बढाउँदा उनी सम्पर्कमा आएनन’ केही समय अघिको कुराकानीमा समन्वय अधिकारी आचार्यले भने ‘नेपाल सरकारको सम्पती हिनामिना गरे अन्त्यमा असुल उपर गर्ने निकाय नेपाल सरकार केन्द्रिय तहसिलको कार्यालय हो त्यहाँ पनि पत्रचार गरिसकेका छौँ । त्यहाँबाट पनि काम भइरहेको भनेर जानकारी आएको छ ।
वडा सचिव दर्जीले साविकको गाविसको खाताबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि झण्डै २५ लाख रुपैयाँ झिकेका छन् ।

प्रतिक्रिया दिनुहोस्