| शनिबार, कार्तिक २८, २०८३

९७ प्रतिशत बासिन्दा खानेपानी तथा सरसफाइको पहुँचमा

दराैँदी समाचारदाताः गोरखाका ९६.९५ प्रतिशत घरधुरीमा खानेपानी तथा सरसफाइको आधारभूत सेवाको पहुँच बिस्तार भएको छ । जिल्लाका एकलाख ३३ हजार ३२ घरधुरीका दुईलाख ७२ हजार एकसय ६९ घरधुरीका बासिन्दा खानेपानी तथा सरसफाइको पहुँचमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
जिल्लाभरका ३.०५ प्रतिशत बासिन्दा मात्र खानेपानी सुविधा बाट बञ्चित रहेको डिभिजन प्रमुख तुलसी बस्नेतले जानकारी दिए ।

गत आर्थिक बर्ष खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सशर्त अनुदान, प्रादेशिक खानेपानी आयोजना, आधारभूत खानेपानी आयोजना र विशेष खानेपानी आयोजना सञ्चालन गर्न ८० करोड १५ लाख, ८५ हजार रुपैयाँ प्राप्त भएको थियो । जसमध्य ७९ करोड, ९२ लाख ७९ हजार रुपैयाँ खर्च भएको डिभिजन प्रमुख बस्नेतले जानकारी दिए । ‘गतबर्ष हाम्रो भौतिक र वित्तिय प्रगति ९९.७९ प्रतिशत भएको छ’, उनले भने, ‘दुईबर्षभित्र ३४ वटा आयोजनाहरु सम्पन्न भइसकेका छन् । चाल आर्थिकबर्षभित्र ४३ वटा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।’

आर्थिक बर्ष २०७५÷०७६ मा १४ वटा आयोजना सम्पन्न गरेको कार्यालयले गत आर्थिक बर्ष २० वटा आयोजना सम्पन्न भएका थिए । २०७७÷०७८ को अन्त्यसम्म ७७ वटा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

एक घर एकधारा कार्यक्रम अन्तर्गत हालसम्म १२ हजार घरमा एक घर एक धारा जडान गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक बर्ष १३ हजार १५ घरमा एकघर एकधारा जडान गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख बस्नेतले बताए ।

यसअघि गत आर्थिक बर्ष २०७५÷०७६ मा दुईहजार आठसय ७९ घरका हरेक घरमा धारा जडान गरिएको थियो । त्यस्तै आर्थिक बर्ष २०७६÷०७७ मा नौ हजार एकसय २२ घरमा धारा जडान गरिएको कार्यालयले जनाएको छ । आउँदो असारसम्म २५ हजार १६ घरमा हरेक घरमा धारा जडान गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्