
चार सय २१ मुद्दाको १२ करोड असुल गर्न बाँकी
दराैँदी समाचारदाताः जिल्ला अदालत गोरखाले चार सय २१ थान मुद्दाको अभियोग लागेकाहरुबाट १२ करोड १५ लाख ३५ हजार भुक्तान गर्न बाँकी रहेको छ । अदालतबाट फैसला भएको लामो समय सम्म सजाय भुक्तान गर्न नआएकाहरुबाट ६ सय ९६ वर्ष २५ दिन भुक्तान गर्न बाँकी रहेको तहसिलदार अमृत मिश्रले बताए ।
‘कैद भुक्तान गर्न बाँकी कर्तब्य ज्यान मुद्धाका छन् भने पैसा असुल गर्न बाँकी बैकिङ कसुरका धेरै छन’ तहसिलदार मिश्रले भने । गोरखा नगरपालिका देउरालीका एक ब्यक्ती २०७२ सालदेखि फरार छन् । उच्च अदालत पाटनले बैङकिङ कसुरमा ठगि गरेको आरोपमा उनलाई नौ करोड जरिवाना फैसला गरेको छ । उनी अझै भेटिएका छैनन् ।
जिल्ला अदालतबाट भएको फैसला मध्ये कैद भुक्तान गर्न बाँकी धेरै देखिन्छ भने उच्च अदालत, पुनराबेदन लगायतबाट फैसला भएका मुद्धामा असुलउपर गर्नुपर्ने पैसा धेरै देखिन्छ ।
गत वर्ष फैसला भएका मुद्धाबाट दुई करोड ४७ लाख असुल गर्न बाँकी छ भने त्यस अघिका वर्षबाट सरेर आएको १० करोड २५ लाख रहेको छ ।
‘फैसला कार्यन्वयनलाई जोड दिँदै अदालतले प्रहरी, स्थानीय तहमा पनि सजाय तोकिएका ब्यक्तिको बिवरण पठाएको छ’ श्रेस्तेदार बिनोदप्रसाद अधिकारीले भने । गोरखा प्रहरीले अदालतको फैसला कार्यन्वयनलाई मूख्य ऐजेण्डा बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए । ‘फैसला कार्यन्वयन गर्न मातहतका चौकी र सादा पोसाकान प्रहरीलाई खटाएका छौँ’ उनले भने ‘कानुनी दायरामा ल्याउने मात्र होईन, कार्यन्वयमा प्राथमिकता दिएर अघि बढ्छौँ ।’
अहिले प्रहरीले अदालतबाट सजय तोकिएकाहरुलाई खोजी गरिरहेको जनाएको छ ।




