
अजिरकोटका पहिरो पिडितलाई सिडिओले गाउँमै पुगेर राहत बाँडे
अजिरकोट गाउँपालिका १ का पहिरो पिडितलाई गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले गाउँमै पुगेर राहत बितरण गरेका छन् ।
लगातारको वर्षात पछिको पहिरोमा घर बगेका धनसिरा साउनेपानीका आसमाया गुरुङ, गणेश गुरुङ, लक्ष्मण गुरुङ, हजराम गुरुङ, पूर्णबहादुर गुरुङको परिवारलाई प्रति परिवार १५ हजारका दरले राहत दिइएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
‘घर सबै पहिरोले लगेको छ, उहाँहरु बस्न मिल्ने अवस्था छैन’ उनले भने ‘तत्कालका लागि केही सहयोग पुगोस् भनेर राहत दिएका हौँ ।’ बिस्थापित यी पाँच परिवार घर छाडेर अन्यत्र बसेका छन् ।
जिल्ला बिपद् ब्यवस्थापन समितिसँग भएको रकम बिपद्का कारण समस्या परेकाहरुलाई सहयोग गरिएको उनले बताए ।
सोही क्रममा गोरखाको अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका क्षेत्रको अवलोकन र बस्तुस्थितीको बारेमा अवलोकन गरिएको प्रजिअ भट्टराईले बताए ।
टोलीमा सहायक प्रजिअ देवी पाण्डे, प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङ लगायत सहभागी थिए ।




