| शनिबार, कार्तिक २८, २०८३

लघुवित्तले बनायो धेरैको उठिबास

घटना नं. १ ः लघुवित्तको किस्ता तिर्दातिर्दा हार खाएपछि पालुङ्टार नगरपालिका १० पिपलटारीका भक्तबहादुर बिकले जन्मे हुर्केको थातथलो छाडे । उनी कहाँ गए गाउँलेलाई थाहा छैन । उनी बस्ने गरेको घर वनमासाको घारीभित्र डुबेकोचाहिँ गाउँलेलाई थाह छ । भूकम्पले भत्किएको घर बनाउन सरकारले दिएको अनुदानले नपुग्ने भएपछि उनले लघुवित्तसँग कर्जा लिएका थिए । ‘न घर बनाउन सके, न किस्ता तिर्न सके’, नगरपालिकाका वडा सदस्य बालकृष्ण देवकोटा भन्छन्, ‘अनुदान लिएर बनाउन लागेको घर पनि डिपिसी मात्र गरेर छाडेका छन् । बिचराको उठिबास भयो ।’ धेरै लघुवित्तबाट कर्जा लिएका उनी अहिले कता पुगेका छन्, कसैले बताउन सक्दैनन् ।

घटना नं. २ ः पालुङ्टार नगरपालिका ९ सेराबजारमा सिलाइकटाइ व्यवसाय गरेर बसेकी बिन्दा परियारले पनि लघुवित्तको कर्जा तिर्न नसकेपछि घर छोडिन् । तीन भन्दा धेरै लघुवित्तबाट कर्जा लिएको तर तिर्न नसकेपछि पसलै छोडेर गएको वडाअध्यक्ष भेजराज पाण्डेले बताए । ‘घरभाडा पनि नतिरी गइन् । पछि मेरो रोहोबरमा प्रहरीले मुचुल्का गरेर पसल फुटाएर सामान निकालेको हो ।’ हाल उनी चितवनमा छिन् भन्नेचाहिँ सुनेको तर नदेखेको छिमेकी बताउँछन् ।

घटना नं. ३ ः लघुवित्तको कर्जा तिर्न नसकेपछि पालुङ्टार १० का दिलबहादुर परियारको पनि उठिबास लागेको वडा सदस्य देवकोटाले बताए । उनको पनि फेन्सी पसल थियो । पसलका कपडाहरु अलपत्र पारेर दुईबर्ष अघिदेखि गाउँघर छाडेको उनले बताए ।

घटना नं. ४ ः लघुवित्तकै ऋणले पिप्ले बँगैचाका बाबुराम परियारको परिबारलाई बल्लीपाठ बनायो । उनी अहिले भारत पसेका छिमेकी सन्त बहादुर परियार बताउँछन् । ‘ऋण लिए, तिर्न सकेनन् अनि नभागेर के गर्ने त ?’ गुरुङ भन्छन्, ‘कुखुरा पाल्ने, बाख्रा पाल्ने भनेर रिन ल्याउँछन् । अनि घरखर्च गरेरै सिध्याउँछन् । तिर्ने बाटो केही हुन्न अनि भाग्छन् ।’ लघुवित्तको ऋणले सोही ठाउँका मदन परियार पनि घर तीनबर्षअघि नै काठमाडौँतिर भासिएको उनले बताए ।

घटना नं. ५ ः घर बनाउन सरकारले दिएको अनुदानले अपुग भएपछि गाइने दर्जी र गने दर्जीले तुरतुरेको आशा लघुवित्तबाट आठ लाख रुपैयाँ कर्जा लिए ।
तर कर्जा तिर्न नसक्ने भएपछि अहिले लघुवित्तले उनीहरुको भएभरको सबै जग्गा लिलामी गरेको छ । ‘बैकले सत्र रोपनी जग्गा लिलाम गरेको छ’, सानुमाया दर्जी भन्छिन्, ‘दुईलाख रुपैयाँ बैना लगिसकेको छ ।’ आठ लाख ऋण लिदैमा १७ रोपनी जग्गा गुमाउनु पर्दा मर्का परेको उनले बताइन् ।
भूकम्पले घर भत्किएपछि नयाँ घर बनाउनका लागि गनेले कुखुरा पालनका लागि भनेर पाँचलाख र गाइने दर्जीले तीनलाख रुपैयाँ लिए थिए ।

‘१५, १६ किस्ता त तिरिसकियो तर अहिले लकडाउनले हाडछाला काड्यो’, इश्वरी परियारले भनिन्, ‘हामीलाई पास बुक देखाउँदैनन् । हामी घरमा पनि हिसाब राख्दैनौँ । फलानो दिनमा किस्ता तिर्ने हो भनेर मात्र थाहा छ । सानुमायाले दुईलाख जति, मैले एकलाख जति किस्ता तिरिसकियो होला ।’
‘१७ रोपनी जग्गा आठलाखमा भनेपछि त खर्लप्पै खाइहाले नि । अझै कति त तिरिसकेका छौं’, इश्वरी परियारले भनिन् ‘जायजेथा वैँकले खायो । अब हामी अधियाँडालो गरेर खाउँला ।’ लघुवित्त वैँकले टाट पल्टाएको भन्दै उनले गुनासो गरिन् ।

लघुवित्तका कारण उनीहरु जस्ता धेरै गाउँका धेरैको व्यवहार तहसनहस पारेको स्थानीय रामचन्द्र सेढाइँ बताउँछन् । ‘एउटै टोलमा यति धेरैको बास खेदिसकेको छ । अझै खोजिपस्नुपर्छ, गाउँगाउँमा यस्तो घटना धेरै छ । सजिलै ५० हजार, ६० हजार रुपैयाँ बाँड्छ । लिने पनि सजिलै लिन्छ, दिनेले पन सजिलै दिन्छ ।

सजिलै पाएको पैसा सजिलै खर्च गरेर सक्छ’, उनले भने, ‘रक्सी खाने, लुगा कपडा किन्ने गरेर घर खर्च गरेर मासिदिन्छ । सम्झौतापत्रमा भने अनुसार उसले काम गरेको छ कि छैन भनेर अनुगमन पनि छैन । सर्वसाधारण ठग्ने लघुवित्तको नीति ठिक छैन ।’ लघुवित्तले गर्दा धेरैको ‘उठिबास’ भएको पालुङ्टार नगरपालिका वडा नं. ९ का अध्यक्ष भेजराज पाण्डे बताउँछन् । अव्यवस्थित लगानी, चर्को व्याज, सामुहिक जमानी जस्ता व्यवस्था बेठिक भएको उनको तर्क छ । ‘सामुहिक जमानीमा लगानी गर्ने अवधारणा नै गलत छ’, पाण्डे भन्छन्, ‘तालि बजाएको भरमा रिन बाँड्छ ।

ताली बजाएर लिएको रिन रक्सी चुरोटमा उँडाइदिन्छन् । अन्तिममा एउटाले बेइमानी गरेपछि ताली बजाएकै भरमा निर्दोषहरु फँस्छन् ।’ आफ्नो मात्र कर्जा तिरेर ऋणमुक्त हुन्छु भन्न पनि नपाउने व्यवस्था रहेको भन्दै उनले आपत्ति जनाए ।पालुङटार ९ र १० मा डिप्रोक्स, नेष्डो, छिमेकी, आशा, स्वाबलम्बन, निर्धन, सिर्जना लगायतका लघुवित्त वैँकले लगानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्