| आइतवार, बैशाख १९, २०८३

भित्र्याउने बेला भएको धान तीन वर्ष लगातार बगर बनेपछि !

नरहरि सापकोटा :

गोरखाको पालुङटार नगरपालिका ९ शेराकी आशा तामाङसित यो सिजनमा १२ मुरी धान भित्र्याउने सपना थियो । बाह्रै महिना पानी लाग्ने तीन रोपनी खेतले उनको चार जनाको परिवारलाई छ महिना खान पुग्ने उब्जनी दिन्थ्यो । त्यो खेत अहिले बगरमा परिणत भएको छ । झुलेको धानको बालामा बाढी पसेर उनको खेतखेतै खोला हिड्न थालेपछि उनी निराश छिन् ।

‘अहिलेसमेत तीन वर्ष भयो, मैले यो खेतबाट एकदानो भित्र्याउन सकेको छैन’ उनले भनिन् ‘चामल बेसाएर खानुपरेको छ ।’ जुडी धान भित्र्याएर फेरि असारे रोप्ने तयारी गरेकी उनको बिउपनि गतसाताको बाढीले बगाईदियो ।

अर्काको जग्गामा अधिँया गरेर धान रोपेकी बिर्दीका सरिता तामाङले ५० मुरी धान फलाउँथिईन । बाढी खेतमा पसेपछि अहिले एक दानो भित्र्याउने अवस्था नरहेको उनले बताईन । स्थानीय हरि अधिकारीको खेत अधिँयामा लिएर आधा÷आधा उब्जनी लिने सहमति गरेकी उनको बिउ, मल, परिश्रम र लगानी सबै खेर गएको छ ।

सोही ठाउँका किसान भरत कुमाल १३ रोपनी जग्गा बगर बनेको भन्दै दुःखेसो गर्छन । ‘खेतखेतै खोला हिँडेको छ’ उनले भने ‘अब खोला घटेपछि खेत रोपुँ फेरी बाढी आउला भन्ने डर भो ।’ असारे खेत रोप्न राखेको बिउ पनि बाढीले बगाएपछि अब खेत नरोप्ने सोचमा उनी छन् । ‘यस्तै बाढी वर्षेनी आएको छ’ उनले भने ‘रोपेर के गर्नु, फेरी बाढी आउला भन्ने डर लागिरहन्छ ।’ अब खेत तयार गरेर रोप्न त्यहाँ भएको ढुङ्गा माटो पन्छाउन धेरै पैसा खर्च हुने उनले बताए ।

केहीदिन अघि लहलह धानको बाला झुलेका खोलाछेउका खेत अहिले उराठिलो बगर बनेको छ । बालुवा, माटो, ढुङ्गामुडाले च्यापिएको धानको बाला हेर्दै निराश हुनु बाहेक किसान सँग कुनै बिकल्प छैन । ‘हामीलाई दुई चारबोरा चामल राहत चाहिएको छैन’ बिर्दीका स्थानीय मंगलप्रसाद श्रेष्ठले भने ‘उब्जनी गरेर खाने खेत जोगाईदिए हुन्थ्यो ।’ तीनवर्षदेखि बाढीले धान सखाप भएको गुनासो गरेका स्थानीयले खोलाको दुबैतर्फ बलियो तटबन्ध गरेर खेत जोगाईदिन हारगुहार गरेका छन् ।

यी एक दुई जना मात्र होईनन्, गोरखाको पालुङटार नगरापलिका ९ को बिर्दीखोला, खारखोला, चुतीखोला, बडहरे खोला आसपासका किसानको खेत गतसाताको वर्षातले सोत्तर बनाएको छ । खोला छेउका खेतमा जुँडी धान भित्र्याएर असारे लगाउने बेलामा बाढी पसेपछि किसान निरास छन् । यस पटक यस क्षेत्रको ३५ सय रोपनी खेत बगर बनेको वडा नम्बर ९ का अध्यक्ष भेजराज पाण्डे बताउँछन् । बिर्दी र शेरा बजार खोला कटानले जोखिममा परेको छ । एक दर्जन घर उच्च जोखिममा छन् ।

‘हामीले तथ्याङ संकलन गर्दैछौँ, किसानलाई ठुलो क्षती पुगेको छ, हरेक वर्ष एउटै समस्याले दुःख दियो’ उनले भने ‘नगरपालिका, प्रदेश र संघ सरकारले तटबन्ध गर्न पहल गर्नुपर्ने हो तर भएको छैन ।’ वडा कार्यालयले बन्द भएको सडक खुलाउन, खानेपानीको तत्काल मर्मत गर्न र पोल ढलेर अवरुद्ध भएको बिजुली सुचारु गराएको उनले बताए ।

उक्त खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले सर्वेक्षण गरेको थियो । प्राविधिक सर्वेक्षणले करिब १६ करोड लागतमा खोलामा तटबन्ध गर्न सकिने मूल्याङ्कन गरेको वडा अध्यक्ष पाण्डेले बताए । ‘हामीले स्रोत जुटाउन संघिय र प्रदेश मन्त्रीहरुलाई पनि भेट्यौँ तर कसैले वास्ता गरेनन्, हरेक वर्ष बाढीले धान खायो ।’ बाढी र पहिरोले स्थानीय भवदत्त लामिछाने, राममाया कुँबर, बद्री सेढाईँको परिबार विस्थापित भएका छन् । भरत सेढाईँ, घननाथ सेढाईँ, मिठु सेढाईँ, टंकबहादुर अधिकारी, सम्झना लामा, लिप्चा लामा, सुनसिङ लामाको घर उच्च जोखिममा रहेका छन् ।

पुल र कल्भट बगायो, विद्यालय जानै सकस

पालुङटार ९ बिर्दीमा रहेको मोटरेबल पुल बाढीले बगाएको छ । खारखोला, चुतीखोला, खहरेखोला, बडहरे खोलाको पुल बगाएको हो । अहिले यी सबै ठाउँमा खोलाबाट जोखिम मोलेर स्थानीय आउजाउ गरिरहेका छन् ।

सवारी साधन पनि खोलाबाट ओहोरदोहोर गरिरहेका छन् । पानी बढेका बेला आउजाउ बन्द हुने गरेको स्थानीय हरि अधिकारीले बताए । खारखोलामा पुल भन्दा पानीको बाहव ठुलो हुँदा विद्यार्थी विद्यालय जान पाएका छैनन् । बिर्दीबाट धर्मोदय मावि पढ्न जाने करिब दुई सय जना विद्यार्थी खोलामा पानी बढेपछि जान सक्दैनन् ।

चुतीखोला तरेर त्रिवेणी मावि पढ्न जाने विद्यार्थीलाई सकस भएको छ । चुती खोलाको पुलको कल्र्भट, दायाँबायाँ राखिएको पिल्लर नै छैन । बाढीले खोलामा रहेको कल्र्भट बगाएपछि आउजाउमा समस्या भएको हो । ‘शिक्षक विद्यार्थी हिड्नै समस्या छ’ सो माविका प्रअ गणेशराज सेढाइँले भने ‘एम्बुलेन्स हिडाउने ठाउँ पनि छैन ।’

तटबन्धनका लागि संघिय सरकारसँग पहल गर्छौँ : मेयर

पालुङटार वडा नम्बर ९ को बिभिन्न ठाउँमा बाढीले क्षति पु¥याएपछि खोला तटबन्धन गर्ने प्रक्रिया अघि बढाएको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए । ‘संघीय सरकारसंग बजेट मागेर तटबन्ध गर्ने हो, हाम्रो स्रोतले धान्दैन’ उनले भने ‘अबको बजेटमा यो योजना आउँछ ।’

नगरपालिकाले जोखिममा परेको घरको संरक्षण गर्ने, बन्द बाटो खुलाउने, भत्किएको कुलो मर्मत गरेर खेत रोप्ने वातावरण सिर्जना गर्ने गरी काम गरिरहेको मेयर चिन्तनले बताए । ‘दिर्घकालीन योजना केन्द्रबाट गर्ने र अल्पकालीन योजनामा नगरपालिकाले काम गर्ने भन्ने हो’ उनले भने ।

कृषकलाई दिने हामीसँग केही छैन : कृषि ज्ञान केन्द्र

आफूहरु विपतमा परेको चार दिन भइसक्दा जिल्ला विपत व्यवस्थापन समिति, पालिका स्तरको विपत व्यवस्थापन समिति, कृषि ज्ञानकेन्द्र, स्थानीय, संघीय तथा प्रदेश सरकारका जनप्रतिनिधि कोही पनि सान्त्वन दिनसम्म नआएको भन्दै पालुङ्टार ९ का पिडित किसानहरुले दुखेसो गरेका छन् ।

कृषि ज्ञान केन्द्र गोरखाले बाढीपिडित किसानलाई तत्काल राहत दिने कुनै योजना कार्यालयसँग नरहेको जनाएको छ । ‘किसानलाई तत्काल राहत दिने गरी कार्यालयमा कुनै कार्यक्रम छैन’ ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने ‘हामीले क्षतिको बिवरण संकलन गरेर कृषि बिकास निर्देशनालय पठाउने हो, त्यहाँबाट आएको खण्डमा राहत दिन सक्छौँ ।’

किसानले क्षतीको बिवरण, प्रहरी मुचुल्का, लालपुर्जाको फोटोकपी र निवेदन ज्ञान केन्द्रमा पेश गर्नुपर्छ । सोही निवेदन र प्रमाणका आधारमा निर्देशनालयलाई क्षति यकिन गरेर पठाउने ज्ञान केन्द्रले जनाएको छ । किसानले भने यसअघि बेमौसमी वर्षातले क्षति पुगेको बालीनालीको अहिले सम्म राहत नआएकाले आश मरेको बताएका छन् ।

गत वर्ष भएको क्षतीको राहत तत्काल दिने भनिएपनि अहिले सम्म किसानले पाएका छैनन् । बेमौसमी वर्षातले पु¥याएको क्षतिको राहतका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए । तर कहिले स्वीकृत हुन्छ भन्ने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्