
भूकम्पमा मृत्यू भएकाको नाममा धार्चेमा गोठालापार्क
२०७२ सालको भूकम्पमा परी मृत्यू भएका गोठालाहरुको स्मृतिमा धार्चे गाउँपालिकाले गोठाला पार्क बनाउने भएको छ । गाईबस्तु चलाउने क्रममा भूकम्पका कारण मृत्यू भएका गोठालाहरुको स्मृतिमा गोठाला पार्क बनाउन लागिएको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
लम्सीबोटभन्दा केही माथिको देउरालीडाँडामा निर्माण हुने गोठालापार्कमा मृतक गोठालाहरुको शालिक पनि बनाउने उनले बताए ।
‘भूकम्प जाँदा जंगलमा गोठालो गएका र भूकम्पसंगै आएको पहिरोमा पुरिएर मृत्यू भएका गोठालाहरुको सम्झनामा गोठालो पार्क निर्माण गर्न लागेका छौं’, अध्यक्ष गुरुङले भने, ‘मृतकहरु कसैको शव भेटिएको छ, कसैको अहिलेसम्म पनि शव भेटिएको छैन ।
उनीहरु सबैको सम्मानमा पार्कमा शालिक पनि राख्नेछौँ ।’ गोठालो पार्क निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच लाख रुपैयाँ पनि प्रदान गर्ने आश्वासन दिएको उनले बताए ।
गोठालो पार्क निर्माणका लागि प्रदेश सरकारले तीनलाख रुपैयाँ दिइसकेको छ । ‘गाउँपालिकाले पनि दुई लाख रुपैयाँ बिनियोजन गरेको छ’, उनले भने, ‘यो रकमले जमिनको सतह सम्याउने, धारा र सौचालय निर्माण गर्ने काम भएको छ ।’
धार्चे गाउँपालिकाको प्रवेशद्वार भकारी चौताराबाट चुङकङ(भिरकोट) हुदै देउरालीडाँडासम्म इपिसेण्टर ट्रेल नामको पदमार्ग पनि बनाउने काम सुरु भएको छ । ‘सो पदमार्गका लागि युएनडिपी र पर्यटन बोर्डले पनि सहयोग गरेको छ’, अध्यक्ष गुरुङले भने, ‘युएनडिपीबाट १३ लाख र पर्यटन बोर्डबाट १७ लाख गरी ३० लाख रुपैयाँ प्राप्त भएको छ ।
त्यसको सम्झौता पनि आज(मंगलबार) भएको छ । सोही रकमबाट भूकम्पको खास केन्द्रविन्दू चुङकङ(भीरकोट)मा भूकम्पको केन्द्रविन्दू भनेर ठूलो होडिङबोर्ड पनि बनाइन्छ ।’ सम्झौता भइसकेकाले अब काम छिट्टै सुरु हुने उनले बताए ।
सो भूकम्पमा परी यमगाउँका मात्र कान्छी गुरुङ, पुतबहादुर गुरुङ, छाल्नी गुरुङ, सुनबहादुर गुरुङ, करबहादुर गुरुङ, अस्मिता गुरुङ, बिमाया गुरुङ, वुद्धिमान गुरुङ र कान्छी गुरुङ गरी नौ जना गोठालाको मृत्यू भएको सो गाउँका साने गुरुङले जानकारी दिए । लप्सीबोट, लापु, खानीगाउँका गोठालाहरु पनि सो भूकम्पमा परी मृत्यू भएको उनले बताए ।




