| आइतवार, कार्तिक २९, २०८३

सन्तोष अधिकारी ।

ग्रामीण सडकको कन्तविजोक

गोरखा :  दुई नगरपालिका र नौ गाउँपालिका भएको गोरखामा उत्तरको चुमनुब्री गाउँपालिका बाहेक सबैमा ग्रामिण सडक सञ्जालले छोएको छ । सडक पुगेका स्थानीय तहहरुमा पुग्न अहिले धौ धौ छ । वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएको छ ।
सदरमुकाम हुँदै जिल्लाको आरुघाट, भच्चेक, तीनमाने हुँदै फुजेल, बारपाक सडकको अहिले विजोग छ । गाउँजाने साँघुरा सडक, पानी र पहिरोले ठाउँठाउँ विग्रेको र हिलाम्मै भएकोले यात्रा उत्तिकै जोखिमपूर्ण छ । जिल्लाको अधिकांश ग्रामिण सडकमा ठुला बस चल्न छोडेको महिनौँ भइसकेको छ । अहिले गाउँ जानका लागि जीपहरु मात्र तयार छन् । जीप लैजान पनि यात्रुले ठाउँठाउँमा जीपलाई तान्ने धकेल्नु परेको यात्रुहरु बताउँछन् । ‘हिँड्न सकिँदैन’ गोरखाको भच्चेक हुँदै लम्जुङको दुधपोखरी जान लागेका हिरामान गुरुङ भन्छन् ‘मनमा डर भए पनि जीपमै जान लागेको छु । बाटोमा बिग्रेको छ । हिलोले आधा गाडी पुरिएला जस्तो हुन्छ । गाडीमा हुनेहरुले गाडी हल्लाउने, धकेल्ने, ठाउँठाउँमा माटो ढुंगा हाल्ने अनि लैजाने गरेर आउने जाने गर्नु परेको छ ।’ भच्चेक सडकको केही खण्ड कालोपत्रे समेत भइसक्नुपर्ने भएपनि अहिले सम्म हिलाम्यै छ ।
आरुघाट जान लागेका गिरिराज लामिछानेले सडक विग्रनुमा स्थानीय सरकार, ठेकेदार र गाउँका टाठाबाठा मान्छेलाई दोष लगाउँछन् । ‘अहिले त स्थानीय सरकार आएको छ सबै समस्या बिस्तारै गर्दै समाधान होला भनेको कहाँ हुनु’ उनले भने ‘ठेकेदारहरु सकेसम्म ठग्छन् ।
डोजर अपरेटर नै इञ्जिनियर जस्तो भएर सडक खनेकाले यस्तो भएको हो । केही समयअघिसम्म आरुघाट पुग्न साँडे दुई घण्टा लाग्थ्यो अहिले त के कुरा गर्नु ४ घण्टा भन्दा धेरै लाग्छ ।’ आरुघाट सडकको केही खण्ड मध्यपहाडी लोकमार्गको खण्ड छ । सो खण्डमा कालोपत्रे गरिसक्नुपर्ने भएपनि अहिले सम्म कालोपत्रे हुन सकेको छैन ।
गाउँ–गाउँमा सडकको पहुँच पु¥याउने होडबाजीका साथ निर्माण भएका सडकहरु न त प्राविधिक रुपमा मापदण्ड पूरा गरेका छन् न त गुणस्तरीय नै । तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम रोकिएको छैन ।
मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको साँटो गाउँमा बाटो पु¥याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको यात्रुहरु बताउँछन् ।
‘सडकमा पानी जम्ने र सडक भत्किएर खाल्टाखुल्टी बनेको छ’ सौरपानीका विष्णु पनेरुले भने, ‘सडकको बिजोक अवस्थाले गन्तव्यमा नै नपुगिएला कि भन्ने डर हुन्छ ।’
बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ । बस नचलेपछि जीपहरुले १२ किलो देखि भच्चेक क्षेत्रमा चिप्लेटी, नयाँगाउँ, धारपानी, भच्चेक जहाँ जाने भएपनि प्रतिब्यत्ति एक हजार रुपैँया भाडा लिने गर्छन् ।
हिलाम्मे बाटोले उत्तरी क्षेत्रमा जाने यात्रुहरु मात्र होइन नगरभित्र बसोबास गर्नेहरु पनि आजित छन् । सडक नजिक घर हुनेहरु हिलो र धुलोको पीडामा बस्नु परेको छ । वर्षेनी मर्मतमा खर्च हुने गर्छ तर सडकको अवस्था विजोक हुने गरेको छ । प्राविधिक दृष्टिकोणले ट्रयाक खोल्नै नमिल्ने ठाउँमा समेत जथाभावी ट्रयाक खोल्नाले गाउँमा दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्