
पहिरोले अँबुवा, बिर्दी, सेरा सडक १० दिनदेखि अबरुद्ध
दराैँदी समाचारदाताः लगातारको बर्षापछिको पहिरोले अँबुवा, बिर्दी, सेरा सडक अबरुद्ध भएको छ । १२ किलोमिटर सो सडकमा १२ भन्दा धेरै ठाउँमा पहिरो गएर सडक अबरुद्ध भएको गोरखा नगरपालिका १३ का वडाअध्यक्ष हरिबहादुर खनालले जानकारी दिए ।
गत हप्ताको आइतबार, सोमबार र मंगलबारको अबिरल बर्षापछिको पहिरोले सडक अबरुद्ध भएको उनले बताए । ‘अँबुवादेखि भट्टबेशीसम्म सात ठाउँमा ठूलो पहिरो छ’, अध्यक्ष खनालले भने, ‘माथिदेखि रुखहरु आएर अड्किएका छन् । सजिलैसँग फाल्न सक्ने अबस्था छैन ।’ अँबुवा, चिसापानी, माझीगाउँ, एक्लेचौतारो, कुन्निखोला लगायतका ठाउँमा पहिरो झरेको उनले बताए ।
सडक मर्मतका लागि पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको उनले बताए ।
सो सडक अबरुद्ध हुँदा गोरखा नगरपालिकाको वडा नं. १३, पालुङ्टार नगरपालिकाको वडा नं. ९ र १० का बासिन्दालाई समस्या भएको छ । ‘कोही मान्छे बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउन सक्ने अबस्था छैन’, पालुङ्टार ९ का वडा अध्यक्ष भेजराज पाण्डेले भने, ‘अझै ठूलो समस्या त ढुङ्गेटारी, बिर्दी, सेरालगायतका व्यापारिक केन्द्रमा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन । उपभोग्य सामानको अभाव हुन थालिसक्यो ।’
सदरमुकाममा कार्यालय सम्बन्धी काम परेमा आउनजान कठिन भएको उनले बताए । ‘अहिले यताका सेवाग्राहीहरु १० किलोसम्म हिडेर सदरमुकाम जान बाध्य छन् । कतिपय मान्छे डुम्रे र कतिपय सातदोबाटेबाट आवतजावत गर्न बाध्य रहेको उनले बताए ।




