
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ८५ प्रतिशत खर्च, ठूला कार्यक्रमको खर्च न्यून
गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसदहरुबाट गत आर्थिक बर्ष प्राप्त बजेट तथा कार्यक्रमको जम्मा ८५ प्रतिशत मात्र प्रगति भएको छ ।
निर्वाचित चार जना सांसदहरुबाट प्राप्त आठ करोड रुपैयाँमध्य जम्मा छ करोड ८१ लाख रुपैयाँ मात्र खर्च भएको सो कार्यक्रम कार्यान्वयन गर्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
सो शीर्षकको एक करोड १८ लाख रुपैयाँ फिर्ता गएको डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिए । ‘सतप्रतिशत प्रगति कुनै माननीयज्यूको निर्वाचन क्षेत्रमा पनि प्रगति हुन सकेको छैन’, डिभिजन प्रमुख शर्माले भने, ‘क्षेत्र नं. १ को प्रदेश कमा जम्मा ८५.५१ प्रतिशत मात्र प्रगति भएको छ । क्षेत्र नं. १ प्रदेश खमा जम्मा ८८.२ प्रतिशत प्रगति भएको छ । क्षेत्र नं. २ को प्रदेश कमा ८७.४९ प्रतिशत र खमा ७९.७३ प्रतिशत मात्र खर्च भएको छ ।’
निर्वाचन क्षेत्र १ को प्रदेश कमा प्राप्त दुई करोड रुपैयाँमध्य एक करोड ७१ रुपैयाँ खर्च भएको छ । १ को खमा प्राप्त दुई करोड रुपैयाँमध्य एक करोड ७६ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै क्षेत्र नं. २ को प्रदेश नं. कमा एक करोड ७४ लाख र २ को खमा एक करोड ५९ लाख रुपैयाँ मात्र खर्च भएको सिचाइ तथा जलस्रोत डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चार जना सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा २५ वटाका दरले कार्यक्रम बनाएर कार्यान्वयन गरेका थिए । उपभोक्ता समिति बनाएर कार्यान्वयन गर्ने प्रावधान अनुसार सबै काम समितिले गरेका थिए । तर समितिले काम सम्पन्न नगर्ने, छलछाम गरेर बिल पास गर्न दबाब दिने गरेको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा छलछाम गर्न खोज्ने प्रवृत्ति हावी हुन थालेको कायाएलय प्रमुख शर्माको चिन्ता छ । ‘काम ५० प्रतिशत पनि सम्पन्न भएको हुदैन, तर उपभोक्ता समितिका पदाधिकारीहरु काम सम्पन्न भइसक्यो भनेर बिल पास गराउन दबाब दिने गर्छन्’, उनी भन्छन्, ‘कामै नभई बिल पास गर्ने कुरा भएन । अनि हामी पैसा पनि लिन्नौँ, काम पनि गर्दैनौं भनेर धम्क्याउने, प्रवृत्ति बढिरहेको छ ।’ यसले गर्दा पनि प्रगति प्रतिशत कम देखिएको हुनसक्ने उनले अनुमान गरे ।
क्षेत्र नं. १ प्रदेश ख को मुस्लिम संस्कृति संरक्षण शीर्षकमा बिनियोजित दुईलाख रुपैयाँको सुन्य प्रतिशत प्रगति भएको छ । क्षेत्र नं. २ को प्रदेश ख को लाङ्दी गाउँ सुधार समितिको बहुउद्देश्यीय भवन निर्माणको शीर्षकमा बिनियोजित रकम पनि सुन्यप्रतिशत खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
साना आयोजनाको खर्च प्रतिशत आशालाग्दो देखिए पनि ठूला आयोजनाको खर्च कम भएको तथ्यांकमा उल्लेख छ ।
क्षेत्र नं. १ प्रदेश क का सांसद लेखबहादुर थापाद्वारा कटुसघारी, बानियाँगाउँ बन्दीचौर छतिवन सडकका लागि बिनियोजित २५ लाख ५७ हजार रुपैयाँमध्य जम्मा १६ लाख १७ हजार रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै मुस्लिम कबरस्तान कम्पाउण्ड निर्माणका लागि बिनियोजन भएको २५ लाख ५१ हजार रुपैयाँमध्य २२ लाख ८४ हजार रुपैयाँ मात्र प्रगति भएको छ ।
त्यस्तै क्षेत्र नं. १, प्रदेश ख का सांसद रामशरण बस्नेतद्वारा बराम र दलित जातिको आर्थिक अबस्था उत्थानका लागि बाख्रा बितरण र खोर निर्माण शीर्षकमा बिनियोजित २५ लाख ५१ हजार रुपैयाँमध्य २० लाख ६५ हजार रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै सिमरा, भलछापे, ढाँडस्वाँरा, वयाक, भोगटेनी आप्रिक, चिसापानी सडक स्तरोन्नतिका लागि बिनियोजित ३० लाख ६१ हजार रुपैयाँमध्य २७ लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको छ । बालुवाटार, बालिमटार हुदै प्रभात मावि जाने बाटो निर्माणका लागि बिनियोजित २५ लाख ५४ हजार रुपैयाँमध्य २१ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
त्यसैगरी क्षेत्र नं. २ प्रदेश कका सांसाद हरिशरण आचार्यले पाउरोटीभण्डार लामाचौर, चापाभञ्ज्याङ, कार्कीगाउँ अर्चले सडकका लागि बिनियोजन गरेका ३५ लाख ७६ हजार रुपैयाँमध्य २९ लाख १२ हजार रुपैयाँ मात्र खर्च भएको छ । तेह्रकिलो सिर्दीखोला, नगरपालिकागेट कृषि सडकका लागि बिनियोजित २५ लाख ५१ हजार रुपैयाँमध्य २० लाख ९९ हजार रुपैयाँ मात्र खर्च भएको तथ्यांकमा उल्लेख छ ।
क्षेत्र नं. २ को प्रदेश सभा ख का सांसद प्रकासचन्द्र दवाडीद्वारा थालाजुङ, नयाँबजार, काउले, बट्टे हुदै साँदीखोला जोड्ने सडकका लागि बिनियोजित २५ लाख ५६ हजार रुपैयाँमध्य जम्मा २० लाख ५६ हजार रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै सिरानचोक ५ मा बहुउद्देश्यीय भवन निर्माणका लागि बिनियोजित २० लाख ४१ हजार रुपैयाँमध्य जम्मा १४ लाख ११ हजार रुपैयाँ मात्र खर्च भएको छ ।




