
कालोपत्रे सडकमा फस्छ गाडी
दराैँदी समाचारदाताः गोरखा-आरुघाट सडक खण्डको बराह-आहाले-ढुङ्गागाढे सडक कालोपत्रे भएको छ वर्ष भयो तर अहिले कालोपत्रे कहाँ छ, पत्ता लगाउन कठिन छ । सुरुदेखि अन्त्यसम्म सडक अहिले कच्ची सरह छ ।
पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा सडक पुगेको दुई वर्ष भयो । अहिले यही सडकमा गोरखा सदरमुकाम भएर ग्रामीण भेगमा जाने साना(ठुला सवारी दिनदिनै हिलोमा फस्छन् ।
घर अघिको सडक कालोपत्रे भयो भनेर मख्ख परेका स्थानीयको खुसी पाँच वर्ष पनि टिकेन ।
एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले काम लगाएको उक्त सडक पुन कालोपत्रे गर्ने तयारी भएको छ । साना सवारी त सडकमा परेका खाल्डोमा डुब्ने गरेको गोरखा नगरपालिका ८ बराहका बिनोद अर्यालले बताए । सडकको खाल्डा र हिलो अत्याधिक भएपछि स्थानीय मिलेर खाल्डाखुल्डी पुरेको उनले बताए ।
वर्षेनी नयाँ ट्रयाक खोल्ने, पुराना ट्रयाकमा मर्मतको नाममा करोडौँ बजेट खर्च गर्ने प्रवृत्तीले हरेक वर्षको बर्खामा यस्तो नियती भोग्नुपर्ने बाध्यता गोरखाबासीलाई छ । गोरखा सदरमुकाम हुँदै नारेश्वर जाने सडकको हबिगत पनि उस्तै छ ।
पालुङटार नगरपालिकाको खोप्लाङ, च्याङ्ली लगायत ठाउँमा सडकमा सवारी साधन फस्ने गरेको छ । नगरपालिका भित्रका कच्ची सडकका कारण कालोपत्रे सडकमा समेत क्षती पुगेको छ । भिमसेन थापा गाउँपालिकाको झिंगटे अश्राङ सडक, धावा, मसेल सडकमा गाडी गुड्न सक्ने अवस्था छैन ।
बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र जाने सडक, बारपाक सडक, सौरपानी सडकमा सहजै सवारी चल्न सक्दैन । सर्वसाधारण वडा र गाउँपालिकाको सेवा लिन जानै मुस्किल छ ।
आरुघाट गाउँपालिकाको आरु पोखरी, मान्बु, थुमी लगायत ठाउँको सडकको कन्तबिजोग छ । शहिदलखन गाउँपालिकाको बुङ्कोट, मैलुङ, बक्राङ मनकामना सडकपनि हिलाम्य छ । पहिरोले ठाउँठाउँमा सडक भत्किएको, अवरुद्ध भएका छन् । गण्डकी गाउँपालिकाको केन्द्र जाने सडक, फुजेल, दर्बुङ लगायत ठाउँमा सडकमा गरिएको ग्राबेल बगेको छ ।
अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक सम्म सडक कालोपत्रे भएपछि त्यस बाहेकका घ्याच्चोक, वलाङ, खरिबोट लगायत ठाउँमा सडकमा यात्रा गर्न सक्ने अवस्था छैन ।
यातायात ब्यवशायीले पक्की सडक धेरै ठाउँमा कच्ची भएको, ग्राबेल गरिएको ठाउँमा पनि उप्किएको, बगाएको बताएका छन् । ‘पक्की सडक कच्चीको भाडा लिएको भनेर यात्रुले गुनासो गर्ने सडक अहिले हिलाम्य भएर गाडी फसेको छ’ यातायात ब्यवशायी अन्जनबाबु खत्रीले भने ‘ब्यवशायीको जोखिमको ध्यान दिइएन, सबै सडकको हालत उस्तै छ ।’ आईतवार यता लकडाउनले सवारी नचलेपनि केहीदिन अघि गोरखाको बिभिन्न ठाउँमा सवारी साधन फसेका फोटो भिडियो सामाजिक सञ्जालमा राखेर यातायात ब्यवशायीले गुनासो गरेका थिए ।
सिरानचोक गाउँपालिकाको छोप्राक, गोहोरे, थालाजुङ लगायत ठाउँमा कच्ची सडकमा पानी जम्ने खाल्डाखुल्डी छ ।
वर्षातका बेला ग्रामिण सडक हिलाम्य हुने, पानी जम्ने, पहिरो जाने भएर गाडी चल्न नसक्ने भएपनि यी सडकमा पानी जस्तै गरी वर्षेनी बजेट बगिरहेका छन् । हरेक वर्ष टालटुल पार्ने प्रवृत्तीले स्तरीय काम हुन नसकेको गुनासो सर्वसाधारणको छ ।
धार्चे र चुमनुब्री गाउँपालिकामा सहज सडक पहुँच छैन । धार्चेको केन्द्र माछाखोला सम्म नेपाली सेनाले सडकको ट्याक खोलेपनि वर्षातका कारण अहिले पहिरो बगेकाले सोतीदेखि नै पैदल हिड्नुपर्ने अवस्था छ ।
बारपाक हुँदै लाप्राक गुम्दा जाने सडक सवारी चल्ने हालतमा छैन । चुमुनब्री गाउँपालिकालाई सडकले छोएको छैन ।




