
छेकम्पार–तिब्बत सडक सात बर्षमा जम्मा १८ किलोमिटर
गोरखादेखि छेकम्पार हुदै चीनको तिब्बत जोड्ने सडक निर्माण सुरु भएको सात बर्षमा करिब तीनप्रतिशत प्रगति भएको छ । नल्याङभञ्ज्याङ छेकम्पार चुम्चेत सिर्दिबास माछाखोला बारपाक सडक नामको सो सडकका लागि यसबर्ष बिनियोजित छ करोड रुपियाँमध्य जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको सडक योजना कार्यालयले जनाएको छ ।
सो सडक निर्माणको काम तीन वटा खण्डमा भइरहेको छ । ‘पाँच करोड रुपियाँको एउटा कामको ४५ प्रतिशत मात्र प्रगति भएको छ । एक करोडको अर्को प्याकेजको कामको करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ’, एघारकिलो छेपेटार बारपाक सडक योजना कार्यालय प्रमुख अमृतमणि रिमालले भने, ‘बारपाकदेखि माछाखोला सम्मको खण्डमा भने केही प्रगति देखिएको छ ।’
लप्सीबोट माछाखोला जोड्ने काम भने बाँकी रहेको उनले बताए । सो खण्डको बारपाकदेखि लप्सीबोटसम्म टूयाक खन्ने काम सम्पन्न भएको उनले बताए ।
सो सडकको लम्बाइ १२० किलोमिटर रहेको छ । तीन खण्ड गरेर हालसम्म ३० किलोमिटर टूयाक खन्ने काम मात्र भएको प्रमुख इञ्जिनियर रिमालले जानकारी दिए । ‘सरकारले अन्य उत्तरदक्षिण सडक भनेर कम प्राथमिकतामा राखेको छ’ रिमालले भने ‘छेकम्पारदेखि नल्याङभञ्ज्याङसम्मको एउटा खण्डमा १८ किलोमिटर र बारपाकदेखि लप्सीबोटसम्मको १२ किलोमिटर मात्र टूयाक खनिएको छ ।’
बजेट पनि कम आउने गरेको उनले बताए । करिब पाँचहजार दुईसय मिटर अग्लो हिमाल पार गरेर चीन जोड्ने सडक निर्माण गर्न लागिएको छ । छेकम्पारको म्हु गुम्बादेखि माथि सडक खन्ने काम गतबर्षदेखि रोकिएको निर्माण कम्पनी गोरखा एप्रोप्रियटका उत्तम भट्टले जानकारी दिए ।
सडक निर्माण गर्न हेलिकोप्टरबाट डोजर बोकेर लगिएको थियो । ‘गतबर्ष म्हुगुम्बादेखि माथि पुगेपछि ठूलो पहिरो गयो’, भट्टले भने, ‘माटो कटिङको ठेक्का थियो तर त्यहाँ पहरा फेला प¥यो । पहरा कटिङ गर्न ठेक्का नै परिवर्तन गर्नु परेकाले काम ढिला भएको हो ।’ यो बर्ष पहिरोमा तालजाली लगाउने काम भएको उनले बताए ।
सरकारी प्राथमिकतामा पनि नपरेर काम ढिला भएको सडक योजना कार्यालयका प्रमुख रिमालले बताए । ‘यो सडकको चारअर्ब ५९ करोड रुपियाँ लागत अनुमान हो’ उनी भन्छन् ‘सरकारको प्राथमिकतामा पनि पर्दैन । बजेट पनि कम बिनियोजन हुन्छ । बिनियोजन भएजति पनि काम हुन सक्दैन ।
भौगोलिक बिकटता तथा हावापानीको प्रतिकूलताका कारण काम ढिलो भएको हो ।’
चीन सरकारले तिब्बतको छेकम्पार सीमाना नजिकै रहेको ‘स्याक’ भन्ने ठाउँसम्म सडक ल्याइपु¥याएको छ । स्याकबाट करिब १३ किलोमिटर दुरीमा गोरखाको सीमाना नल्याङभञ्ज्याङ पर्छ । छेकम्पारबाट निर्माण सुरु गरिएको सडक आठ बर्षमा जम्मा १८ किलोमिटर टूयाक खन्ने काम मात्र भएको छ ।
गोरखादेखि नल्याङ भञ्जायाङ सम्मको १२० किलोमिटर मध्य गोरखादेखि नौ किलोमिटर सडक कालोपत्रे भएको छ । सोही सडकखण्डमा पर्ने चार वटा मोटरेबल पुल जापानी सहयोग नियोग जाइकाले निर्माण गर्न गरेको छ ।




