
लमजुङमा निषेधाज्ञा हट्यो
लमजुङमा प्रशासनले दुई सातादेखि जारी गरेको निषेधाज्ञा बुधबारबाट हटाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले ५ वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई हटाएको हो । सबै पसलहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
प्रशासनले पछिल्लो समय भदौ १७ गते साँझ ६ बजेबाट भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । यसअघि भदौ १० गतेदेखि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी गरेकोमा कोरोना संक्रमण बढ्दै गएपछि थप १ साता निषेधाज्ञा थप गरेको थियो ।
बजार क्षेत्र र कोरोना संक्रमित क्षेत्रमा निषेधाज्ञा जारी गरेकोमा पछिल्लो समय कोरोना संक्रमित कम हुन थालेपछि निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
निषेधाज्ञा हटेपनि अनुमति प्राप्त साधन बाहेक कुनै पनि प्रकारको सार्वजनिक वा निजी यात्रु तथा मालबाहक सवारी साधन सञ्चालन गर्न भने नपाइने भएको छ । एम्बुलेन्स, बिरामी बाकेको गाडी, निर्माण सामाग्री, ढुवानीका साधन, पशुपंक्षीका दाना बोकेको गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधनमात्रै प्रयोग गर्न दिइने भएको छ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अनिवार्य कार्यालयको परिचयपत्र सहित बिहान ९ बजेदेखि १० बजेसम्म र साँझ साढे ४ बजेदेखि ६ बजेसम्म सवारी साधन कार्यालय आउने जाने प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने छ ।




