
जनप्रतिनिधिले रोके जबर्जस्ती तानेर बिहे गर्ने परम्परा
शिव उप्रेतीः उत्तरी गोरखाको भोटेलामा समुदायमा प्रचलित तानेर बिहे गर्ने चलन केही समयदेखि न्यूनिकरण भएको छ । तानी बिबाहको बिरुद्धमा जनचेतना जगाउन वडा कार्यालयहरुले घरदैलो अभियान सञ्चालन गरेपछि न्यूनिकरण भएको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए ।
‘तानी बिबाह गर्दा मानव अधिकार हनन हुन्छ । त्यस्तो काम गरेमा कानूनी कारबाही हुन्छ भनेर हामीले घरदैलो अभियान सञ्चालन गर्यौं’, लामाले भने, ‘त्यसपछि दुईबर्षयता जबर्जस्ती तानेर बिबाह भएको छैन ।’ तानेर बिहे गर्नेलाई बिबाह दर्ता पनि नगर्ने, कानूनी मान्यता पनि नदिने बारे गाउँमा राम्ररी जानकारी गराएपछि तानी बिबाह न्यूनिकरण हुदै गएको उनले बताए ।
तानी बिबाह गरेको जानकारी आएमा बलात्कार गरेसरहको कानूनी कारबाही प्रक्रिया अघि बढाउने गरी नियम बनाएपछि त्यस्तो बिबाह गर्ने परम्परा हराउँदै गएको वडा नं. ५ का अध्यक्ष सोनाम ग्याल्जेन गुरुङले जानकारी दिए । ‘पहिले त तानेर बिहे गर्ने चलन थियो ।
तर अहिलेको जमानामा पनि जबर्जस्ती तानेर बिहे गर्नु राम्रो हुन्न भनेर हामीले त्यस्तो चलन अन्त्य गर्ने निणर्य गर्यौं’, उनले भने, ‘यदि कसैले जबर्जस्ती तानेर बिहे गरेमा बलात्कार गरेको आरोपमा कानूनी कारबाहीको प्रक्रियामा जाने भनेर निणर्य भएको छ । अहिले एकबर्ष जति भयो, हाम्रो वडाभित्र त्यस्तो बिहे भएको छैन ।’ उमेर नपुगी बिहे गरेमा पनि कारबाही गर्ने उनले बताए ।
यसअघि चुमनुब्री गाउँपालिका वडा नं. २, ४, ५ मा जबर्जस्ती तानेर बिहे गर्ने परम्परा थियो । ‘पहिले हाम्रो वडामा पनि केटालाई केटी मन परेपछि केटीसंग मन मिले पनि नमिले पनि तानेर बिहे गर्ने चलन थियो’, वडा नं. २ का अध्यक्ष पेम्बारेता लामाले भने, ‘तर जनप्रतिनिधि आएपछि त्यस्तो भएको छैन । राजी खुशीले कोही मागेर बिहे गर्छ, कोही भागेर बिहे गर्छ ।’




