| आइतवार, कार्तिक २९, २०८३

garib

गोरखामा अझै १२ हजार गरीब

गरिब घर पहिचानका लागि सर्भेक्षण भएको ५ वर्षपछि गोरखाका गरिव घरपरिवारलाई परिचयपत्र वितरणको तयारी गरिएको छ । परिचयपत्र वितरण गर्न खटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिले बिहिबार र शुक्रबार दुईदिने तालिम समेत प्रदान गरेको छ ।
गोरखामा सर्भेक्षण गरिएका ५९ हजार ६ सय ५४ घरपरिवार मध्य १२ हजार ४४ घरपरिबारलाई गरिबको सूचीमा राखिएको छ । जसमध्य अति गरीव परिवारको संख्या पाँच हजार आठ सय ३३, मध्यम गरिव तीन हजार सातसय १७ तथा सामान्य गरीव घरपरिवारको सूचीमा दुई हजार चारसय ९४ रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।
तथ्याङ्क अनुसार २५ जिल्लामध्य गोरखामा गरिबीको दर २८.६ रहेको छ । त्यस्तै २५ जिल्लाका कम गरिबको सूचीमा गोरखाको भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका परेका छन् । भीमसेन थापा गाउँपालिकाको गरिबी दर १६.९ रहेको छ भने गोरखा नगरपालिकाको गरिबी दर १७.८ रहेको छ ।
सर्भेक्षण अनुसार गोरखाका ४७ हजार १७ घरपरिवार गरीवको परिभाषाभित्र नपरेको परिचयपत्र वितरण सम्बन्धी कार्यक्रमको जिल्लास्थित सम्पर्क ब्यक्ति बिमला वाग्लेले जानकारी दिइन् ।
सरकारले अति गरिबलाई रातो रङको परिचयपत्र प्रदान गर्नेछ भने मध्यम गरीवलाई पहेंलो र सामान्य गरीवलाई नीलो परिचयपत्र उपलब्ध गराउने वाग्लेले जानकारी दिइन् । गरीव घरपरिवारको नामावली सूची र परिचयपत्र जिल्लामा प्राप्त भैसकेको वाग्लेले बताइन् । उनीहरुलाई साउनबाट परिचयपत्र बाँड्ने तयारी गरिएको छ ।
गरीव घरपरिवार परिचयपत्र वितरण कार्यविधि २०७४ अनुसार चालु आर्थिक वर्षभित्रै परिचयपत्र बाँडिसक्नु पर्ने भएपनि कर्मचारीहरु आर्थिक वर्ष समापनका काममा ब्यस्त हुने भएकाले साउनमा मात्रै बाँडिने वाग्लेले बताइन् । परिचयपत्र वितरणका लागि जिल्लाभर ३३ कर्मचारी खटिनेछन् । हरेक स्थानीय तहबाट खटिने एक अधिकृत र २ सहायक कर्मचारीका लागि अभिमुखीकरण तालिम दिइएको छ । गोरखासहित २५ जिल्लामा गरीव घरपरिवार पहिचान गरि परिचयपत्र दिनका लागि २०७० सालको जेठबाट सर्भेक्षण शुरु भएको थियो । सोही वर्षको असार मसान्तमा सर्भेको काम सकिएपनि पाँचबर्षपछि परिचयपत्र वितरणको तयारी गरिएको हो । २०७० सालको सर्भेका आधारमा आर्थिक वर्ष २०७२÷७३ मा गरीव घरपरिवार सहयोग समन्वय बोर्डले प्रारम्भिक सूची तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्