| शनिबार, कार्तिक २८, २०८३

पूर्वाधार कार्यालयबाटै यातायात सेवा सुरु

दराैँदी समाचारदाताः पूर्वाधार बिकास कार्यालयबाट यातायात सेवा कार्यालय गोरखाको सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारले चालु वर्षदेखि गोरखामा पूर्वाधार र यातायात सेवा कार्यालय स्थापना गरेर सेवा सुरु गरेको हो ।

‘पटके कर, रुट पर्मिट, सवारी साधनको राजस्व दाखिला, बिलबुक नविकरण लगायतका सबै काम हुन्छ’ कार्यालयका प्रमुख दयाराम अधिकारीले भने । लाईसेन्स नबिकरण सेवा भने अहिले छैन । सफ्टवेयरमा राख्नुपर्ने भएकाले लाईसेन्स नबिकरण तत्काल गर्न नसकिएको उनले बताए ।

यस अघि गोरखाका मानिस यातायातको सेवा लिन डुम्रे वा पोखरा जानुपर्ने बाध्यता थियो । अब भने यो बाध्यता हटेको छ । डुम्रेमा रहेको यातयात कार्यालय दमौली सार्ने र सबै जिल्लामा एउटा एउटा कार्यालय राख्ने योजनामा प्रदेश सरकार रहेको हो ।
गोरखामा कार्यालय स्थापना भएपछि सर्वसाधारणको खर्च र समय भने बचत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्