| शनिबार, कार्तिक २८, २०८३

विद्युत प्रशारण लाईन उच्च जोखिममा, जुनसुकै बेला ३३ केभी अवरुघ हुनसक्ने

दराैँदी समाचारदाताः लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत प्रशारण लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत प्रशारण लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा पारेको छ ।

मुख्य तथा शाखा लाईनको धेरै ठाउँमा समस्या आएको नेपाल विद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ ।

‘गोरखा खैरेनीको चार ठाउँमा उच्च जोखिम छ’ केन्द्र प्रमुख माधव न्यौपाने भने ‘तत्काल मर्मत गरेर सुक्षित गर्न सक्ने अवस्था छैन । पहिरोले थप क्षति हुँदै गएको छ ।’ मझुवा, अबुवा, चारकिलो, दशकिलोमा मुख्य लाईनमा समस्या आएको हो । ‘जुनसुकै बेला ३३ केभि अवरुद्ध हुन सक्ने स्थिति छ’ उनले भने ।
सयवटा पोल पहिरोले क्षति पुर्‍याएको र तीमध्ये ५० वटा नयाँ बदल्नुपर्ने भएको छ । छेवेटार, पिपलथोक र पालुङटारको राउतेपानीमा गरी तीनवटा टूान्सफर्मरमा समेत क्षति पुगेको केन्द्र प्रमुख न्यौपानेले बताए ।

४२ हजार आठ सय नौ घर धुरीका ग्राहक रहेको बितरण केन्द्रले वर्षात यता अझै पाँच प्रतिशत ग्राहकलाई बिजुली दिन सकेको छैन । लगायतारको वर्षातले पहिरो बग्दा केही बस्ती घरधुरी एक सातादेखि अँध्यारोमा छन् । ‘बिजुलीको पोल ढलेको छ, मर्मत गर्न जाने सडक पनि छैन’ केन्द्र प्रमुख न्यौपानेले भने ।

शहिदलखन गाउँपालिकाको बक्राङमा लामो समयदेखि बिजुली अवरुद्ध भएको गुनासो स्थानीयको छ । ११ हजार भोल्टेज रहेको शाखा लाईनमा पनि धेरै ठाउँमा पहिरो र रुख ढलेर क्षति पुगेको छ । नारेश्वर, च्याङ्ली, अश्राङ, बोर्लाङ, ताप्ले, छापथोक, छेवेटार लगायत ठाउँमा धेरै क्षति भएको केन्द्रले जनाएको छ ।

पालुङटार क्षेत्रमा डुम्रे पालुङटारको ३३ केभी लाईन अवरुद्ध हुँदा मध्यमस्र्याङ्दीबाट बिजुली जोडेर दिइएको थियो । पाँच दिन पनि आइतबारबाट पहिलेजस्तै नियमित बिजुली बलेको गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । ‘दिनदिनै वर्षात भईरहेकाले समस्या भएको छ’ उनले भने ‘मर्मत गर्न सकेका छैनौँ, जोखिम बढेको छ ।’

केन्द्रले सर्वसाधारणलाई पहिरोबाट जोखिममा परेका बिजुलीको पोल, तारा, ट्रान्सफर्मर देखेमा खबर गर्न अनुरोध गरेको छ । ‘पहिरोले बिजुलीमा क्षति पुग्दा जोखिम हुन सक्छ’ केन्द्र प्रमुख न्यौपानेले भने ‘तत्काल हामीलाई खबर गर्नुभयो भने लाईन बन्द गरेर मर्मत गर्छौँ ।’ नजिकको प्रहरी, प्राधिकरणका कर्मचारीलाई जोखिम भएको ठाउँ बारे जानकारी गराउन बितरण केन्द्रले आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्