
घरघरमा दलाई लामा
शिव उप्रेतीः स्वतन्त्र तिब्बतको नाममा नेपालमा खम्पा बिद्रोहीको गतिविधि बढेपछि दलाई लामाको गतिविधिमाथि नेपालमा प्रतिबन्ध लगाइयो । तर उत्तरी गोरखाका चुम तथा नुब्री उपत्यकाका घरघरमा तत्कालीन तिब्बती सम्राट तथा धर्मगुरु दलाई लामाको तस्वीर घरघरमा देख्न सकिन्छ ।
अरुको जस्तै चुमनुब्री गाउँपालिका ७ लेरुका साङ्गे दोर्जेको मुख्य कोठामा काठका ठूला र्याक छन् । चप्रा पालिसले टिलिक्क पारिएका सुन्दर र्याकको पहिलो पंक्तिमा दलाई लामाको फोटो छ । त्यसपछि प्रिय सन्तानका फोटाहरु छन् ।
त्यसमाथिको पंक्तिमा धर्मग्रन्थहरु, अनि लस्करै निङ्मा, कक्यू, गेलुप लामा गुरुहरुको तस्वीर, त्यस्तै कर्मापा, मिलारेप्पा, पद्मसम्भव लगायतका धर्मगुरु, बिभिन्न गोन्पाका रिन्पोछे, खेन्पोहरुको तस्वीर छन् ।
सोही वडा अन्तर्गत नीलेका प्रमुख लामा हिसे घ्याम्जोले पनि सबैभन्दा महत्वपूणर् ठाउँमा दलाई लामाकै तस्वीर सजाएका छन् । सँगसंगै अरु धर्मगुरुहरु, धर्मग्रन्थ, धार्मिक कार्यमा प्रयोग हुने बिभिन्न भाँडाकुँडाहरु, धूपदीप पनि सजाइएका छन् ।
यी जस्तै हिमालपारिका सबै घरहरुमा दलाइ लामाको तस्वीर मुख्य प्राथमिकताका साथ राखिएको हुन्छ । वुद्धमार्गीमध्य पनि विशेषगरी गेलुप समुहले सर्वोच्च धर्म गुरुको रुपमा दलाइ लामाको तस्वीर घरमा सजाउने स्थानीयबासी बताउँछन् ।
चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४, ५, ६ र ७ का गाउँहरुमा सतप्रतिशत वुद्ध धर्मावलम्बीहरु छन् । उनीहरु चौधौँ औतारी लामागुरुको रुपमा दलाई लामाको पूजा गर्छन् ।
‘सबैको घरको सबैभन्दा मुख्य ठाउँमा दलाई लामाको तस्वीर सजाउने हाम्रो परापूर्व कालदेखिको चलन हो’, साङ्गे दोर्जे भन्छन्, ‘दिनदिनै दलाई लामा र त्यहाँ रहेका सबै देवताहरु, धर्मगुरुहरु र धर्मग्रन्थहरुलाई धुप बालेर र वत्ति बालेर पूजा गर्ने चलन छ ।’
विशेषगरी जुलाइ महिनाको छ गते चौधौँ दलाई लामा(ल्हामो ठोण्डुप)को पूजा गरेर मनाइने उनले बताए । ‘राजा पनि हो, गुरु पनि हो । हामी सबैको सर्वमान्य गुरु हो’, उनी भन्छन्, ‘तिब्बती क्यालेण्डरअनुसार हामी उहाँको जन्मोत्सव सामुहिक रुपमा पनि मनाइन्छ, घरघरमा पनि मनाइन्छ । धेरैजसोचाहिँ घरघरमा उहाँको तस्वीरमा खाता ओढाउने, ढोग्ने, वत्ति बाल्ने, दीर्घायूको कामना गर्ने, पाठ गर्ने गरेर मनाउँछौं ।’
८५ बर्षीय दलाई लामा हाल भारतको धर्मशालामा छन् ।
खम्पा बिद्रोही प्रयोग गरेर तिब्बतमा सशस्त्र द्वन्द्व मच्चाएको भन्दै चीन सरकारको आग्रहमा नेपालमा दलाइ लामाको गतिविधि प्रतिवन्धित छ । तर हिमाली भेगका बासिन्दा भने उनलाई सर्वोच्च धर्मगुरुको रुपमा मान्ने गर्छन् । विशेष पूजाको अवसर पारेर उनको दर्शन गर्न सो भेगबाट धर्मशाला जानेहरुको लर्कन लाग्ने चुम गोन्पाका प्रमुख लामा पासाङ बताउँछन् ।
चुमनुब्री गाउँपालिकाका सातवटा वडामध्य वडा नं. ३ सिर्दिबास र वडा नं. ५ बिहीमा कतिपय हिन्दू, कतिपय क्रिश्चियन धर्मावलम्बी पनि छन् भने बाँकी सबै वडामा वुद्ध धर्मावलम्बीहरुको बसोबास छ । सो भेगमा तिब्बती भाषा, तिब्बती कला, सँस्कृतिहरु प्रचलित छन् ।




