| शनिबार, कार्तिक २८, २०८३

टेलिकमले इन्टरनेटको क्षमता बढायो, ल्याण्डलाईन फोन भएका सबैलाई एडिएसएल दिन सकिने

दराैँदी समाचारदाताः नेपाल टेलिकम दुरसंचार कार्यालय गोरखाले ल्याण्डलाईन टेलिफोनको माध्यामबाट चल्ने एडिएसएल इन्टरनेटको क्षमता बढाएको छ । शुक्रवार र शनिवार दुई दिन लगाएर क्षमता वृद्धी गरी नयाँ प्रविधिमा तार, उपकरण जडान गरिएको दुरसंचार कार्यालय गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले बताए ।

टेलिकमले यस अघि आठ सय ८० जना ग्राहकलाई एडिएसएल इन्टरनेट सेवा दिन सक्थ्यो । ति मध्ये सात सय २७ ले मात्रै सेवा लिएका थिए । ‘अब हामी दुई हजार ग्राहक सम्मलाई सेवा दिन सक्छौँ’ कार्यालय प्रमुख श्रेष्ठले भने ‘टेलिफोनको ग्राहक १५ सय भन्दा बढि छन् तत्काल यी सबैलाई एडिएसएल दिन सक्ने क्षमता भयो ।’ टेलिफोन लाईन बिस्तार गर्दा अझै पाँच सय सम्मलाई इन्टनेट दिन कुनै समस्या नहुने उनले बताए ।

टेलिफोन बिस्तार गर्न भने केही समय लाग्नेछ । ‘अब इन्टनरेट पनि पहिले भन्दा केही छिटो चलेको महशुस ग्राहकलाई हुनेछ’ उनले भने । ल्याण्डलाईन टेलिफोन भएकाहरुले पनि सिमित क्षमताको कारण एडिएसएल इन्टरनेट चलाउन पाएका थिएनन । टेलिफोन हुनेले तत्काल इन्टरनेट जोड्न चाहेमा अब पाउनेछन् ।

मासिक आठ सय रुपैयाँ तिरेर एडिएसएल इन्टरनेट प्रयोग गर्न सकिन्छ । तर यसका लागि ल्याण्डलाईन टेलिफोन भने हुनुपर्छ । पहिलो पटक नयाँ जडान गर्दा फर्म शुल्क सहित एक हजार रुपैयाँ लाग्ने दुरसंचार कार्यालयले जनाएको छ । कार्यालयले सुचना जारी गर्दै साउन २६ गते सम्म टेलिफोन र इन्टरनेट नचल्ने बताएपनि मर्मतको काम शनिवार साँझ सकिएको टेलिकमका प्राविधिक सन्दिप ढकालले बताए । ‘दुई दिनमै काम सकियो, आइतवार बिहानबाट सबै ठाउँमा टेलिफोन इन्टरनेट चलेको हुनुपर्छ’ उनले भने ‘यदि समस्या देखियो भने ग्राहाकले गुनासो टिपाउनुहोला, हामी तत्काल मर्मत गर्नेछौँ ।’ टेलिकमले इन्टनरेट, टेलिभिजन च्यानल, फोन सबै एउटै डिभाइसबाट चल्ने गरी प्रविधि छिट्टै संचालन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्