| आइतवार, कार्तिक २९, २०८३

सबैले यस्तै नमुना काम गर्नेकी ? स्थानीय चुनावमा होओस् वा प्रदेश वा संघीय चुनावमा सबै उम्मेद्वारहरुले बिभिन्न खालका आश्वासन बाँडे । आफूले जितेमा कार्यान्वयन गर्न सक्ने आश्वासन पनि बाँडे, गर्न नसक्ने उँडन्ते आश्वास पनि बाँडे । पराजित हुने त भए, जित्नेले पनि आश्वासन पूरा गर्नेतर्फ प्रयास गरेको देखिएन । त्यसको एउटा प्रमुख कारण थियो, पूरा गर्न नसक्ने उँडन्ते आश्वासन थियो । आरुघाट गाउँपालिकाले एउटा महत्वपूर्ण निर्णय ग¥यो र कार्यान्वयन पनि गरेको छ । भूकम्प पीडितलाई नीजि आवास निर्माणका लागि एकलाख रुपियाँ ऋण दिने कार्यक्रम उसको मौलिक खालको कार्यक्रम हो । जसले जग हाल्ने, काम थाल्ने पैसा पनि नपाएर काम थालेको छैन, उसलाई एकलाख रुपियाँ ऋण दिने गरेको छ । अहिलेसम्म ३० जना भन्दा धेरैलाई त्यसरी ऋण दिएको बताइएको छ । यसले गर्दा कम्तीमा काम थाल्न त सक्छ । एकलाख खर्च गरेर डिपिसी गरेपछि त दोस्रो किस्ताको डेढलाख आउँछ अनि थप काम गर्न सकिन्छ । यस्ता खालका रचनात्मक, मौलिक खालका काम गरेमा सेवाग्राहीले पनि सेवा पाउँछन्, जनप्रतिनिधि, कर्मचारीहरुको लोकप्रियता पनि पक्कै बढ्नेछ । गोरखामा विजयी जनप्रतिनिधिहरु सबै इच्छाशक्ति भएका नै देखिन्छन् । उनीहरुले थप सुझबुझका साथ भूकम्प पीडितका लागि राहत पुग्ने खालका काम गर्नुपर्ने देखिन्छ । किनभने गोरखामा सबैभन्दा खाँचो भूकम्पले भत्किएका नीजि आवास निर्माणको हो । त्यसलाई सम्बोधन हुने खालका काम गर्दा प्रभावकारी हुनेछ । यस खाले नमुना काम जिल्लाका अन्य १० वटा स्थानीय तहले पनि गर्नुपर्छ । जनताको समस्यामा मल्हम लगाउन अग्रसरहुनुपर्छ ।

कहाँ गए तालीम लिएका जनशक्ति ?

जिल्लाबाट धेरै युवा कामका लागि विदेशी भूमिमा होमिने गरेका छन । भूकम्पपछिको पुनर्निर्माणमा गाउँमा दक्ष जनशक्ति र युवाको आवश्यकता भएको समयमा विदेशिने युवाको लर्को घट्न सकेको छैन । जिल्ला प्रशासनमा राहदानीको फर्म भर्ने यूवाहरुको संख्या पनि त्यत्ति नै छ । भूकम्पको केन्द्र विन्दु गोरखामा भूकम्प पछि घर पुननिर्माणमा दक्ष जनशक्तिको अभाव गाउँगाउँमा छ ।
विभिन्न संघसंस्थाले घर बनाउन केहि दिनको तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरेको बताउने गरेपनि उनीहरु केहि दिनमा न दक्ष नै हुन्छन् न गाउँमा आवश्यक कामदार नै उत्पादन भएका छन् । तर, गोरखाको विभिन्न भूकम्पले ध्वस्त गाउँहरुमा घर निर्माणका लागि तराई मधेसका कामदारहरु आउनेक्रम बढेको छ । गोरखामा विभिन्न संघसंस्थाले लाखौँ रकम खर्चेर दक्ष जनशक्ति उत्पादन गरेको रिपोर्ट बनाए पनि अहिले गोरखामा भूकम्प पछिको पुननिर्माणमा कामदारको अभाव भएकै छ ।
पहाडका नागरिक कामका लागि विदेशी भूमिमा होमिइरहेका बेलामा मधेशका कामदाहरु भने पहाडमा घर बनाउन उकाली लागेका छन् । विदेशको भन्दा राम्रो कमाई आफ्नै नेपालको पहाडतिर हुने भएपछि लामो समयदेखि बाराको कलैयाका धीरलाल ठाकुर गोरखामा काम गर्दैछन् । ‘यहाँ काम गर्दा कमाई आच्छा नै छ’ ठाकुर भन्छन् ‘विदेश किन जाने यहाँ नै महिनाको ३० हजार भन्दा धेरै त खाएर र बसेर नै कमाई हुन्छ । भूकम्प गयो नी त्यस पछि यहाँ काम भ्याई नभ्याई छ । पहिले बजारहरुमा मात्रै काम हुन्थ्यो । अहिले त गाउँमा पनि पक्की घर बनाउन हामीलाई बोलाउन थालिएको छ ।’ ठाकुरकै नेतृत्वमा मात्र पनि गोरखामा १७ जनाको टोली घर बनाउने काममा खटिरहेको छ । तराई मूलका नागरिक विकास निर्माणका पूर्वाधार निर्माण, सडक निर्माण, जलविद्युत् कम्पनीको निर्माणलगायतका क्षेत्रमा धेरै रहेका छन् । तराई मूलका नागरिकलाई पहिला नै कामका लागि आएकाले सम्पर्क गरेर ल्याउने गरेका छन् ।
तराई मूलका नागरिक वर्षमा एकपटक अर्थात् पहाडी क्षेत्रमा काम रोकिएको समयमा मात्रै घर जाने गरेका छन् । दशैं तिहारको समयमा काम रोकिने भएकाले तराई मूलका नागरिक दशैंमा घर गएपछि छठ मनाएर पुनः काममा फर्किने गरेका छन । सदरमुकाममा र निर्माणदेखि गाउँमा सडक बनाउने काममा समेत तराईका मजदुर भेटिन्छन् । पहाडका कामदारहरु भने मधेशका कामदारको संख्याको तुलनामा केहि मात्र रहेका छन् । हाल गोरखामा करिब चार हजारको हाराहारीमा तराईका मजदूरले काम गरिरहेका छन् ।
भूकम्प पछिको पुननिर्माणमा पनि अधिकांश कामदार मधेदी रहेका छन् । ‘तराईका मजदुर विहानदेखि बेलुकासम्म काम गर्छन, निर्माण ब्यवसायी चन्दनबाबु खत्री भन्छन् ‘उनीहरूको काम रहरलाग्दो हुने र कामसमेत छिटो सम्पन्न हुने भएकाले निर्माण व्यवसायीको रोजाइमा तराई मूलका कामदार रहेका छन् ।’ दैनिक हजारदेखि १५ सयसम्म कमाई हुने र भत्ता तथा ओभरटाइम पनि पाउने भएपछि तराई मूलका नागरिक निरन्तर काममा लागिरहने निर्माण व्यवसायीको भनाइ छ । पछिल्लो समयमा गोरखाका अन्य विभिन्न संरचनाहरु निर्माणमा सुर्खेत, बाजुरा लगायतका जिल्लाका पहाडी क्षेत्रबाट पनि कामदारहरु गोरखा आउने गरेको खत्रीले बताए ।
राष्टिूय गौरवका आयोजनादेखि सडक, पुल, ठूलाठूला संरचना निर्माणलगायतका क्षेत्रमा तराई मूलका कामदार धेरै रहेका छन् । गोरखामा पनि निर्माणको अधिकांश काममा तराई मुलका कामदारहरु रहेको निर्माण ब्यवसायी संघ गोरखाले जनाएको छ । मधेशका कामदारहरु गोरखाको तल्लो क्षेत्र देखी उच्च पहाडी क्षेत्रहरुमा समेत काम गर्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्