
नयाँ पर्यटन गन्तब्यको खोजी
लार्केपास, चुमभ्याली ट्रेकिङ र रुवीनाला पासपछि गोरखामा नयाँ पर्यटन गन्तव्यको खोजी गरिएको छ । गोरखा, धादिङ र रसुवाको सीमानामा रहेको गणेश हिमाल पुग्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो ।
पर्यटन विकास गर्ने धार्चे गाउँपालिका वडा नं. १ को कार्यक्रम अनुसार पर्यटन पदमार्गको खोजी गरिएको पदमार्ग खोजी टोलीका साने गुरुङले जानकारी दिए । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका गुरुङ नेतृत्वको टोलीले एकसाता समय खर्च गरी यारुबगरदेखि गणेश हिमाल आधारशिविरसम्मको पदमार्गको प्रारम्भिक सर्भेक्षण गरेर फर्केको छ ।
सरकारले गणेश हिमाल आरोहणको अनुमति दिएको छैन । ‘आरोहणको अनुमतिका लागि पनि प्रयास गर्छौ, बेसक्याम्प सम्मको पदयात्राका लागि पदमार्ग बनाउने उद्देश्य हो’, गुरुङले भने, ‘नयाँ पदमार्ग पर्यटकको रोजाइमा पर्ने हुनाले यहाँको पर्यटन विकास हुनसक्ने धेरै सम्भावना छ ।’
मनास्लु पर्यटन पदमार्गको यारु बगर बाट सो पदयात्रा सुरु हुन्छ । यारुबगरबाट गणेश हिमालसम्म चार दिनको पदयात्रा हुनसक्ने उनले अनुमान गरेका छन् । ‘अहिलेसम्म गोठालाहरु मात्र हिड्ने भएकाले बाटो धेरै जोखिम छ’, गुरुङले भने, ‘करिब २० किलोमिटर जति टूयाक खोल्नुपर्छ । तीन ठाउँमा खानेपानीको धारा बनाइदिनुपर्छ । चार ठाउँमा पुल बनाउनु पर्छ ।’ मानवबस्ती बिहिन ठाउँ भएकलो केही ठाउँमा भरियाघर पनि बनाउनु पर्ने आवश्यकता उनले औल्याएका छन् ।
दोभानखोला, धोवीखोला, हिछाम्प खर्क र कालेखर्कमा काठेपुल बनाउनुपर्ने, उलेखर्कमा भ¥याङ बनाउनु पर्ने पदमार्ग खोजी गर्न गएको टोलीले ठम्याएको छ । त्यस्तै हुलचुक, जोङ्करडाँडा र थाङमाङ डाँडामा खानेपानीको धारा निर्माण गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । त्यस्तै गणेशहिमाल आधारशिविरमा खानेपानी, सौचालय र भरियाघर निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
सो पर्यटन पदमार्गमा पर्यटकले यार्सागुम्बा लगायतका धेरै जडिबुटी देख्न सक्नेछन् । ‘त्यो रुटमा कुट्की, निर्मसी, जटामसी, पाँचऔंले, पदमचल, वनलसुन, चिराइतो, सिलटिमुर, भीरमौरी, सिलाजित, भालेबिख, जालीच्याऊ, पानी अमला, सुनाखरी जस्ता जडिबुटी देख्न सकिन्छ’ गुरुङले भने, ‘बाटोबाट कस्तुरी, हिमालीभालु, हिउँचितुवा, ब्वाँसो, थार, घोरल, मृग, स्याल, वनबिरालु, लङ्गुर, रातो बाँदर, डाँफे, मुनाल, कालिज जस्ता पशुपंक्षी पनि देख्न सकिन्छ ।’ अहिलेसम्म कोही पर्यटक नहिडेकाले यसको महत्व रहेको उनको भनाइ छ ।
सो पदयात्राका लागि काठमाडौं देखि १० दिनको समय लाग्नसक्ने अनुमान गरिएको छ ।




