| शनिबार, कार्तिक २८, २०८३

अपराध न्यूनिकरण गर्न कार्ययोजना बनाएर काम गर्दै गोरखा प्रहरी

दराैँदी समाचारदाताः अपराध न्यूनिकरण गर्न र आम नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन गोरखा प्रहरीले यो वर्ष कस्ता र के कार्यक्रम गर्ने भन्ने कार्ययोजना सार्वजनीक गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले भने ‘गत वर्षको घटनालाई अध्ययन गरेर आउँदो वर्ष त्यस्ता अपराधिक घटना हुन नदिने के गर्ने भन्ने योजना बनाएका छौँ ।’ यो वर्ष सोही अनुसार काम हुने उनले   बताए ।

गत वर्ष गोरखा प्रहरीका लागि आत्महत्याको घटना ठुलो चुनौती बन्यो । एकपछि अर्को गर्दै ७३ जनाले झुण्डिएर आत्महत्या गरे । किन धेरै आत्महत्या भयो, कस्ता ब्यक्ति, उमेर समुहले हत्याको बाटो रोजेका छन् भन्ने पहिचान गरेर प्रहरीले कार्ययोजना बनाएको छ । घरेलु हिंसामा परेकालाई सुरक्षाको अनुभुति दिलाउने गरी कानुनी उपचारमा सघाउने, मानसिक रोगीलाई निशुल्क उपचार तथा परामर्श सेवा दिने, उत्पेरणा जगाउने खालका कार्यक्रम टोलटोलमा प्रहरी चौकीबाट संचालन गर्ने योजना रहेको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।

बालात्कार, बलात्कार प्रयास, बहुबिवाह महिला हिंसा संम्बन्धी घटना गत वर्ष ३४ वटा भए । यी घटना घट्नुमा बैदेशिक रोजगारीबाट सिर्जित समस्या, निम्त आर्थिक स्तर लगायत देखिएको छ । यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रम गर्ने, महिला तथा बालवालिकाको कसुरमा गम्भिर ध्यान दिने, महिला सशक्तिकरणका कार्यक्रम संचालन गर्ने, स्थानीय तह, जिल्ला स्थित गठित न्यायिक समिति सँग सहकार्य गरेर अघि बढ्ने योजना प्रहरीको कार्यालयको छ ।

लागु औषध ओसार पोसारलाई निरुत्साहित गर्न विद्यालय स्तरमा चेतनामुलक कार्यक्रम संचालन गर्ने, जिल्ला भित्रने नाकामा कडाईका साथ चेकजाँच अघि बढाउने, गाँजा फडानी गर्ने, लागुऔषधी प्रयोगकर्तालाई निरुत्साहिन गर्न अभियान चलाउने योजना रहेको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । सवारी दुर्घटनाको दर गत वर्ष धेरै देखिएकाले चालक अनुमति पत्र नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने र अविभाबकको जिम्मा लगाउने, नियमित चेकजाँच गर्ने, सडक सुरक्षामा ध्यान दिने योजना प्रहरीको छ ।

अदालतबाट सजायाँ तोकिएका तर भुक्तान गर्न बाँकी फरार अभियुक्तको खोजी तिब्र बनाउने योजना रहेको एसपी गुरुङले बताए । हत्या, चोरी, सिमाको बाटो भएर हुने अपराधिक गतिविधी लगायतलाई विषेश ध्यान दिने योजना प्रहरीको छ । सिमाना नाका चेकजाँचमा कडाई गर्ने, हवाई उडान गर्दा प्रहरीको उपस्थितिमा हुने ब्यवस्था अनिवार्य गर्ने लगायत योजनालाई प्रहरीले प्राथमिकता दिएको छ । ‘यो योजना कार्यन्वयन गर्न प्रहरी अधिकृतको नेतृत्वमा टिम रहेको हुन्छ’ एसपी गुरुङले भने ‘समाजमा शान्ति सुरक्षा कायम राख्ने गरी आउँदो वर्ष यी विषयमा हामी केन्द्रित हुनेछौँ ।’ कार्ययोजना बनाएर काम गर्दा सफल हुने बताउँदै उनले योजना अनुसार भए नभएको समीक्षा गर्दै अघि बढ्ने बताए ।

गत असार ५ गते गोरखा आएका एसपी गुरुङले सोमवार आयोजित पत्रकार सम्मेलनमा एक महिने अवधीमा आफुले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्