| शनिबार, कार्तिक २८, २०८३

कोरोनाले गोरखामा गाईजात्राको रौनक देखिएन

दराैँदी समाचारदाताः यही गोरखा बजार हो, गाईजात्राको दिन खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । गाउँगाउँदेखि जात्रु जात्रा हेर्न आउने गर्थे । बिगतका वर्षहरुमा नयाँ पुस्तामा धार्मिक परम्परा जोगाउने रुचि देखिन थालेको थियो । तर यो वर्ष कोभिड १९ को प्रभावले गाईजात्राको रौनक देखिएन । जात्राको रौनकसँगै बाजागाजाको धुन सुनिने गोरखा बजार सुनसान छ ।

सदरमुकामको हमरटारीदेखि शक्तिचोक, बसपार्क, नयाँ बजार, पँदेली, ठुलोआँगन, पाटेचौर क्षेत्रमा जात्रा मनाउने गरिन्थ्यो । सिङ्गारिने, नाच्ने, बाजा बजाउनेमा युवाहरुको उत्साह देखिन्थ्यो । कोही युवाहरु वृद्ध बन्ने, कोही, मुकुण्डो लगाउने, अनुहारमा रङ पोत्ने गरेर सजिन्थे । उमेर ढल्कँदै गरेकाहरु सँग तालमा ताल मिलाएर बाजा बजाउने त कोही टाकटुके नाच्नमा मस्त हुन्थे । तर यो वर्ष यो अवसर सबैका लागि कोभिड १९ ले गुम्यो ।

‘कोरोनाले गाईजात्रा मनाउन पाइएन’ हरेक वर्षको जात्रामा थरिथरीको भेषमा देखिने गोरखा नगरपालिक ६ पँदेलीका अयोध्या जोशीले भने । उनलाई यो वर्ष गाईजात्रा मनाउन नपाउँदा दुःख लागेको छ । अर्कोतर्फ भिडभाड हुने गरी जात्रा गर्दा कोरोनाको जोखिम बढ्ने चिन्ता पनि रहेको उनले बताए ।

आफन्त वा सदस्य गुमाएका परिवारले आत्माको शान्तिको कामना गर्दै जाईजात्र निकाल्छन् । बिहानै घरघरबाट गाई निकालेर गोरखा बजार परीक्रमा गरी रानीपोखरी, गोरखा दरबार लगायत धार्मीक स्थल जाने गर्छन । मंगलवार फाट्ट फुट्ट मात्रै गाई निकालिएको देखिन्थ्यो । पहिले बिहान चार बजे नौधारा स्नान गर्न जाने प्रचालन थियो तर अहिले यस्तो छैन ।

घरघरबाट बाल गाईहरु निस्कने, ठुला मान्छेहरु पनि सबै सँगै गाई बनेर हिँड्ने गर्दा गोरखा बजारको रौनक गत वर्ष बेग्लै थियो यो वर्ष गाई निकाल्नेहरु पनि खासै देखिएनन । गत वर्ष बारपाक सुलिकोट, भिमसेन थापा, आरुघाट लगायतका नेवार समुदायको बाहुल्यता भएको ग्रामिण भेगमा त्यहाँ नै जात्रा मनाइएको थियो । यस वर्ष भने रीत पुर्‍याउन गाई निकालिएपनि जात्राको रौनक खासै छैन । गोरखा नगरपालिका ६ का भगबानबाबु मास्के भन्छन् ‘संस्कृति जोगाउन थोरै मानिस भेला भएर सानो रुपमा मनाउनले योजना बनाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्