
नौ बर्षदेखि गाईखुरमा उपस्वास्थ्यचौकी
२०६६ सालमा नेपाल सरकारले पूर्वाधार थप गरी सबै उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नती गरे पनि गोरखाको गाईखुरमा भने अहिलेसम्म पनि उपस्वास्थ्यचौकी नै रहेको छ । नाम सिफारिस गर्दा जिल्ला जनस्वास्थ्य कार्यालयले नाम छुटाएकाले गाईखुर उपस्वास्थ्यचौकीे स्तरउन्नती हुन नसकेको हो । गोरखाका ६६ वटा उपस्वास्थ्यचौकीमध्य नौ बर्षअघि गाईखुर बाहेक सबै स्वास्थ्यचौकीमा स्तरोन्नती भएका छन् ।
‘२०६६ सालमा नेपाल सरकारले सबै उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकी घोषणा गरेको थियो । गोरखाको पनि सबै उपस्वास्थ्य चौकीको नाम माग हुँदा यहाँबाट नाम सिफारिस गर्दा लापु उपस्वास्थ्यचौकीको नाम दोहोरिएछ, गाईखुर उपस्वास्थ्यचौकीको नाम छुटेछ’, जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नानीबाबु दानीले भने, ‘पछि सच्याउन धेरै पहल भयो । तर सच्याउनै सकिएन ।’ कर्मचारी, नेता, मन्त्री सबैले पहल गर्दा पनि नाम सच्याउन नसकिएको उनको भनाइ छ । ‘पुरानै मन्त्रीमण्डलको निर्णय अनुसार स्तर परिवर्तन गर्न सकिन्छ होला भन्ने लागेको थियो, तर सबैले धेरै प्रयास गर्दा पनि सकिएन’, दानीले भने ।
स्वास्थ्यचौकीमा एक हेल्थ असिस्टेण्ट, दुई अहेब, दुई अनमि र एक कार्यालय सहयोगी रहने व्यबस्था छ । उपस्वास्थ्यचौकीमा भने एक अहेब, एक अनमि र एक कार्यालय सहयोगी मात्र रहन्छन् । उपस्वास्थ्यचौकीमा प्रसुतीकेन्द्रको पनि व्यबस्था हुदैन । ‘स्तरोन्नती नहुँदा गाईखुर उपस्वास्थ्यचौकी केही सुविधाहरुबाट वञ्चित भएको छ’, वडा अध्यक्ष गोविन्द बराकोटीले भने, ‘हामीले आफ्नो ठाउँबाट जति प्रयास गर्दा पनि स्तरोन्नती गर्न सकेनौं ।’
सामान्य त्रुटी सच्याउन नसक्दा गाईखुरका सेवाग्राहीले लामो समयदेखि समस्या भोगिरहनु परेको स्वास्थ्य सेवा बिभागका महानिर्देशक गुणराज लोहनीले स्वीकार गरे । ‘देशभर यस्तो समस्या नौ ठाउँमा रहेको हामीले पाएका छौं’, महानिर्देशक लोहनीले भने, ‘हामी यसलाई सच्याउने प्रयासमै छौं । छिट्टै सच्चिनेछ ।’




