
बूढीगण्डकी कार्यालयले काम गरेन, हल्ला धेरै गर्योः सरोकार समिति
दराैँदी समाचारदाताः राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणमा अझै ४० प्रतिशत काम बाँकी रहेको छ । आयोजना कार्यालयले मुआब्जा बितरणको ९५ प्रतिशत काम सकिएको भन्दै दुष्प्रचार गरेको राष्ट्रिय सरोकार समितिको निश्कर्ष छ । काम नै नगरी प्रचार मात्रै गरेको आरोप सरोकार समितिले आयोजना कार्यालयलाई लगाएको छ ।
सरोकार समितिका संयोजक हरेराम ढकालले सोमवार बिज्ञप्ती जारी गर्दै आयोजनाको वातावरण मुआब्जा बितरण, पुर्नबास तथा पुनस्र्थापना ईकाईले कछुवा गतीमा काम गरेको बताए । ‘कार्यालयमै बसेर गर्न सकिने काम पनि आयोजना कार्यालयले गरेको छैन’ उनले भने ‘जग्गाको मुआब्जा पाउन बाँकी, घर गोठको मूल्य निर्धारण नै नहुनु, बोटबिरुवाको लगत संकलन गरेर मुआब्जा नदिनुमा आयोजना कार्यालयको ढिलासुस्ती छ ।’
मुआब्जा बितरणमा देखिएको समस्या र डुबान क्षेत्रका स्थानीयले दर्ता गराएको गुनासोलाई आयोजना कार्यालयले बेवास्था गरेको आरोप बिस्थापितहरुको छ । बिभिन्न १३ बुँदे माग आयोजना कार्यालय, उर्जा मन्त्रालय र सरकार सँग पेश गरिएको सरोकार समितिले जनाएको छ । मुआब्जा पाउन बाँकीलाई तत्काल मुआब्जा दिनुपर्ने, मुल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले निर्धारण गरेको दररेट अनुसार दिनुपर्ने माग सरोकार समितिको छ । पाँच रोपनी भन्दा कम हुनेलाई र १० रोपनी भन्दा कम हुनेलाई मुआब्जा रकम थपेर दिनुपर्ने, दर्ता छुट भएका तर ब्यक्तिले भोगचलन गरेका जग्गाको मुआब्जा दिन आयोजनाबाट बिस्थापित हुनेहरुले अनुरोध गरेका छन् ।
ऐलानी जग्गामा बसोबास गरेकाको समस्या समाधान गर्नुपर्ने, घर र संरचनाको ह्रसकट्टी मिनाह गर्नुपर्ने, आयोजना कार्यालयमा कर्मचारी नियुक्ती गर्दा डुबान क्षेत्रकालाई नियुक्त गर्नुपर्ने, पुजिँगत लाभरक फिर्ता गर्नुपर्ने लगायतका मागलाई सरोकार समितिले प्राथमिकताका साथ उठाएको छ ।
मुआब्जा बितरणका क्रममा निजी बैंकहरुले गरेको ज्यादती बन्द गर्नुपर्ने, गोरखा र धादीङको जिल्ला मुआब्जा निर्धारण समितिले गरेको निणर्य कार्यन्वयन हुनुपर्ने, पुनर्बास, पुनस्र्थापनाका लागि डुबान क्षेत्रका बासिन्दाको सहमतिमा उपयुक्त स्थानमा जग्गा अधिग्रहण हुनुपर्ने माग राखिएको छ । समितिले बूढीगण्डकी आयोजनाको दायाँबायाँ बनाईने रिङरोडको काम तत्काल अघि बढाउन समेत अनुरोध गरेको छ




