
अझै ‘रेडजोन’ रोज्दै लाप्राकबासी ?
शिव उप्रेतीः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्प र त्यसपछिको पहिरोले ध्वस्त बनेको लाप्राक गाउँको स्थलगत अवलोकन गरे ।
स्थलगत अध्ययनपछि भूगर्भविद हरुले त्यहाँका ६१६ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने निश्कर्ष निकाले । स्थानीय सरकारको माग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण(एनआरए)को सिफारिसलाई सम्बोधन गर्दै सरकारले गुप्सीपाखाको १८.३२ हेक्टर वन क्षेत्र लाप्राकबासीलाई पुनस्थापित गर्न दिने निणर्य गर्यो ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले त्यहाँ पाँचसय ७३ घर बनाउने प्रतिवद्धता गर्यो । एनआरए, एनआरएनए र सहरी विकास मन्त्रालय बीच गुप्सीपाखामा एकीकृत बस्ती बसाल्ने सम्बन्धमा तत्काल हस्ताक्षर पनि भयो ।
सम्झौताको पाँचबर्षपछि गुप्सीमा एनआरएनएले त्यहाँ पाँचसय ७३ घरधुरी निर्माण गरेको छ । ‘गोला प्रथा’द्वारा घर बाँडफाँट पनि भइसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । तर लाप्राकका बासिन्दा जोखिम मल्दै पुरानै बस्तीमा बसिरहेका छन् ।
सित्तैमा पाएको घरको पर्वाह नगरी उनीहरुले पुरानै थलोमा लाखौं खर्चेर पुरानै शैलिका घर बनाइसकेका छन् ।
लाखौं खर्च गरेर बनाएको पुरानो घर नछाड्ने लाप्राकीहरुको अडान छ । ‘हामी खेती गरेर खाने मान्छे, खेतीपाती सबै तल्लो गाउँ नजिकै छ । माथि त जाँदैनौं’ स्थानीय सूर्य गुरुङ भन्छन् ‘दिनभरि बारीमा काम गरेर भारी बोकेर गुप्सी पुग्न हामीलाई पायक पर्दैन ।’ गुप्सीपाखा २७०० मिटर उचाइमा रहेको छ । यहाँ करिब दुई महिना हिमपात हुन्छ । ‘हिउँदमा त हिउँ परेर गुप्सीमा बस्न कोही पनि सक्दैनन्’ उनले भने । भूकम्पले सबै घर माटोमा मिलेपछि लाप्राकका बासिन्दा गुप्सीपाखामा टहरो हालेर बसेका थिए । एनआरएनएले एकबर्षभित्र नयाँ घर बनाइदिने आश्वासन दिएर गुप्सीबाट हटायो तर पाँचबर्षसम्म घर निर्माण सम्पन्न नगरेपछि स्थानीयबासीले धमाधम आफ्नो घर आफै बनाएर बसेका अर्का स्थानीय चम्सिङ गुरुङ बताउँछन् । ‘एनआरएनलाई पर्खिँदा पर्खिदै बर्षौँ बित्यो । अहिलेसम्म टहरोमा बसिरहन त कोही पनि सक्दैन त्यसैले सबैले सानो ठूलो घर बनाइसके’, उनी भन्छन्, ‘अब सबै यतै बस्छन् । कोही पनि जाँदैनन् ।’ एनआरएनले घर बनाउन लामो समय लगाएकाले गाउँलेहरुले पुरानो गाउँमै घर बनाएर बस्न बाध्य बनाएको गाउँलेहरुको भनाइ छ ।
गुप्सी पाखामा निर्माण भएको घर सानो भएको र व्यवहारिक नभएको अर्का स्थानीय सन्तवीर गुरुङ बताउँछन् । साथै हिमपात हुने भएकाले बूढापाखा र बालबच्चा त्यहाँ बस्न कठिन हुने उनको भनाइ छ । ‘६०, ७० बर्ष कटेका बूढापाका गुप्सीमा बस्न जाँदैनन्’ उनी भन्छन् ‘एनआरएनले बनाएको घर राखनधरनका लागि सानो पनि भयो । सबै परिबार अट्ने खालको पनि छैन । कसैको छोराहरु छुट्एिर बस्नचाहिँ जालान् ।’ पुरानो गाउँमा पहिलेको जस्तै ठूलो घर बनाइसकेको, खानेपानी, ढलको व्यबस्था गरिसकेकाले अबै यहीं बस्ने उनको भनाइ छ । मर्ने बेला भएकाले जन्मेको थातथलो नछोड्ने अर्का स्थानीय पुरबहादुर गुरुङ बताउँछन् । ‘अब एकैचोटी (चिहान)डाँडामा जाने, गुप्सीमा त नजाने’ उनी भन्छन् ‘गुप्सीमा चिहानडाँडा पनि छैन । मरेपछि फर्काएर यहींको चिहानडाँडामा ल्याउनु पर्छ ।’ लाप्राक गाउँलाई बस्न अयोग्य घोषणा गरिसकेकाले सरकारले विकास निर्माणको पूर्वाधार भने बनाएको छैन । स्वास्थ्यचौकी, विद्यालय लगायतका संरचना गुप्सीपाखा नजिकै निर्माण गरिएको छ ।
सरकारको योजना अनुसार गाउँलेहरु गुप्सीमा जानु नै पर्ने स्थानीय मार्सिङ गुरुङको भनाइ छ । ‘सरकारले दुईदुई फेरसम्म लाप्राकको बस्ती बस्न अयोग्य भनिरहँदा पनि अझै यहीँ बस्छन् भने हामी के गर्न सकिन्छ र ?’ उनी भन्छन् ‘भीरमा जाने गाईलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।’ निरन्तर पानी पर्न र पहिरोजान थालेपछि गाउँलेहरु सर्छौँ, भन्ने, तर झरी पार्न छाडेपछि यहीँ बस्छौं भन्ने प्रवृत्ति रहेको स्थानीय किसान गुरुङको तर्क छ । गुप्सीमा पाँचसय ७३ वटा घर निर्माण भइसकेको छ । सौचालय भने सबै घरमा निर्माण नभइसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘सौचालय पनि सबै घरमा निर्माण भइसकेको छैन । झ्यालढोका पनि कमजोर भयो भन्ने गाउँलेको गुनासो छ’, उनले भने, ‘सबै घरमा सौचालय बनेपछि र झ्यालढोका पक्की बनिसकेपछि सबै जना सर्छन् ।’ अहिलेसम्म १५ घर सरिसकेको उनले बताए ।




