
कहाँ बस्लान् अब लाप्राकबासी ?
२०७२ सालको विनाशकारी भूकम्पले लाप्राकको ६१६ घरधुरी तहसनहस बनायो । गाउँभित्रै र वरिपरि पनि पहिरो गएपछि सरकारले लाप्राकलाई स्थानान्तरण गर्नुपर्नेको सूचीमा राख्यो । गाउँलेहरु नजिकको खुल्ला ठाउँ गुप्सीपाखामा टहरो बनाएर बस्न थाले । धेरै मिहिनेतपछि सरकारले लाप्राकीलाई गुप्सीपाखामा नै स्थानान्तरण गर्न सो ठाउँको १८.३२ हेक्टर क्षेत्रफल जग्गा उपलब्ध गराउने निर्णय ग¥यो । गैरआबासीय नेपाली संघ(एनआरएनए)ले लाप्राकीलाई पाँचसय ७३ वटा घर बनाइदिने निर्णय ग¥यो ।
भूकम्प गएको तीनबर्ष बितिसक्दा पनि एनआरएनएले बस्ती तयार गर्न नसक्दा लाप्राकका बासिन्दा अहिले सरकारले ‘रेडजोन’ घोषणा गरेको पुरानै गाउँमा घर बनाएर बस्न थालिसकेका छन् । भत्किएको घर उठाइसकेकाले अब पुरानो घर नछाड्ने लाप्राकीहरु बताउँछन् । ‘हामी खेती गरेर खाने मान्छे, खेतीपाती सबै तल्लो गाउँ नजिकै छ । माथि त जाँदैनौं’ स्थानीय सूर्य गुरुङ भन्छन् ‘दिनभरि बारीमा काम गरेर भारी बोकेर गुप्सी त पुग्दा रात पर्छ । कहिले भात पकाउने खाने ? बिहान काम गर्न बारीमा जान पनि टाढा पर्छ त्यसैले हामी त जाँदैनौं ।’ घर पाएपछि बर्खाको बेलाचाहिँ माथि बाध्य हुन सक्ने उनले बताए । ‘हिउँदमा त हिउँ परेर माथि बस्न कोही पनि सक्दैनन्’ उनले भने । भूकम्प गएको बेला लाप्राकीहरु गुप्सीमा टहरो हालेर बसेका थिए । त्यहाँ एनआरएनएले घर बनाइदिने भनेर फेरि बास उठाइदिएपछि फेरि त्यहाँ फर्केर जान गाउँलेले असजिलो मानेका छन् । ‘अब माथि बस्ने भनेर सबैजनाले टहरो बनाएर बसेका थिए । टहरो भत्काएर फेरि गाउँतिरै धपाइदिए । झिटिझाम्टो बोकेर फेरि तलै आयो’, अर्का स्थानीय चम्सिङ गुरुङ भन्छन्, ‘यहाँ आएको पनि दुई बर्ष भइसक्यो । अहिलेसम्म टहरोमा बसिरहन त कोही पनि सक्दैन । सबैले सानो ठूलो घर बनाइसके । अब सबै यतै बस्छन् । कोही पनि जाँदैनन् ।’ गाउँमा घर बनाउन सरकारको अनुदान भने उनीहरुले लिएका छैनन् । ‘यस्तै घर बनाउन अरु ठाउँमा सरकारले पैसा दिएको छ, हामीले चाहिँ कत्तिपनि पैसा नलिई यत्तिको घर बनाएका छौं’, उनले भने । एनआरएनले घर बनाउन लामो समय लगाएकाले गाउँलेहरुले पुरानो गाउँमै घर बनाएर बस्न बाध्य बनाएको गाउँलेहरुको भनाइ छ ।
गुप्सीको एनआरएन भिलेजमा परिबार नगए पनि कसैका छोराहरु छुट्टिएर जानसक्ने अर्का स्थानीय सन्तबीर गुरुङको भनाइ छ । ‘५०, ६० बर्ष कटेका त गुप्सीमा कोही पनि जाँदैनन्’ उनी भन्छन् ‘एनआरएनले बनाएको घर सानो पनि भयो । परिबार बस्ने ठाउँ पनि छैन । कसैको छोराहरु छुट्एिर बस्नचाहिँ जालान् ।’ पुरानो गाउँमा पहिलेको जस्तै ठूलो घर बनाइसकेको, खानेपानी, ढलको व्यबस्था गरिसकेकाले अबै यहीं बस्ने उनको भनाइ छ । मर्ने बेला भएकाले जन्मेको थातथलो नछोड्ने अर्का पुरबहादुर गुरुङ बताउँछन् । ‘अब एकैचोटी डाँडामा जाने, गुप्सीमा त नजाने’ उनी भन्छन् ‘गुप्सीमा चिहानडाँडा पनि छैन । मरेपछि फर्काएर यहींको चिहानडाँडामा ल्याउनु पर्छ ।’ सर्बसाधारणको मतसर्भेक्षण नगरी, जनताको भावना नबुझी गुप्सीमा घर बनाइएको अर्का स्थानीयको भनाइ छ । ‘एनआरएनले जनताको चाहना बुझेर त्यहाँ बनाएको हो र ? नेताले जे भन्यो, त्यही सुनेर बनाएको हो’ कसमान गुरुङ भन्छन् ‘एनआरएनका मान्छेहरु आउँछन् । नेताहरु भेट्छन्, जान्छन् । जनताको मनको कुरा बुझेकै छैनन् । त्यो ठाउँमा हाम्रो पालामा हैन, छोराछोरीको पालामा चाहिँ बस्लान् ।’ २०५६ सालमा ठूलो पहिरो गएकाले त्यतिबेलै गाउँलाई अन्यत्रै पुनस्थापित गर्नुपर्ने सरकारले निष्कर्ष निकालेको थियो । तर यो बीस बर्षको अवधिमा वृक्षरोपण गरेर जमिन बलियो भइसकेको गाउँलेको दाबी छ । लाप्राक गाउँलाई बस्न अयोग्य घोषणा गरिसकेकाले सरकारले विकास निर्माणको पूर्वाधार भने बनाएको छैन । स्वास्थ्यचौकी, विद्यालय लगायतका संरचना गुप्सीपाखा नजिकै निर्माण गरिएको छ । सरकारको योजना अनुसार गाउँलेहरु गुप्सीमा जानु नै पर्ने अर्का स्थानीय मार्सिङ गुरुङको भनाइ छ । ‘सरकारले दुईदुई फेरसम्म लाप्राकको बस्ती अयोग्य भनिरहँदा पनि अझै यहीँ बस्छन् भने हामी के गर्न सकिन्छ र ?’ उनी भन्छन् ‘भीरमा जाने गाईलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।’
गुप्सीमा अहिलेसम्म जम्मा ६९ वटा घरको छाना तयार भएको छ । ३१ वटा घर लेन्टिलको तहमा पुगेको, १६५ वटा घर सिल्डको तहमा, २८ वटा घरको गारो लगाउने काम भइरहेको आवास निर्माणका लागि खटिएका नेपाली सेनाका मेजर राजन ढकालले जनाए ।




