
डेढ महिना, तीन महिनामा फेरिन्छन् सिडियो
शिव उप्रेतीः १० बर्षअघि आजको दिनमा गोरखाको स्थानीय प्रशासनको नेतृत्व कमलमणि काफ्लेले गरेका थिए । २०६६ असोजमा गोरखामा सरुवा भई आएका सिडियो काफ्लेले १७ महिना गोरखा जिल्ला सम्हालेका थिए ।
जिल्ला प्रशासन कार्यालयको बिगत १० बर्षको नेतृत्वको अभिलेख हेर्दा सिडियोहरु डेढमहिना, तीन महिनामा फेरिने गरेको पाइएको छ ।
हालैका सिडियो सुरेन्द्र पौडेल पनि छ महिनामा बिदा भएका छन् । गत माघ २३ गते आएका पौडेलको आइतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृहमन्त्रालयमा कार्यरत तीर्थराज भट्टराई गोरखाका लागि आउने भएका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।
बलदेव गौतमले जम्मा ४२ दिन मात्रै गोरखाको प्रजिअको पद सम्हालेका थिए । २०७२ माघ ६ गते आएका उनी सोही बर्षको फागुन २६ गते सरुवा भएका थिए । तत्कालीन माओवादीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन गोरखा आउँदा आफूलाई स्वागत नगरेको आरोपमा प्रचण्डले नतिजा गम्भीर हुने चेतावनी दिएर फर्किए लगत्तै सिडियो गौतमको सरुवा भएको थियो । जिल्ला प्रशासन कार्यालयको इतिहासमा गौतम सबैभन्दा छोटो समय सिडियो भएका हुन् । यसअघि कमलराज ढकाल पनि तीन महिना मात्र सिडियो भएका थिए । २०६९ को फागुनमा आएका उनी लगत्तै बैशाखमा सरुवा भएका थिए । हालै सरुवा भएका सिडियो सुरेन्द्र पौडेलभन्दा अघिल्ला सिडियो देवेन्द्र लामिछाने पनि एक बर्ष नपुग्दै सरुवा भएका हुन् । उनी आठ महिनामै सरुवा भएका हुन् ।
उनीभन्दा अघिका सिडियो गजेन्द्र श्रेष्ठ पनि छ महिनामै सरुवा भएका हुन् । उनीभन्दा अघि आएका सिडियो नारायणप्रसाद भट्टराई पनि सात महिनाभन्दा धेरै गोरखामा बसेनन् । २०७५ बैशाखमा आएका उनी मंसीरमा सरुवा भई गएका थिए । १० बर्षको अवधिको विश्लेषण गर्दा छ महिनाभित्रै सरुवा हुने सिडियोको संख्या धेरै छ । २०७१ को वैशाखमा आएका प्रजिअ वेदप्रसाद खरेल सोही बर्षको कात्तिकमा सरुवा भएका थिए । प्रजिअ नारायणप्रसाद भट्ट पनि नौ महिनाभन्दा धेरै गोरखामा बसेनन् ।
प्रजिअ मोहन वाग्ले जम्मा आठ महिना मात्र गोरखाका सिडियो बनेका थिए । बिगत १० बर्षको अवधिमा एकबर्ष पूरा बस्ने जम्मा चार जना मात्र छन् । सबैभन्दा धेरै १६ महिना बस्ने सिडियो जीतेन्द्र बस्नेत हुन् । उनले १६ महिनासम्म गोरखाको प्रशासकीय नेतृत्व सम्हालेका थिए । यसअघि कृष्ण कार्कीले पनि १६ महिना बिताएका थिए । कमलप्रसाद भट्टराईले १५ महिना र उद्धव तिमल्सेनाले गोरखाको प्रशासन कार्यालयको नेतृत्व १४ महिना सम्हालेका थिए ।
जिल्लामा सरुवा भइसकेपछि प्रमुख जिल्ला अधिकारी प्राय एकदेखि दुईबर्षसम्म जिल्लामा रहने व्यवस्था हुन्छ । तर राजनीतिक दाउपेच, स्वार्थको खेल, शक्ति सन्तुलन नमिल्दा गोरखामा प्रजिअहरुको छिनछिनमा सरुवा हुने गरेको हो । ‘सम्बन्धित व्यक्तिको चाहना भयो र सरकारसम्म पहुँच पुग्यो भने पनि सरुवा हुन्छ । त्यो भन्दा पनि गोरखाको हकमा सरकारमा पहुँच हुने नेताले शक्ति प्रदर्शन गरेर सिडियोको सरुवा गरेको देखिएको छ’, गोरखामा लामो समयदेखि नागरिक समाजको नेतृत्व गरिरहेका स्थानेश्वर दुवाडीले भने ।




