| शनिबार, कार्तिक २८, २०८३

जंगली जनावरले घरपालुवा जनावर मारेपछि क्षतिपूर्ति माग्ने बढे, साउनयता क्षतिपूर्तिको फाइल अघि बढेन

दराैँदी समाचारदाताः सरकारले क्षतिपूर्ति दिने भएपछि जंगली जनावरले घरपालुवा जनावरलाई मार्‍यो भन्दै उजुरी गर्नेको संख्या बढेको छ । एउटा जनावरलाई मार्‍यो भने दुई/तीनवटासम्म मारेको भन्ने झुटो बिवरण प्रमाणित गरेर क्षतिपूर्ति लिने धेरै देखिएको छन् । ‘गत वर्ष हामीले क्षतिपूर्ति माग गर्ने सबैलाई सिफारिस गर्‍यौँ’, डिभिजन बन कार्यालय गोरखाका सहायक बन अधिकृत होमबहादु बल्छौँडीले भने ‘केहीले भने झुटो बिवरण पठाएको पछि थाहा भयो ।’ चालु आर्थिक वर्षदेखि भने प्रमाणिकरलाई विषेश जोड दिएको उनले बताए ।

डिभिजन बन कार्यालयमार्फत वडा कार्यालय समन्वय गरेर घटना भए नभएको, भेटेनरी अस्पतालको प्रमाणिकरण, पशुबस्तु कतिवटा क्षति भएको भन्ने यकिन गरेर मात्रै बितरण गर्ने उनले बताए । यही कारण देखाएर बन कार्यालयले चालु बर्ष पेस भएका ६० भन्दाबढि फाईल अघि बढाएको छैन । ‘केही फाईल थप अध्ययनका लागि हामीले इलाका बन पठाएका छौँ’, सहायक बन अधिकृत बल्छौँडीले भने ‘त्यहाँबाट आएपछि क्षतिपूर्ति भुक्तानीको काम अघि बढ्छ ।’ गोरखाको शहिदलखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका, गोरखा नरपालिकाको नारेश्वर लगायत ठाउँबाट पशुबस्तुमा जंगली जनावरले क्षति गरेको भन्दै उजुरी गर्ने धेरै छन् ।

पशुबस्तु जंगली जनावरले आक्रमण गर्‍यो, मार्‍यो भने स्थानीयको मुचुल्का, वडा कार्यालयको सिफारिस सहित डिभिजन बन कार्यालयमा बुझाउनुपर्छ । ईलाका बन कार्यालय मार्फत पनि बुझाउन सकिन्छ । यसरी बुझाएको फाईल प्रमाणिकरण गरेर डिभिजन बन कार्यालयले मनास्लु संरक्षण क्षेत्र आयोजनाको सम्पर्क कार्यालयमा पठाउँछ । कार्यालयले सोही अनुसार पिडित किसानलाई क्षतिपूर्ति दिन्छ । स्थानीयको मुचुल्का र वडाको सिफारिसमा सहजै क्षतिपूर्ति पाउने भएपछि मरेको भन्दा धेरै बिवरण पेश गर्ने प्रवृत्ति बढेको बल्छौँडीले बताए ।

घरपालुवा पशुबस्तु मारेको वा आक्रमणमा परेको फोटो पनि पेश गर्नुपर्ने प्रावधान छ । जंगली जनावरले खाएर वा लगेर फोटो खिच्न सम्भव नभएमा फोटो बनाएर पेश गर्ने, संबन्धित किसान बाहेक अन्यलाई थाहा नहुने भएपछि एउटाको सट्टा, दुई तीनवटा आक्रमणमा परेको दावी किसानले गर्ने गरेका छन् ।

क्षतिपूर्ति बितरण सुरु भएको वर्षको छ महिनाको सोही अवधीमा दोब्बरले माग बढेको छ । भेटेनरी अस्पताल र डिभिजन बन कार्यालयले क्षति भएको भन्दा धेरै बिवरण पेश गरेको भेटेपछि चालु वर्षदेखि कडाई गरिएको जनाएको छ ।

किसानले भने दैनिकजसो क्षतिपूर्ति कहिले आउँछ भन्दै मनास्लु संरक्षण क्षेत्रको सम्पर्क कार्यालयमा फोन गर्ने गरेको संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘जनप्रतिनिधिदेखि किसानसम्मको टेलिफोन आईरहन्छ’ उनले भने ‘क्षतिपूर्ति कहिले पाईन्छ, किन ढिला भएको भन्ने गुनासो गर्नुहुन्छ ।’ कार्यालयले बन डिभिजनबाट फाइल प्रमाणिकरण भएर आएलगत्तै भुक्तानी दिन सकिने जनाएको छ ।

एक वर्षमा क्षतिपूर्ति रु ३३ लाख ७५ हजार बितरण

आर्थिक वर्ष २०७५/७६ को माघ महिनादेखि असारसम्म छ महिनासम्म नौ लाख ३३ हजार एक सय रुपैयाँ क्षतिपूर्ति मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले बितरण गरेको थियो । ‘गत वर्ष हामीले ३३ लाख ७५ हजार बितरण गर्‍यौँ’ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने ‘अहिले क्षतिपूर्ति माग गर्नेको संख्या झन् धेरै छ ।’

गत वर्ष दुईसय ७४ घटनामा सबैभन्दा धेरै दुई सय २६ वटा बाख्रा जंगली जनावरले मारेको भन्दै किसानले क्षतिपूर्ति लिएका थिए । बोका ४८, खसी ४२, गोरु ११, गाई चार, पाडापाडी चार, भेडा तीन बाच्छा, बाच्छी तीन वटा जंगली जनावरले मारेको भन्दै किसानले राहत लिएका विश्वबाबु श्रेष्ठले बताए । मर्नेमध्य अधिकांश चितुवाको आक्रमणमा मारिएको बिवरणमा उल्लेख छ । बयस्क खसी बाख्राको हकमा १० हजार र अन्य पशुबस्तुको हकमा पनि सोही अनुपातमा कार्यालयले क्षतिपूर्ति दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्