
अवैध रुपमा नदीजन्य पदार्थ ओसार पोसार गर्ने सात वटा ट्याक्टर कारवाहीमा
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसार पोसार गर्ने सातवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखाको पालुङटार नगरपालिका १ बाट ग १ त ३७९८, गोरखा नगरपालिका ११ बाट ग १ त ३८५९ र ग १ त ३९१६ नम्बरको ट्याक्टरलाई बालुवा र ढुङ्गा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चार दिन भित्र सातवटा ट्याक्टरलाई नदीजन्य पदार्थ सहित पक्राउ गरेर कारवाहीका लागि संम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए । यस्तै प्रहरीले ना ६ त ५८७०, लु ३ त ६४१२, ग १ त ४११३ र ग १ त ४६१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
पछिल्लो सयम दरौँदी नदी आसपासबाट अवैध रुपमा रातको समयमा नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको गुनासोपछि चेकजाँचलाई तिब्रता दिइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका चौकीलाई रातको समयमा निग्रानी गर्न निर्देशन गरेको एसपी गुरुङले बताए ।




